फोटो खिच्दा महिलाको सिन्दुर पुछ्न र पोते झिक्न किन लगाएको ?
नेपालको धर्म, संस्कृति, परम्परा र मूल्य तथा मान्यताहरुको रक्षा गर्नुको साटो यसलाई अग्रगमन वा क्रान्तिका नाममा देशी-विदेशी शक्तिहरुबाट आक्रमण भैरहेको छ ।

नेपाली पहिचानका धेरै कुराहरुलाई अन्तर्राष्ट्रिय चिनारीबाट मेटाउने काम पनि भैरहेको छ । यसको पछिल्लो उदाहरण विद्युतीय राहदानी र राष्ट्रिय परिचयपत्रको फोटो खिच्ने बेलामा गरिएको छ ।
पहिले पहिले नागरिकताका लागि पुरुषका लागि दुबै कान देखिने ढाका टोपी लगाएको फोटो हुनुपथ्र्यो भने महिलाका लागि त्यस्तो कुनै बन्देज थिएन । अहिले राष्ट्रिय परिचयप र पासपोर्टका लागि फोटो खिच्दा पुरुषका लागि त सामान्य भैहाल्यो, महिलाको हकमा निधारको टीका, कानको टप वा कुनै गहना र सिन्दुर समेत लगाउन हुँदैन भनिन्छ ।
यस्तो अवस्थाले नेपालको संस्कृति र सभ्यतामाथ प्रहार भएको भन्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले राष्ट्रिय परिचयपत्र लिँदा महिलाको सिन्दूर पुछ्ने र पुरुषको टोपी खोल्न लगाउने गरिएको भन्दै उनले आपत्ति जनाउनुभएको छ ।
शनिबार एमालेको भातृसंगठन अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा अध्यक्ष ओलीले कसैको पनि सांस्कृतिक पहिचान मेट्न खोज्नु अपराध हुने उल्लेख गर्दै आपत्ति जनाउनुभएको हो ।
कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो, “राष्ट्रिय परिचयपत्र लिँदा सिन्दूर पुछ्नुपर्ने, पोते निकाल्नुपर्ने हुँदो रहेछ । त्यहाँ पानी पनि राखिदिएको हुन्छ, रुमाल राखिएको हुन्छ पुछ्नलाई । विवाहित महिलाको सिन्दूर पुछ्ने अधिकार कसले दियो ? सिन्दूर पुछेर बनाइने त्यस्तो परिचयपत्र फाल्दिए हुन्छ । पुरुषले पनि टोपी खोल्नुपर्ने रे । टाई लाउनुपर्ने हो कि ?”
भारतका पञ्जाबीको उदाहरण दिंदै उहाँले भन्नुभयो “पञ्जाबीले कतै पनि फेटा खोल्नु पर्दैन । जहाँ पनि लगाउन सक्छन् । टोपी पनि हाम्रो पहिचान हो । टोपी लगाउँदा किन मान्यता नपाउने भन्ने प्रश्न गर्दै भन्नुभयो, कसैलाई लाग्दैन भने नलगाओस्, तर मन लाग्नेले लगाउन पाउनुपर्छ । कुन धर्ममा सिन्दूर लगाइँदैन त्यही हामीले पछ्याउनुपर्ने ?”
सिन्दुर टीका पुछन र पोतो निकाल्न लगाउने कामको कडा प्रहार गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “हाम्रोमा श्रीमान् वरण गर्दा सिन्दूर लगाइन्छ । श्रीमान् मर्दा सिन्दूर पुछिन्छ । पुछिनुको अर्थ विधवा हुनु हो । श्रीमान् हुँदासम्म पोते निकालिँदैन, चुरा फुटाइँदैन, सिन्दूर पुछिँदैन । कसका निर्देशनमा बनाइन्छ कानून ? पोते किन खोल्नुपर्यो ? लगाएको सिन्दूर किन पखाल्नुपर्यो ?”
“सिन्दूरसहित हुँदा के खराबी हुन्छ ? परिचयपत्र होस कि नागरिकता होस । जेसुकै भए पनि त्यसमा परिपूर्ण कुराहरू हुनुपर्छ । नजानिँदो गरी हाम्रो संस्कृति र सभ्यतामाथि हमला भइरहेको छ । हाम्रो परम्पराका सुन्दर कुराहरूमा, पहिचान र परिचयमा हमला भइरहेको छ । सांस्कृतिक पहिचान मेट्न खोज्नु अपराध हो ।”
त्यसै गरी अध्यक्ष ओलीले अहिले बहस भइरहेको सांसदहरूको पोशाकसम्बन्धी विषयमा पनि टिप्पणी गर्दै भन्नुभयो, “मर्यादित ठाउँमा मर्यादित पोशाक लगाउनुपर्छ । स्वीमिङ पुलमा कस्टम लगाउनु असभ्य मानिँदैन । स्वीमिङ पुलमा लगाउँदा हुने, पार्लियामेन्टमा किन नहुने भन्नुभयो भने त्यो शोभनीय हुँदैन । बाथरुमको वस्त्र र मिटिङ रुमको वस्त्र एउटै हुँदैन । स्वतन्त्रताका नाममा यस्ता कुरा गर्नुहुन्न । धेरै उत्ताउलिएर किन यसो किन उसो भनेर नभनौँ । फर्किएर गुफातिर नपुगौँ ।”
विश्वकै प्राचीन सभ्यता भएको मुलुक भनेर पश्चिमाहरुले नै स्वीकारेको हाम्रो मुलुकमा धर्म परिवर्र्तन, सांस्कृतिक आक्रमण र अतिक्रमणले क्षतविक्षत भैरहेको छ । अरुले जे गर्यो त्यही गर्नुपर्ने आवश्यकता नभए पनि हामी दाताहरुको निर्देशन खुरुखुरी मान्दै उनीहरुको स्वार्थका लागि काम गरिरहेका छौं, विकास भन्दै ।
राष्ट्रिय परिचयपत्र र विद्युतीय राहदानीका लागि फोटो खिच्ने सन्दर्भमा पुरै पश्चिमा शैलीलाई अपनाइनु नेपाली सभ्यता र संस्कृतिक विश्यमाझ हराउने खेल मात्र हो । परिचयपत्रका लागि बायोमेट्रिक गरिसकेपछि फोटोमा नेपाली पहिचान झल्कने कुराहरु लगाउन नपाउनु आफैंमा विडम्बना हो ।
अध्यक्ष ओलीले उठाएको प्रश्नको सरकार र सम्बन्धित निकायले कसरी सम्बोधन गर्छ वा नसुनेझैं गर्छ यो आफैंमा अनुत्तरित प्रश्न त छ, तर यसप्रकारको गलत अभ्यासको सुरुवातका लागि स्वयं ओली नेतृत्वको विगतको सरकार पनि जिम्मेवार नै छ ।
प्रतिक्रिया राख्नुहोस्