स्वयंभूमा असईले गोली हानेर आत्महत्या गरे, डिल्लीबजार कारागारमा झडप
स्वयम्भू प्रहरी चौकीमा कार्यरत असई विष्णु प्रसाद कार्कीले गोली हानेर आत्महत्या गरेका छन् । उनले आफ्नो दाहिने कञ्चटमा पेस्तोलबाट गोली हानेका हुन् । उनले के कति कारणले आत्महत्या गरे भन्ने बारेमा अनुसन्धान जारी रहेको बताइएको छ ।
उता डिल्लीबजारमा कारागारमा चौकीदार राख्ने विषयमा बन्दीहरुबीचको विवादले झडपको रुप लिएको छ । आइतबार बिहान विवाद हुँदा सामान्य झडप भएको बुझिएको र विस्तृत जानकारी आउन बाँकी रहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलले बताउनुभयो ।
प्रहरीका अनुसार कैदीबन्दीले कारागारभित्रै नाराबाजीसमेत गरेका थिए । कारागार कार्यालयमा भित्रबाट ताला लगाएर प्रदर्शन गरिएकोसमेत जनाइएको छ ।
महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख विश्वराज पोखरेलले चौकीदार राख्ने विषयमा विवाद हुँदा कारागारमा भित्रबाट ताला लगाएर प्रदर्शन भएको र अहिले प्रहरी परिचालन गरेर स्थिति नियन्त्रणमा लिइसकिएको जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।