वैकल्पिक सरकार गठनको आधार हुँदाहुँदै संसद विघटन गर्नु असंवैधानिक- सभामुख सापकोटा
प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको पुनः घोषणा भएपछि सभामुख अग्निप्रसाद सापकोटाले यो कार्य असंवैधानिक र अलोकतान्त्रिक भएको टिप्पणी गर्नुभएको छ ।

सभामुख सापकोटो एक वक्तव्य जारी गर्दै संसद विघटन ११ फागुनमा सर्वोच्च अदालतले गरेको फैसलामा ‘अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ट रुपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधिसभा विघटन गरिनु संविधानको मर्म र उद्देश्य नहुँदा त्यस्तो कार्य संविधानसम्मत हुँदैन भनेको स्मरण गराउनुभएको छ ।
त्यस्तै उहाँले संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै संसद विघटन गरिएको समेत बताउनुभएको छ ।
सभामुखले विज्ञप्तिमा भन्नुभएको छ ‘राष्ट्रपति कार्यालयबाट २०७८ जेठ ७ गते जारी विज्ञप्ति नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन २०७३ र प्रतिनिधिसभा नियमावली २०७५ ले गरेको व्यवस्थासँग मेल खाएको देखिंदैन । जुन शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्त विपरीत हुन गएको छ ।’
त्यस्तै सभामुख सापकोटाले निर्वाचनको घोषणा संवैधानिक रुपमा मात्र नभएर व्यवहारिक रुपमा पनि अहिलेको समयमा उपयुक्त नरहेको बताउँदै आफ्नो विज्ञप्तिमा भन्नुभएको छ- “कोभिड १९ महामारीको अयभवह परिस्थिति भोगिरहेका नागरिकका लागि यसको रोकथाम, नियन्त्रण र उपचार सर्वाधिक प्राथमिकताको विषय हो । तर नयाँ राजनीतिक संकटले मुलुकको प्राथमिकता बदलिने र महामारीबाट नागरिकको जीवन थप जोखिममा पर्न खता बढाउने छ । साथै मुलुक र जनतालार्य थप आर्थिकभारा पर्ने अवस्था पनि सिर्जना हुनेछ ।”
प्रतिक्रिया राख्नुहोस्