राजनीति

चुनावअघि सबै जनतालाई खोप लगाइ सकिन्छ- प्रधानमन्त्री ओली

धारा ७६(५)को प्रधानमन्त्री नियुक्ति राष्ट्रपतिको स्वविवेकीय अधिकार हो त्यसविरुद्ध प्रश्‍न गर्न पाइँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कार्तिक २६ र मंसिर ३ गते हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचन अघि नै उमेर पुगेका सबै जनतालाई खोप लगाइसकिने र त्यसको तयारीमा सरकार लागिपरेको बताउनुभएको छ ।

विपक्षी गठबन्धन, संचारमाध्यम, बुद्धिजीवी लगायतले कोरोना महामारीमा चुनाव हुनै नसक्ने र चुनावको नाममा तानाशाही चलाउन खोजेको आरोपको खण्डन गर्दै प्रधानमन्त्री ओलीले जनताको भावनात्मक सम्वेदनशीलताको ब्ल्याकमेल मात्र गरेको आरोप समेत लगाउनुभयो ।

आइतबार एक पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड, माधव नेपालहरुले जनताको भावनामाथि खेलवाड गरेको र जनताको सार्वभौम अधिकार हनन गन खोजेको आरोप लगाउँदै चुनावअघि सबैलाई खोप लगाइसक्ने प्रतिबद्धता जनाउँदै संचार माध्यमहरुले निर्वाचनका विपक्ष नजान आग्रह गर्नुभयो ।

त्यस्तै प्रधानमन्त्री ओलीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिको आधार ठहर गर्ने राष्ट्रपतिको अधिकारबारे कहीँ उजुरी नलाग्ने दावी समेत गनुभयो । उहाँले धारा ७६(५)को प्रधानमन्त्री नियुक्ति राष्ट्रपतिको स्वविवेकीय अधिकार हो भन्दै त्यसविरुद्ध प्रश्‍न गर्न नपाइने बताउनुभएको हो ।

उहाँले भन्नुभयो ‘संविधानमा राष्ट्रपतिको स्वविवेकीय अधिकार प्रयोग गर्ने यो मात्रै ठाउँ हो । यसविरुद्ध कहीँ उजुरी लाग्दैन, कहीँ हेरफेर गर्न मिल्दैन’ ।

प्रधानमन्त्री ओलीले निर्वाचनको विकल्प नभएको बताउँदै दलहरुलाई यही सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गर्दै दलीय हैसियत अनुसार मन्त्रालय रोज्न आग्रह समेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो ‘७ वटा मन्त्रालय खाली नै छन् । संविधानले २५ भन्दा बढी बनाउन नपाउने भनेको छ । दलहरुको संसदको हैसियत अनुसार बाँडेर यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ । यही सरकारलाई चुनावी सरकार बनाउन सकिन्छ ।’

त्यस्तै पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले जेठ १५ गते बजेट स्वभाविक रुपमा अध्यादेशबाट आउने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button