जन सरोकार

प्रेमिका लिन गएका नवराजले गाउँलेको कुटाइबाट ज्यान गुमाए, संगै गएका छजना वेपत्ता

आफ्नी प्रेमीकाकै आग्रहमा उनलाई लिन रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती पुगेका जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको शनिबार राति गाउँलेहरुको कुटपिटबाट मृत्यु भएको छ । त्यस्तै नवराजसँग गएका छ युवा अझै बेपत्ता रहेका छन् ।

नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो । सुष्माकै आग्रहमा नवराजले १९ युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए । केटाहरु आएको खबर सुष्माकी आमाले थाहा पाएर हल्ला गरेपछि गाउँहरुले युवालाई कुटपिट गर्दा नवराजको मृत्यु भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले दिनुभयो

उहाँअनुसार कुटपिटमा संलग्न रहेका बाह्रजना युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ । गाउँहरुले लखेट्दा अन्य छ युवा बेपत्ता रहेको उहाँँको भनाइ छ । सुष्मा र नवराजबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले सो विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएको श्रेष्ठले जानकारी दिनुभयो ।

उजुरी दिएपछि दुवै समूहबीच छलफलसमेत भएको थियो । जात नमिल्ने भन्दै चर्कोरूपमा यो प्रेमलाई अस्वीकार गरिएको केही तथ्यले थाहा हुन आएको प्रहरीको भनाइ छ ।

उता सप्तरीको महदेवा गाउँपालिकामा जग्गासम्बन्धी विवादमा परी कुटपिट हुँदा घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ । गाउँपालिका–१ बस्ने ८० वर्षीय सुविलाल यादवको मृत्यु भएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले बताउनुभयो ।

जग्गाको विषयमा छिमेकीसँग गत वैशाख १३ गते विवाद भएको थियो । सो विवादका क्रममा कुटपिट हुँदा उनको टाउको र खुट्टामा गम्भीर चोट लागेपछि उनलाई गजेन्द्रनारायाण सिंह अस्पताल राजविराजमा उपचारका लागि भर्ना गरिएको थियो ।

वैशाख २७ गते अस्पतालले उनलाई डिस्चार्ज गरेपछि घरमै औषधि खाएर उपचार गराइरहेको अवस्थामा यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शवलाई परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै कुटपिटमा संलग्न रहेकाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

Back to top button