मुम्बई इन्डियन्स भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल)को प्लेअफमा प्रवेश गर्दा रोयल च्यालेन्जर्स बैंगलोर भने बाहिरिएको छ ।
आइतबार भएको पहिलो खेलमा मुम्बईले सनराईजर्स हैदराबादलाई ८ विकेटले र बैंगलोर गुजरात टाईटन्ससँग ६ विकेटले पराजित भएको हो । योसँगै आईपीएलको प्लेअफमा पुग्ने चार टोलीको टुंगो लागेको छ ।
गुजरात टाईटन्स पहिलो, चेन्नाई सुपर किंग्स दोस्रो, लखनउ सुपर जायन्टस् र मुम्बई इन्डियन्सले चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन् । आइतबार मुम्बईको घरेलु मैदान वांनखडे स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०० रन बनाएको थियो ।
हैदराबादका लागि मंयक अग्रवाल र भिभ्रन्त शर्माले अर्धशतकीय पारी खेल्दै क्रमश: ८३ र ६९ रन बनाए । यी दुईले पहिलो विकेटका लागि १४० रनको शतकीय साझेदारी गरेका थिए । त्यस्तै हेनरिक केल्सनले १८ र कप्तान एडेन माक्ररम १३ रनमा अविजित रहे । मुम्बईका लागि अकाश मधवालले ४ विकेट लिए भने क्रिस जोर्डनको भगमा १ विकेट रह्यो ।
हैदराबादले दिएको २०१ रनको लक्ष्य मुम्बईले १८ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईका लागि क्यामरन ग्रीनले ४७ बलमा ८ चौका र ८ छक्काको सहयोगमा अविजित रहँदै १०० रनको शतकीय पारी खेले भने कप्तान रोहित शर्माले ५६ रनको अर्धशतकीय पारी खेले । यी दुईले दोस्रो विकेटका लागि १२८ रनको साझेदारी गरे ।
यस्तै सुर्यकुमार यादव २५ रनमा अविजित रहे । हैदराबादका लागि भुवनेश्वर कुमार र मंयक डगरले समान १-१ विकेट लिए । त्यसैगरी आइतबार भएको अर्को खेलमा गुजरात टाईटन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ ।
प्लेअफमा स्थान बनाउनका लागि जित्नै पर्ने खेलमा बैंगलोर ६ विकेटले पराजित भएको हो । बैंगलोरको घरेलु मैदान एम चेन्नास्वामी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९७ रन बनाएको थियो ।
बैंगलोरका लागि विराट कोहलीले ६१ बलमा १३ चौका र १ छक्काको सहयोगमा अविजित रहँदै १०१ रनको शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कप्तान फाफ डु प्लेसिसले १९ बलमा ५ चौकाको सहयोगमा २८ रन बनाए । यी दुईले पहिलो विकेटका लागि ६७ रन बनाउँदै राम्रो सुरुआत दिलाएका थिए ।
त्यस्तै माइकल ब्रेसवेलले १६ बलमा ५ चौकाको सहयोगमा २६ रन बनाए भने अनुज रावतले १५ बलमा १ चौका र १ छक्काको मद्दतमा २३ रनमा अविजित रहे । गुजरातका लागि नूर अहमदले २ विकेट लिए भने यश दयाल, मोहम्मद सामी र राशिद खानको भागमा समान १-१ विकेट रह्यो ।
बेंगलोरले दिएको १ सय ९८ रनको लक्ष्य गुजरातले १९ दशमलब १ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको जितमा ओपनर शुभमन गिलले ५२ बलमा ५ चौका र ८ छक्काको सहयोगमा अविजित रहँदै १ओ४ रनको शतकीय पारी खेले भने विजय शंकरले ३५ बलमा ७ चौका र २ छक्काको सहयोगमा ५३ रनको अर्धशतकीय पारी खेले ।
यी दुईले दोस्रो विकेटका लागि १२३ रनको सानदार साझेदारी गरे । यस्तै ऋद्धिमान शाह १२ रनजोड्दा राहुल तिवातिया ४ रनमा अविजित रहे । बेंगलोरका लागि मोहम्मद सिराजले २ तथा विजयकुमार वैशाख र हर्षल पटेलको भागमा समान १-१ विकेट रह्यो ।
जितसँगै गुजरातले १४ खेलमा १० जित र ४ हार सहित २० अंकका साथ लिगको समूह चरण सकाएको छ । गुजरातले प्लेअफको पहिलो क्वालिफायर खेलमा मंगलबार चेन्नाई सुपर किंग्सको सामना गर्नेछ । बेंगलोरले १४ खेलमा ७ जित तथा ७ हारका साथ छैटौं स्थानमा रहँदै लिगको अन्त्य गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्