जन सरोकार

निर्मम हत्यालाई आत्महत्या भनेर उम्किन खोज्दा…

प्रहरीले कुनै कुनै घटनाको गम्भीरता नबुझेर त्यसलाई सामान्य रुपमा लिंदा कहिलेकाहीं त्यसले ठूलो रुप लिन्छ । निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको सानो गल्ती वा कमजोरीले प्रहरीको प्रतिष्ठामाथि नै प्रश्न उठ्छ भने निर्मलाका हत्यारा अझै पक्राउ पर्न सकेको छैन ।

यस्तै घटना गत वैशाखमा पोखरामा घटेको थियो । वैशाख ४ गते विहान फेवातालको बाराही मन्दिर नजिकै एक किशोरको शव नेपाली सेनाको टोलीले भेट्टाए । पानीमा तैरिरहेको अवस्थामा भेटिएको उक्त शव बारा निजगढ स्थायी घर भई ललितपुर खुमलटार बस्ने १८ वर्षीय नुभिव उप्रेतिको थियो ।



प्रहरीले शव बुझेपछि आत्महत्या गरेको निष्कर्ष निकाल्यो, जब कि उनको शरीरका विभिन्न भागमा गम्भीर चोट थियो । यो हत्याकाण्डमा प्रहरीले प्रभावकारी कदम नचालेको भन्दै न्यायका लागि अभियान नै चलेको छ । घटनाको वास्तविकता र प्रकृतिबारे यो घटनाका सम्बन्धमा पोखराबाट संचालित गण्डक अनलाइनको रिपोर्ट यस्तो छ-

सोही दिन गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराबाट मिडियामा यस्तो सूचना प्रवाह भएको थियो – ‘मिति २०७८।०१।०४ गते, अन्दाजी ०६ः४० बजे, जिल्ला कास्की पोखरा महानगरपालिका–६ लेकसाईड स्थित बाराही मन्दिर नजिकै फेवातालको बिचमा जिल्ला बारा निजगढ नगरपालिका–९ बस्ने वर्ष १८ को नोभिब उप्रेती मृत अवस्थामा फेला परेको, घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलि गई शव रेस्क्यू गरी बाहिर निकालिएको, घटनाको विषयमा थप अनुसन्धान कार्य भईरहेको ।’

प्रहरीले शवको प्रकृति नहेरी आत्महत्या गरेको प्रारम्भिक निष्कर्श निकाल्यो । त्यसपछि, कास्की प्रहरीले नुभिवकी आमा भिमा मैनाली (भगवती कुमारी मैनाली उप्रेति)लाई सम्पर्क गर्‍यो । शव भेटिएकाले तस्वीर पठाई पहिचान गर्न भन्यो । छोरो ठम्याएपछि तत्काल श्रीमान, जेठाजु, साथीसहित भिमा पोखरा आइन् । उनीहरु पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा पुगेर हुलिया जाहेरी दरखास्त लेखी नुभिवको शव सनाखत गरी जिम्मा लिए ।

जब परिवारका सदस्यले शव जिम्मा लिए तब उनीहरुले आत्महत्या हैन भन्ने निष्कर्ष निकाले । गुप्ताङ्गबाट रगत बगेको, घाँटीमा दाग, तीघ्रामा रगत, अनुहार र टाउकोमा चोट, कोखामा निलडाम देखेपछि निर्घात कुटपिटबाटै हत्या भएको निश्कर्षमा परिवार पुगे ।

सोहि अनुसार अनुसन्धान प्रक्रिया अघि बढाउन प्रहरीसमक्ष अनुरोध गरे । तर, सुरुमा वडा प्रहरी कार्यालय, बैदामले हत्या भएको जाहेरी लिन मानेन । उनीहरु शव लिएर काठमाण्डौ फर्किए । त्यसपछि एक हप्तापछि पुनः पोखरा आएर हत्या नै भएको ठहर्दै जाहेरी दिन खोज्दा पुनः वडा प्रहरी कार्यालय बैदामबाट डिएसपी चिनिमाया तामाङले आत्महत्या गरेको देखिन्छ भन्दै लिन मानिनन् । अघिल्लो पटक डिएसपी तामाङ थिइनन्, इन्स्पेक्टर श्याम थापा रहेको भिमा बताउँछिन् । त्यसपछि भिमा जिल्ला प्रहरी कार्यालय, कास्कीमा पुगेर एसपी जीवनकुमार श्रेष्ठसँग भेट गरिन् । एसपीको सहयोग मिल्यो, त्यसपछि जाहेरी दिइन् । प्रहरीले नुभिवबारे अनुसन्धान अघि बढायो र बल्ल शव फेला पर्नु ३ घण्टा अघि लेकसाइडको बीच सडकमै कुटपिट भएको रहस्य खुल्यो । कुटपिटमा संलग्न ३ जनालाई पनि पक्रन सफल भयो । अहिले तीन जना नै हिरासतमा छन् । कारबाही प्रक्रिया प्रहरीले अघि बढाइसकेको छ ।

नुभिवका परिवारको भने मन बुझेको छैन । महिना दिन पुग्दा समेत बलियो प्रमाण जुटाउन प्रहरीले अनुसन्धान नगरेको परिवारको गुनासो छ । ‘आत्महत्या ठहराइएमा अनुसन्धानको दुःख नै हुँदैन भन्ने प्रहरीको सोच हो कि ? घटनामा अरु ठूला मान्छे वा आफन्तहरु मुछिए ? कुटपिट भएको प्रहरीले नै देख्दा समेत किन आत्महत्या भनियो ? मूख्य कुरा नुभिवले प्रयोग गर्ने मोबाइलबाट नुभिवको शव भेटिसकेर पनि साथीलाई फोन गएको छ । खोई मोबाइल ?’ – आमा भिमाको प्रश्न छ ।

प्रहरी भने अनुसन्धानमा कहिँकतै कमजोरी नभएको बताउँछ । प्रहरी अधिकारीहरुको भनाई छ– ‘केहि दिनमै कुटपिटमा संलग्नहरु पक्राउ गरी कानुनानुसार कारबाही प्रक्रिया अघि बढिसकेको छ । कसरी प्रहरीले असहयोग गरेको हुन्छ ?’

प्रहरीका अनुसार मिसिल तयार गरी आइतबार सरकारी वकिलको कार्यालयमा पेश भएको र त्यसपछि अदालती प्रक्रियामा गएको छ । दुई तीन दिनभित्रै बहस सुरु हुने जनाइएको छ । मृतककी आमा भिमा पोखरा आएर वैशाख २४ गते नै तीन जना विरुद्ध किटानी जाहेरी दिएकी हुन् । र, कानुनानुसार कारबाही प्रक्रिया अघि बढेको छ ।

पोखरा घारीपाटन बस्ने तीन किशोर पक्राउ

नुभिवलाई राति निर्घात कुट्ने तीन किशोरहरु अहिले हिरासतमा छन् । उनीहरु हुन् खोटाङ, ऐंसेलुखर्क गाउँपालिका वडा नं. २ घर भई कास्की पोखरा वडा नं. ७ घारीपाटन बस्ने १८ वर्षीय आशिष राई, स्याङ्जा फेदीखोला २ घर भई घारीपाटन नै बस्ने १९ वर्षीय बिगेन गुरुङ र स्याङ्जा अर्जुनचौपारी ६ घर भई घारीपाटन बस्ने १९ वर्षका बासुदेव गुरुङ । लेकसाइडको स्ट्रीट नं. १३ चोकमा यी ३ जना मिलेर नुभिवलाई मरणासन्न हुने गरी कुटपिट गरिएको सिसिटिभी फुटेजमा देखिएको छ ।

कुटपिटको कारण प्रहरीले खुलाएको छैन । प्रहरीले यतिमात्र भनेको छ – ‘३ जना र मृतकबीच बारमा झगडा भएको खुलेको छ । त्यसपछि कुटपिट गरिएको छ ।’ नुभिवकी आमा भिमाले यी ३ जनासँग नुभिवको चिनजान नभएको बताएकी छन् । उनले ३ घण्टासम्म पटक पटक कुटेको प्रत्यक्षदर्शीलाई उद्दृत गर्दै बताएकी छन् । पोखरा नै नचिनेको मान्छे पोखरा किन गयो ? भन्ने तर्फ अनुसन्धान गर्नुपर्नेमा उनको जोड छ ।

मृतक लागु पद्धार्थ दुव्र्यसनी भन्ने कुरा आएपछि यो बारेमा सोध्दा नुप्रिभकी आमाले ठाडै इन्कार गरिन् । भिमाले आफूलाई कहिल्यै थाहा नभएको बताइन् र छोरोले गीत गाएको, घरमा किचनमा हेल्प गरेको लगायतको भिडियो पठाइन् । उनले भनिन् – ‘नहुने कुरा कसले गरेको ? पोखरा किन गयो होला कलेज गएको बाबु ? भन्ने मात्रै हो, उसको नराम्रो कुरा केही छैन । पोखरा गएको बारेमा अनुसन्धान हुनुपर्यो नि ! कसैले बोलाएर गयो कि ? कोहिसँग गयो कि ? त्यही भएर त सिसिटिभी फुटेज मागेको मैले । ‘

सिसिटिभी फुटेजको दृश्यः

वैशाख ४ गते बिहान ३ः२३ बजे पोखरा ६ लेकसाइडको स्ट्रीट नं. १३ मा केही मोटरसाइकल र निजी सवारी चलिरहेका छन् । नेपाल प्रहरीको गाडी पास भएको देखिन्छ । गाडी जाने बित्तिकै चेक सर्ट लगाएका, कपाल पालेका एक जना युवकलाई हेल्मेट लगाएका र सेतो सर्ट लगाएका दुई जना युवकले लछार्दै, पिट्दै लात्तिले हान्दै रोड क्रस गराइरहेका बेला अर्को रातो हुड लगाएका युवक पनि मिसिन्छन् र सडकपेटीमा लडाएर निर्घात कुट्छन् । लगत्तै ३ जना प्रत्यक्षदर्शी गएर रोक्छन् । हेलमेट लगाउने युवक स्कुटर ल्याएपछि समेत फर्की फर्की गएर लात्तीले भकुर्छन् । ३ मिनेटसम्म प्रहरी घटनास्थलसम्म पुगेको देखिन्न । कुट्ने तीन जना माथि उल्लेखित आशिष राई, बिगेन गुरुङ र बासुदेव गुरुङ हुन् । कुटाई खाने नुभिव उप्रेति हुन् ।

घटना विवरण मृतककी आमा भिमा मैनालीकै शब्दमाः

भर्खर १८ वर्षको भएपनि मेरो छोरो नुभिव अरुको दुःख देख्न नसक्ने दयालु स्वभावको थियो । सबैसँग राम्रो व्यवहार गर्थ्यो । भेजेटेरियन हो । मलाई भान्साको कामसम्म सघाउने गर्थ्यो । संगीत र आईटीमा रुची थियो । गितार बजाउने, गीत गाउने उसको शोख हो । प्लस टु पछि आइटी नै पढ्न सुरु गरेको थियो । वैशाख ३ गते बिहानै मलाई तातो पानी बनाएर दियो । उसले नै मेरो स्कुटर निकालिदिएपछि म पौने नौ बजेतिर कलेज पढाउन निस्किएँ । उसले आफै पस्केर खाना खाँदै थियो । जानेबेला किताब किन्नुपर्छ भनेर सोधेको थिएँ । म कलेजमै लाइब्रेरीमा पढ्छु भनेर जवाफ फर्कायो । सवा १० बजेतिर बुबासँग सिटिजन कलेज गयो । छोरोलाई छोडेर उहाँ (रत्नप्रसाद उप्रेति) फर्कनुभयो ।

कलेज छुट्टी भएपछि उहाँ छोरो लिन जाँदा छोरो भेटिएन । मोबाइल पनि अफ छ भनेर उहाँले मलाई फोन गर्नुभयो । मैले कलेजमा राजकुमार प्याकुरेल सरलाई फोन गरेँ । उहाँले नुभिव कलेज आज आएको छैन भन्नुभयो । त्यसपछि उसको नजिकको साथी विप्लवलाई कल गरेँ । विप्लवकै सहयोगमा उसका अरु साथीहरुलाई पनि फोन गरे । यसबीचमा नुभिवलाई पनि पटक पटक गरेँ । उसको फोन अफ नै थियो । छोराकै साथीहरुको भनाई अनुसार खाजा खान जाने ठाउँ पाटन दरबार स्क्वायरदेखि विभिन्न ठाउँमा राति ११ बजेसम्मै खोजतलास गरियो । तर भेटिएन, कसैले नदेखेको जानकारी दिए । त्यसपछि, जावलाखेल प्रहरीलाई रिपोर्ट गरी हुलिया टिपाएँ । उसका साथीहरुलाई नुभिवबारे केही जानकारी आएमा मलाई खबर गर्नु भनेर म घर फर्किएँ ।

राति साढे १२ बजे उसको वाट्सएपमा बाबु कहाँ छौ ? मलाई म्यासेज गर भनेर सुतेँ । छोरोले राति मेरो म्यासेजको रिप्लाईमा आफ्नो फोनको पासवर्ड, आएमई पे र मोबाइल बैंकिङ पासवर्डहरु सबै डिटेल पठायो । म बोल्न सक्दिनँ मामु, म पोखरा छु । भनेर म्यासेज आयो । म हराएँ । मैले आफू बसेको होटल देखिनँ, मलाई पिट्यो भनी पुलिसलाई भन्दा वास्ता गरेन भनेपछि छोरालाई पक्कै निकै अफ्ठेरो महसुस गरेँ ।

जेठाजुले ‘पोखरामा फेवातालमा शव भेटिएको भन्ने निजगढमा हल्ला छ रे’ भन्नुभएपछि मनमा चिसो पस्यो । बिहान ८ बजेतिर बुद्धिसागर पुरी, प्रहरी इन्स्पेक्टर पोखराबाट भनेर भाइबरमा छोराको फोटो पठाउनुभयो ।छोरोको हालत थाहा भएपछि तत्काल पोखरा आयौं । पोखरा आई बैदाम प्रहरीसँग सम्पर्क गर्दा तालमा डुबेको अवस्थामा मृत व्यक्ति फेला परेको जानकारी पाएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृह पुगेँ । छोराको सनाखत गरेँ । सुरुमै हुलिया जाहेरी दिन लगाए । मैले शव पुरै हेरेकै थिइनँ ।

पछि छोरोको शरीर हेर्दा गुप्ताङ्गबाट रगत बगेको, घाँटीमा रातो दाग देखिएको, टाउको पछाडि टुटुल्को उठेको, उसको दाहिने खुट्टाको पैताला निकै फुलेको र तिघ्रामा समेत रगत लतपतिएको, पेट थिचि हेर्दा पानी नभएको बरु पेटमा माटो देखिएको, कोखा छेउमा निलडाम देखएिको, निधारको बायाँ पट्टी पनि चोट र निलडाम देखिएको कारणले छोरोको हत्याकै नै भएको निश्कर्षमा म पुगे । त्यसपछि मैले आत्महत्या होइन, कर्तव्य ज्यान नै हो भनेर अनुसन्धानका लागि जाहेरी दिन खोज्दा लिएनन् ।

म त्यसपछि काठमाण्डौ फर्केर वैशाख ३ गते के के भयो भनेर सबै बुझ्न थालेँ । उसको इमेलबाट गुगल म्यापमा हेर्दा दिउँसो पौने २ बजे काठमाण्डौको बाबा पेट्रोल पम्प नजिक लोकेशन ट्रेस भएको छ । म्याप अनुसार त्यसपछि एकैचोटी राति १२ बजेर ३२ मिनेटमा पोखराको लोकेशन देखिएको छ । राति २ बजेर ४९ मिनेटसम्म लेकसाइड नै देखिन्छ । छोराले बुक गरेको होटल वेलकम ईनमा राति ९ बजे पुगेको होटल धनीले बताएकाले कति बजे पोखरा आएको चाहिँ खुल्न सकेन । यी सबै काम प्रहरीको हुनुपर्ने थियो । तर अनुसन्धान नै हामीले गर्नुपरेको छ । प्रहरीबाट केही चित्तबुझ्दो अनुसन्धान नै भएको छैन ।

छोरो राति १० देखि १२ सम्म ट्रेजरमा रहेको खुलेको छ । छोराको बैंक अकाउण्ट चेक गर्दा मध्यरात १२ः४५ बजेको समयमा किंग्स लाउञ्जमा १ हजार तिरेको देखिन्छ । त्यसबेलाको फुटेज किँग्स लाउञ्जले उपलब्ध गराउन म माग गर्दछु । छोराको मोबाइलबाट बिहान ६ बजेर ४९ मिनेटमा उसको साथी सहिष्णुलाई फोन गएको छ । बिहान नउठिसकेका कारण उसले उठाएको रहेनछ । जबकि ६ बजेर ४० मिनेटमै उसको शव फेवातालमा भेटिसकिएको छ भने मरेपछि कसले गरेको फोन ? अनि अहिलेसम्म फोन खै त ? प्रहरीले मोबाइल नै थाहा छैन भन्छ । प्रहरीले मोबाइल खोज्नुपर्यो नि । मेरो फोनमा ३:१५ मा म्यासेज आएको छ । ३:१८ उसले पठाएको म्यासेज नै नबुझिने शब्दमा अंग्रेजी लेटरहरु छ । त्यसको ५ मिनेटमै स्ट्रिट नं. १३ मा कुटपिट गरिएको छ । लछार्दै रोडमा आएपछि बल्ल पो सिसिटिभीमा देखियो, त्यसअघि देखि नै छोरोलाई पिटेको आँकलन गर्न सकिन्छ । उसले मलाई कुट्यो अंकल भनेर प्रहरीलाई भनिसकेपछि किन संरक्षण गर्न सकेन ? उसले होटल देखिनँ, चाबी र ब्याग पनि होटलमै छुट्यो । मैले लिएको बाइक पनि चिनिनँ भनेर प्रहरीलाई भन्दा प्रहरीले किन केहि वास्ता गरेन ? राति राति सुरक्षा गर्न भन्दै प्रहरी खटिएको के मतलब भयो ? कुटपिट भइरहँदा प्रहरीले किन हेरेन ? इन्स्पेक्टर श्याम थापा र सई कुलप्रसाद ढकाल सहितका प्रहरीहरु त्यो दिन ड्युटीमा हुनुहुन्थ्यो ।

छोराकै मोबाइलबाट राति २ बजेतिर उसका साथीहरु विप्लव र सुशान्तलाई पनि फोन गएको छ । प्रहरीले चाहिँ बिहान ३ बजेको समयमा ट्रेजर क्लब एरियामा रहेको बुझिएको भनेको छ । हामीलाई देखाइएको फुटेजमा पनि प्रहरीले छोरोलाई केरकार गरिरहेको, अन्य धेरै युवकहरुले हेरिरहेको देखिएको छ । कुटपिट भएको छ भन्ने थाहा पाउने प्रहरी त्यही युवक फेवातालमा मृत भेटिँदा आत्महत्या भनेर किन पटक पटक जाहेरी लिनै मानेन ? होटलदेखि मोटरसाइकल हायर गरिएको भनिएको छ । उसले ग१७प ११९८ नम्बरको मोटरसाइकल आफूले भाडामा लिएर आएको ठानेर स्टार्ट गर्न खोजेको भनिएको छ । त्यो मोटरसाइकल कसको हो ? बाइकका कुरामा त्यहाँ रहेका प्रहरीकै कुरा बाझिएको छ । किंग्स लाउञ्जको १२ः४५ को सिसिटिभी फुटेज र ट्रेजर लाउञ्जबारमा जडित सिसिटिभी फुटेज उपलब्ध गराउन किन सक्दैन प्रहरी ? अलिकति भन्दा किन देखाएन ? फुटेजबाट नै देखिन्थ्यो को को सँगै थिए भनेर । मुनडान्स नजिकै कुटिएको छ। त्यहाँको पनि फुटेज उपलब्ध गराउन म प्रहरीलाई भनेको छु ।

म यति मात्र चाहन्छु कि, त्यो रात कुटपिट भएपछि तालबाराही मन्दिर आसपासको फुटेज प्रहरीले तत्काल झिकाउनुपर्यो । नुभिव लकेसाइडको त्यो स्थान वरपर नै छ । उसलाई कसरी लगेर मारेर फाले ? त्यो हामीले थाहा पाउनुपर्छ । मेरो छोरो आईटी पढेको र चलाख छ । उसले आफूलाई अब मार्छन् भनेरै मलाई मोबाइलको पासवर्ड म्यासेज पठाएको हो । उसको एक जना साथी ऋतिक जैसवाल पनि पोखरा नै रहेको भन्ने बुझिएकाले यो सम्बन्धमा पनि अनुसन्धान होस् । कलेज छोडेको छोरो किन एक्लै पोखरा आयो ? यसतर्फ प्रहरीले बुझोस् । मेरो छोरोको मोबाइल जस्ताको तस्तै मेरो हातमा परेमा मैले नै थप कुरा थाहा पाउन सक्छु । तर, मरेपछि पनि फोन गरिरहेको मेरो छोराको मोबाइल कहाँ छ ? उसले बुक गरेको भनिएको होटल नै अहिले उठेको अवस्था छ ।

छोरोलाई मरणासन्न हुने गरी कुटिरहेका बेला बाटो हिँडेका सरोज भट्टराई नाम गरेका भाइले देखेर उसले रोकेर पुलिसलाई फोन गरेर बोलाएको छ । प्रहरी आएर ७–८ मिनेट गफ गर्दा समेत कुट्नेहरु त्यहीँ हुँदा पनि प्रहरीले उनीहरुलाई पक्रेको छैन । सबै घटनाक्रम हेर्दा मरणासन्न गरी पिटेर तालमा लगेर डुबाई मारेको प्रस्ट छ तर डुबेर मरेको भनी घटना लुकाऊन खोजेको छ । अहिले कुटपिट गरी मार्ने ३ जना हिरासतमा रहेको भएता पनि हामीलाई थप जानकारी दिन आलटाल गरी गल्ती ढाकछोप गर्न लागेकाले अनुसन्धान प्रभावकारी बनाइदिन भन्दै मैले विज्ञप्ति समेत जारी गरिसकेको छु । म आफै सञ्चारकर्मी र चलचित्रकर्मी पनि हुँ । म जस्ता मान्छेहरु त यसरी प्रताडित हुनुपर्छ भने आम सामान्य मान्छेले न्याय कसरी पाएको होला ?

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button