नेपालमा कोरोना सङ्क्रमित चार सय ५३, निको हुने ४९, मृत्यु हुनेको संख्या तीन

नेपालमा कोरोना भाइरस अहिलेसम्म चार सय ५३ जना संक्रमित भएका छन् भने यसबीचमा ४९ जना उपचारपछि निको भएर घर फर्केका छन् भने मुत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
बिहिबार मात्रै काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत चार कोरोना भाइरस सङ्क्रमित व्यक्ति निको भई घर फर्किएका छन् ।
पछिल्लोपटक निको हुनेमा दुई महिला तथा दुई पुरुष छन् । नवौँ दिनको बसाइपछि उनीहरु अस्पतालले डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।
डिस्चार्ज हुनेमा २३ वर्षीया महिला, ३७ वर्षीय पुरुष, २५ वर्षीया महिला र २७ वर्षीय पुरुष हुनुहुन्छ । यससँगै कोराना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ४९ पुगेको छ ।
त्यसैगरी झापामा आठ र रुपन्देहीमा एक गरी नयाँ थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार झापाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहनुभएका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
उहाँहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षको गरी आठ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको हो । यससँगै कूल सङ्क्रमितको सङ्ख्या ४५३ पुगेको छ भने ३८ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको बिहिबार बिहान मृत्यु भएको हो ।