राजनीति

प्रधानमन्त्रीमा केपी ओलीको पनि दावी प्रस्तुत

दुईजनाको दावी परेपछि अलमलमा कानुन र राष्ट्रपति, कानुन हेरेर निर्णय गर्ने आश्वासन

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत जुटाएको आधार पेश गर्न सांसदहरुलाई आव्हान भए बमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १ सय ४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दावी गर्नुभयो । त्यस्तै नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गर्नुभएको छ ।

ओलीले एमालेका १ सय २१ र जसपाका ३२ गरी १ सय ५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी पेश गर्नुभएको हो । तर, विपक्षी गठबन्धनले भने ओलीले सांसदहरुको हस्ताक्षर पेश नगरेकाले सो दावीको अर्थ नहुने बताएका छन् ।

तर, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालका अनुसार दावी पत्रमा ओलीसँगै जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतोले हस्ताक्षर रहेको छ ।

यसबीचमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको दावी परेपछि आफूले कानुन पनि हेर्ने बताउनुभएको छ । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओली पनि बहुमत दावी गर्न आएको भन्दै आफूले कानुन हेर्ने बताउनुभएको हो ।

श्रेष्ठले भन्नुभयो हामीले हस्ताक्षरसहितको दावी प्रस्तुत गर्‍यौं । उहाँले धेरै बोल्नुभएन । म कानुन पनि हेर्छु, प्रधानमन्त्री पनि दाबी गर्न आउनुभएको छ भन्नुभयो ।

दुई सांसदको प्रधानमन्त्रीमा बहुमतको समर्थनसहित भन्दै दावी परेकाले कसको पक्षमा सांसदहरुको संख्या बहुमतमा छ भन्ने निर्धारण गर्न निकै कष्ट हुने देखिएको छ । सांसदहरुको हस्ताक्षर प्रमाणिकरणबाट मात्रै भावी प्रधानमन्त्रीको टुंगो लाग्ने अवस्था सिर्जना भएको छ । किनभने शेरबहादुर देउवाको पक्षमा १ सय ४९ केपी ओलीको पक्षमा १ सय ५३ सांसद भएको दावी हुनु अनौठो विषय बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.