शुक्रबार मात्रै ५९ जना कोरोना संक्रमित : संख्या पुग्यो पाँच सय १६
शुक्रबार मात्रै नेपालमा ५९ जना कोरोना संक्रमित फेला परेका छन् । पछिल्लोपटक मकवानपुर हेटौँडा, भक्तपुर, सप्तरी र बारामा गरी ९ जना संक्रमित भेटिएपछि नेपालमा संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा नौ जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।
उहाँका अनुसार हेटौंडा उपमहानगरपालिका–३ का ५४ वर्षीया महिला, भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला, सप्तरी वलान विहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष तथा बारा सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुष रहेका छन् ।
यसअघि बिहान ३० जना र दिउँसो २० जनामा सङ्क्रमण देखिएको थियो । नयाँ सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ५१६ पुगेका उहाँले जानकारी दिनुभयो । अहिलेसम्म ७० जना पूर्णरुपमा सञ्चो भई घर फर्किसकेका छन् । उहाँका अनुसार सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
यसबीच देशभरि भाइरसमुक्त भएर निको हुनेको सङ्ख्या ७० पुगेको छ । यसेबीच शुक्रबार बाँकेमा २१ जना कोभिड १९ मुक्त भएर अस्पतालबाट बिदा भएका छन् । उनीहरू सबै नेपालगन्जका हुन् । अहिलेसम्म तीनजनाको मृत्यु भएको छ ।
विगत २४ घण्टामा देशभरि ३,८१९ वटा परीक्षण गरिएको र अहिलेसम्म सबै प्रदेश र ४० वटा जिल्लामा कोभिड १९ भेटिएको छ । सर्वाधिक सङ्क्रमित प्रदेश नं ५ र २ मा छन् । शुक्रबार दिउँसोसम्म पीसीआर विधिबाट ४२,४८८ वटा परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार दिउँसोसम्म देशभरि २७,८२९ जना क्वारन्टीनमा र सङ्क्रमित तथा सम्भावित सङ्क्रमितसहित ४३३ जना आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै थिए । प्रदेश नं ५ मा १५,९९९ जना क्वारन्टीनमा थिए । त्यसैगरी प्रदेश नं २ मा ५,९०६ जना र सुदूरपश्चिम प्रदेशमा २,६२९ जना थिए ।
प्रतिक्रिया राख्नुहोस्