कर्पोरेट/पर्यटन

दश प्रकारका पाप नाश गर्न गङ्गा दशहरा स्नान- यस वर्ष घरमै आव्हान गरेर सुरु

– पूर्णप्रसाद मिश्र

प्रत्येक वर्ष ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म गोसाइँकुण्ड, पाँचपोखरी, वाग्मती, देवघाट, त्रिवेणीलगायत स्थानका सुरु हुने गङ्गादशहरा स्नान शनिबारदेखि शुरु भएको छ । तर कोरोना भाइरस संक्रमणका कारण तीर्थस्थलमा जान नसकिने भएकाले घरमै तीर्थ आव्हान गरेर स्नान गर्न सकिने धर्मशास्त्रीहरुले बताएका छन् ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार उपरोक्त तीर्थ स्थलमा स्नान गरेमा दश जन्मदेखिका पाप नाश हुने शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको जानकारी दिनुभयो । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण तीर्थ स्थलमा जान नसके पनि घरमै आह्वान गरेर स्नान गर्न सकिने उहाँले बताउनुभयो ।

दश दिनको अवधिमा तीर्थस्थल गएर वा जान नसकेमा घरमै आह्वान गरी स्नान गरेमा दश प्रकारका पाप हरण हुने मान्यता छ । ज्येष्ठ शुक्ल पक्षका दश दिन गङ्गा वा नदी किनारमा गई स्नान गरेमा दश प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ । कसैले नदिई कुनै वस्तु लिनु, विनायज्ञ हिंसा गर्नु, परस्त्री गमन गर्नु, कठोर वचन बोल्नु, असत्य बोल्नु, परनिन्दा गर्नु, बेमतलवको प्रलाप गर्नु, अरुको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरुलाई हानी पु¥याउने इच्छा राख्नु र विनाकारण दुराग्रह राख्ने जस्ता पाप यस अवधिमा गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता छ ।

यसैका लागि स्वर्गबाट पृथ्वीमा भागीरथीले गङ्गा अवतरण गराएको सम्झनामा देशभरका नदीमा दशहरा स्नान गरिन्छ । यी दश दिनमा वाग्मती र शैलमती मिसिएर बनेको सिद्धगयामा गङ्गादशहरा मेला लाग्ने गर्छ । यस वर्ष भने कोरोना भाइरस सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण बृहत् मेला नलाग्ने भएको छ ।

सुन्दरीजलको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाइरहेका दुई झरनाको नजिकमा वाग्मती र शैलमतीको सङ्गममा गङ्गादशहरा स्नान गरी भगवान् शैलमतेश्वरको दर्शन गरेमा पापमोचन भई मुक्ति प्राप्त हुने धार्मिक विश्वास छ । बृहत् रुपमा मेला नलागे पनि स्थानीयवासीले सामाजिक दूरी कायम गरी स्नान एवं नदीको पूजा आरधाना गरी पर्व मनाउने भएका छन् ।

यस अवधिमा सिद्धगयाका साथै कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको सङ्गममा रहेको हत्यामोचनघाट, रसुवाको गोसाइँकुण्ड, कपिलवस्तुको वाणगङ्गा, नवलपरासीको त्रिवेणीसङ्गम लगायत देशभरका नदीमा दशहरा स्नान मेला लाग्ने गर्दछ । शरीर, मन र वचनले गरिने दश प्रकारका पाप दश दिने अवधिमा स्नान गरेर नाश हुने विश्वासमा गङ्गा दशहरा भनिएको धर्मशास्त्रविद् गौतमले बताउनुभयो ।

कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको सङ्गमस्थित वाग्मती नदी किनारमा रहेको हत्यामोचनघाटमा पनि यस वर्ष कोरोनाका कारण स्नान मेला नलाग्ने गङ्गा दशहरा स्नान एवं पूजा समितिका अध्यक्ष रोहित लिम्बुले जानकारी दिनुभयो । मेला नलागे पनि यहाँको वाग्मती नदी र शिव मन्दिरमा गङ्गा दशहराको विशेष पूजा भने गरिने उहाँले बताउनुभयो ।

पौराणिक कथा अनुसार परशुरामले पिता ऋषि जमदग्निको आदेशानुसार माता रेणुकाको हत्या गरेपछि यही स्थलमा स्नान गरी हत्याको पाप मोचन गरेकाले यो स्थानलाई हत्यामोचनघाट भनिएको हो । यसअघि परशुरामले भारत वर्षका हजारौँ तीर्थमा स्नान गर्दा पनि मातृ हत्याको पाप मोचन भएको थिएन । पापमोचन स्वरुप परशुरामकी आमा रेणुकाले पुनर्जीवन पाएको पौराणिक कथन छ । दश दिने अवधिमा जेठ महीना, शुक्ल पक्ष, दशमी तिथि, बुधबार, हस्ता नक्षत्र, व्यतीपात योग, वर करण, आनन्द योग, कन्या राशिको चन्द्रमा र वृष राशिमा सूर्यको दश योग पर्छ ।

यस अवसरमा भगवान् रामले स्थापना गर्नुभएको रामेश्वर धाममा पनि विशेष मेला लाग्ने गर्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.