बिचार

विजयोन्मुख महानगरप्रमुख बालेन्द्र साहलाई अग्रिम वधाईसँगै केही प्रश्न

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय निकायहरु (महानगर, उपमहानगर, नगर र गाउँपालिका गरी ७५३) का नतिजा कतिपय ठाउँका लागि स्वाभाविक र सहज रुपमा लिन सकिने खालका आए, भए । तर केही पालिका– खास गरी ५ वटा महानगर पालिका) का नतिजाले नेपालका ठूला साना दलहरुलाई मात्र होइन ।

राजनीति शास्त्रमा ठूला ठूला (डाक्रेट) उपाधी प्राप्त गरेका प्राध्यापकहरुदेखि सुदूर दुर्गमका प्राथमिक शिक्षकसँगै डोके, नाम्ले, हली, खेतालहरुसम्मलाई काखी पड्काउने र लज्जित बनाउने काम गरेको छ । अझ अलि स्पष्ट गरौं– यस पटकको स्थानीय तहका निर्वाचनमा आआफ्ना पार्टी नेता र निर्वाचन चिन्ह बाहेकमा छाप लगाए (मतदान गरे आफ्नो जातै जान्छ भन्ने सोच्ने नेता, दास र रैती प्रजाका संस्कार बोकेका बाहेकको विवेक र विश्लेषण यति उच्चतम सम्मानलायक देखियो कि सबैलाई चन्द्रागिरी शिखर पुगेर शिर झुकाउँदै आदरपूर्ण “साष्टाङ्ग अभिवादन र सलाम गरिरहूँ भन्ने लागिरहेको छ ।

यसपटक आम जनताबाट यो देशका राजनीतिक नेता भनाउँदा पेशा व्यवसायीहरुले राजनीतिलाई बिना लगानी (पूँजी), विनाजोखिमको अकूत र अकल्पनीय कमाइको माध्यम ठाने । विभिन्न पार्टीको नाममा कम्पनी खडा गरी, आफू र आफ्ना आसेपासेहरुलाई, उनीहरुको लगानी भन्दा आफूप्रतिको आज्ञाकारिता, वफादारीता, दासताभाव हेरी संचालकहरु छान्न त्यस्ता सीमान्त घटिया, सामन्त चरित्रका कतिपय दुर्याेधन– दम्भी नेताहरु भन्दा कति धेरै बुद्धिमान र उदार र उदात्त सोचको परिचयको ठेठ साक्ष्य पनि प्रस्तुत भयो ।

त्यति मात्र होइन । सधैं “आफ्नो स्वार्थको दूनो सोझ्याउन,” आम नेपालीहरुलाई सीमित नेताहरुले आम नेपाल मतदाताहरुलाई आ–आफ्नो अनुकूल हुने गरी जाति, वर्ग, वर्ण, धर्म, क्षेत्र, समुदाय र सम्प्रदायका नारा दिएर विभाजित गर्दै आए । त्यस्ता निकृष्ट र नीचतापूर्ण राष्ट्रघाती, देशद्रोहीहरुका, उग्रराष्ट्रवादी र क्रान्तिकारीका नकावधारीहरुलाई काठमाण्डौं महानगरभित्रका रैथाने (नेवार समुदायका) मतदाताहरुले वेनकाव पारे ।

काठमाडौंकै उग्रजातिवादी र काठमाडौंलाई आफ्ना बाबुबाजेको विर्ता र मौजा नै ठान्ने काजी खानदानका उम्मेदवारहरुलाई जसरी लोप्पा खुवाउँदैछन् । त्यसरी नै ठेट तराई मूलका– जस्लाई आजसम्म “मनु मखु मस्र्या खः” भन्ने गरिन्छ भनेर तराईवासी ठूला नेतासम्मले भनेका थिए– तिनैले तराई मधेशवासीहरु मूल र कूलका तपाई (बालेन्द्र साह)लाई प्रचण्ड बहुमत सहित विजयी बनाउँदै छन् ।

ठीक त्यही उच्च सोच र आदर्शको सकारात्मक सन्देश राजधानीवासीहरु मात्रलाई नभई “आफ्नै भेक, भेष भाषालाई मात्र नेपाल राष्ट्रको माौलिकता र राष्ट्रियताको परिचायक मान्ने ठान्ने, पुस्तैनी दृष्टिदोषीहरुलाई आँखा खोलेर दिन “मधेश प्रदेश”को माग गर्नेहरुको आन्दोलनको मुख्य केन्द्र बन्दै आएको वीरगन्ज महानगरका रैथाने “मधेसी”ले जित्दै आएका उम्मेदवारलाई पन्छाएर राजेशमान सिंह श्रेष्ठ जस्तो ठेट नेवार समुदायका सन्तानलाई वीरगञ्ज म.न.पाको नगर प्रमुख (नगरपिता) को ताजपोश भिराउँदै गरेको सुखद दृश्य देखियो ।

यसले उच्चतम अति प्रसंशनीय सोच र संस्कारका संवाहकहरु काठमाडौं र वीरगञ्जका संपूर्ण मतदाताहरु भए पनि, इमान्दारितापूर्वक भन्नैपर्ने के हो भने यसमा दुवै महानगरभित्रका संकीर्णतावादी, परम्परागत मनोरोगयुक्त पुस्ताविरुद्ध परिवर्तनवादी युवाहरुकै स्तुत्य प्रयासबाटै यस्तो (उदात्त समभाव) समझदारी अनायास साकार भएको हो । बहुसंख्यक नेपालीहरुको ठम्याई यस्तै देखिन्छ । त्यसैले यस सबको “यश” (श्रेय) तिनै युवादेखि आममतदातासम्मलाई दिनुपर्नेमा फरकमत राख्नु पर्दैन । त्यसका लागि ती तमाम सम्बन्धितहरु प्रति ससम्मान अभिवादन गर्दछु । साथै अपरिकल्पित र अप्रत्याशित परिणाम निकाल्ने विजयी (स्थितिमा पुगेका) उम्मेदवारप्रति उच्च सम्मानपूर्वक हृदयदेखि नै साधुवाद सहितको बधाई अभिवादन जाहेर गर्नु आफ्नो परमकर्तव्य ठान्दछु ।

तर यो उज्यालो सकारात्मक सिङ्गो पाटोलाई एकातिर पञ्छाएर कतिपय अँध्यारोमा रमाउने र चकमन्न उज्यालोलाई पनि अँध्यारै देख्ने दिवान्धा (उल्लू) चरित्रका मित्रहरुले “यी पार्टीले टिकट नदिएपछि आफ्नै पार्टी नेताहरुलाई “देखाइदिने” भनेर प्राविधिक रुपमा “स्वतन्त्र” उम्मेदवारको रुपमा आफू एक्लै मतदाता सामु गई विजयी भएकाहरुप्रति हल्का फूल्का (निषेधवादी) नजरियाले हेर्ने पनि प्रशस्त देखिए । त्यस्ता मित्रहरुका मनमथिङ्गलभित्र रहेको “नानीमैया दहालको भूतले उनीहरुलाई आज पर्यन्त तर्साइ नै रहेको देखिन्छ ।” त्यसैले उनीहरुले बालेन्द्र साह लगायतको सानदार विजयलाई “नानी मैयाँ दाहालको पुनरागमन वा पुनविजर्य”को रुपमा हेरिरहेको पाएँ ।

तर यसलाई मैले “नालुकः यदि नैव पश्यति दिने सूर्यस्य किम् दूषणम्”

अथवा

फूलका आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार”
भन्ने उक्ति र गीतांशको रुपमा लिनु पर्ने ठान्दछु ।

तर पनि जसरी स्वतन्त्र उम्मेदवारी दिएर तपाई (बालेन्द्र साह) जस्ता “उल्काको रुपमा उदाएको” नव निर्वाचित नगर प्रमुख हुनुहुँदैछ । त्यसरी नै तपाई सामु कहालीलाग्दो समस्या र संकटको (चुनौतीको) “दुर्लङ्घ्य पहाड” खडा छ । त्यसलाई छिचोल्दै, निर्वाचन कालमा आममतदातालाई देखाइएका आशा विश्वासका स्वर्णिम सपना साकार पारेर देखाउन विना प्रथ प्रदर्शकको, एक्लो यात्रीले सगरमाथा चढ्नु भन्दा कठिन देखिन्छ । यस्तो निष्कर्ष दुई दशकसम्म तिनै र झण्डै यस्तै स्थानीय निकायको र नजीकमा बसी काम गरी सकेका व्यक्तिहरुको हो ।

यद्यपि अहिलेका त्यस्ता समस्या वा चुनौतिका रुप, चरित्र, समय सन्दर्भ र समाजको परिवर्तनसँगै केही रुपान्तरित भएका पनि होलान् । तथापि तिनका अन्तनिर्हित आधार र चरित्र भने अझै झ्याङ्गिएर फैलिएको र बढी जरा फैलाएको बुझिन्छ, सुनिन्छ । त्यसैले ती समस्या ठ्याक्कै यस्तै र यी यी हुन् भनेर भनिदिँदा सही पनि नदेखिन नठहरिन सक्लान् । तर पनि केही सार्वकालिक र अरुपान्तरित समस्याहरु छन् । जस्को सम्पूर्ण फेहरिस्तको सूची मात्रै बनाउने हो भने पनि महिनौं लगाएर मिहिन मेहनत गर्नुपर्ने हुन्छ । एउटा ठूलै सूची ग्रन्थ नै बनाउनु पर्ने हुन्छ ।

त्यति सब हुँदाहुँदै पनि माथि भने जस्तै सर्वव्यापी, सर्वकालीन सबै स्थानीय तहका पालिकामा जो जस्तो दलवल सहित वा स्वतन्त्ररुपमा निर्वाचित भई आए पनि अनिवार्य रुपमा सामना गर्नुपर्ने आन्तरिक र वाह्य केही प्रतिनिधि मूलक समस्या यसरी उल्लेख गर्न सकिन्छ ।

आन्तरिक समस्या

जुनसुकै स्थानीय निकाय (खास गरी महानगर र अझ काठमाण्डौं र वीरगञ्ज नगरपालिका)मा शुरु सेवा प्रवेशदेखि तीसौं चालीसौं वर्षसम्म त्यही पालिकमा जमेर बसेका प्रायः कर्मचारी या त गिरगिट (छेपारो) जस्ता ‘नेतृत्वमा आउने कोही पनि नयाँ व्यक्ति नगर प्रमुख, उप–प्रमुख, सदस्य र कार्यकारी अधिकृत’को हजूरिया बन्न चुक्ली चापलुसी गर्दा गर्दै उसै (नगरप्रमुखदेखि कार्यकारी प्रमुख अधिकृतकै) नाम वेची खाने चरित्रका चरम सडे, गले गन्हाएका होलान् । या त “यस्ता प्रमुख, हाकीम कति आए कति गए ? यस्ताले भनेको कुरा मनलागे (आशय आफूलाई फाइदा हुने भए) गरिन्छ, नभए ‘हवस्, हुन्छ, गर्छु हजूर’ गरिन्छ । उस्तै परे एउटा न एउटा अड्ङगा तेस्र्याएर आफू पन्छिने (जोगिने) काम गरिन्छ । नभए उनीहरुले भनेको वा दिएको आज्ञा आदेश एक कानले सुन्ने हो अर्काे कामले उडाउने हो” भन्ने खालका भेटिने छन् ।

अझ अहिले त ती कर्मचारी यति अनुशासनहीन भइसकेका, छाडा र कुनै (विरोधी) पार्टीको खुलेयाम पक्षधर भएर सडकमा जाने, कार्यालयको कामको नाममा सिन्को नभाँच्ने भएछन् । तर त्यस्ता भए पनि उनीहरु यति बलिया भइसकेका छन् कि “ठाडै” “तपाईले भने अनुसारको काम गर्न सक्तिन गर्दिन” के गर्नुहुन्छ ?” भनेर भन्दा पनि उस्लाई केही गर्नसक्ने स्थिति भएन, रहेनछ ।

यस्ता दुवैखाले निकृष्ट, भ्रष्ट, दुष्ट र चरम अनुशासनहीन संयन्त्रलाई या त “नियम, कानून र जायज नाजायत केही नहेरी उनीहरुको माग र चाहना पूरा गर्दै आत्मसमर्पणवादी शैली अपनाउने र केही समयपछि तिनैले असफल र वदनाम गर्ने” जोखिम उठाउनु प¥यो । या त कानून, कर्मचारी सेवा, शर्त, सुविधा सम्बन्धी नियमहरु परिवर्तन गराई उनीहरुलाई हटाउने साहसिंकता प्रदर्शन गर्नुप¥यो । तर ती दुवै बाटो “सोचे जस्तो सहज र सजिलै पार लाग्न सकिने देखिन्नन् ।

त्यसदेखि बाहेक स्थानीय निकाय सम्बन्धी मौजूदा, ऐन नियम पनि सुदूर दुर्गम ठाउँका गाउँपालिकादेखि महानगरपालिकासम्मका लागि एकै प्रकारले सञ्चालन गर्नु पर्ने अवधारणाबाट बने बनाइए जस्ता छन् । ती पनि सबै तहका पालिक प्रमुख मैत्री भन्दा नियन्त्रणकारी खालका देखिन्छन् ।

त्यस बाहेक तपाई (बालेन्द्र) जस्तो, उर्जा, जोश, जाँगर भएका र स्वच्छ निष्पक्ष भई काम गरी देखाउने पवित्र संकल्प गरेर आएका प्रमुख भए पनि वडा अध्यक्षहरु कुनै न कुनै दलबाट टिकट लिँदादेखि नै पैसाको आडवलमा विजयी भएर आएका हुन्छन् । यो खुल्ला सत्य हो । त्यस्ता वडाध्यक्षको साथ सहयोग पाउन लिन पनि वडाको विकासको नाममा उनीहरुको माग (पारदर्शी, जायज र अपरादर्शी वा अमूर्त पनि हुन सक्छन्) पूरा गर्नुपर्ने हुन्छ । त्यसको व्यवस्थापनकोे ठूलै समस्या देखिन्छ ।

त्यसमा पनि ठूला दलका रैथाने समुदायका उम्मेदवारलाई पराजित गरी विजयी भएको, स्वतन्त्र रुपमा निर्वाचित नगर प्रमुखलाई पूर्ण सहयोग गर्ने कस्ले ? तत्तत् दलका टिकटबाट आएका वडाध्यक्षलाई पार्टीका आदेश निर्देशन अनुसार चल्नुपर्ने बाध्यता हुन्छ । त्यस्ता वडाध्यक्षहरुलाई सधैं हात र साथमा लिने कसरी ? त्यस बाहेक नगर सफाई कर्मचारी, नगर प्रहरी, सुरक्षाकर्मीहरुको विग्रेको बानी व्यहोरामा परिवर्तन अनिवार्य छ । नभए नगरे तिनैले सिङ्गो कामपाप्रति नै जनघृणा पैदा गर्ने क्रम जारी राख्ने देखिन्छ । यी सबै भित्रका (आन्तरिक) समस्या हुन् । यिनलाई सुधार गर्ने कसरी ?

बाह्य समस्या

राजधानी घुम्ने दूरदराजबाट पसेका सम्पूर्ण मानिसहरुले महानगर जति दुर्गन्धित देखे र “फोहोरमाण्डु” भन्ने गरेका होलान् । आम काठमाडौंबासीले भने कामपालाई “भ्रष्टाचार, अनियमितता, चर्काे र अस्वाभाविक कर दैदस्तुरको रकम उठाएर, मनलाग्दी खर्च गर्ने” दुर्गन्धी थलोको रुपमा हेर्छन् । यस्तोमा “सडकको फोहोरको स्थायी व्यवस्थापनदेखि कामपा भित्रको भ्रष्टाचार र अपारदर्शी, अनियमितखर्च नियन्त्रण पनि निकै चुनौति पूर्ण छ, यसलाई कसरी सुधार्ने ?

नेपालमा शिक्षितदेखि शारीरिक श्रम गर्नेहरुको वेरोजगारीको समस्याले मात्र होइन । जुनसुकै निर्वाचित जनप्रतिनिधिहरुका लागि– “अदृष्ट पूर्वा वहवः सहायाः सर्वेपदस्थस्य भवन्तिमित्रा: । अर्थै विहीनस्य, पदच्यूतस्य भवत्यकाले स्वजनोपि वैरी (शत्रुः) (गरुण पुराण १०९।७”

(सत्ता र शक्तिमा पुगेका व्यक्तिका नजीक कहिल्यै नदेखे नचिनेका मान्छे पनि नाता सोझ्याउँदै वा निकै ठूलो सहयोगीको स्वाङ्ग रच्दै घेर्न आउँछन् । तर पदच्यूत भएपछि (सत्ता शक्तिबाट हटेपछि) तिनै मात्र होइनन् आफ्नै नातागोता इष्टमित्रहरु पनि विनाकारण नै शत्रु वन्न पुग्छन्)

नवनिर्वाचित नगर प्रमुख मात्र होइन, सरकार प्रमुख लगायतका लागि ती “आफन्त, घनिष्ट भित्र सहयोगी” को चित्त बुझाउने ठूलो समस्या पर्छ । तर समाधानको उपायबारे कस्तो सोच र योजना छ ?

काठमाडौं महानगरपालिकाका प्रमुखलाई निस्वार्थ उद्देश्य र सोचले राम्रा योजना, नीति, बारे सुझाव दिन चाहने विषय विज्ञहरु र महानगर पालिकाका पहिलेका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यकारी प्रमुखहरुलाई तपाई त्यस्तै रोजगारी, आर्थिक सहयोग जस्ता कुरा माग्न आउनेको भीडले घेरिएको हुनुहुने । तपाईसँग उनीहरुलाई भेट्ने नै समय हुने छैन । जबकि केही गरौं भन्ने सोच प्रमुखमा भए, आए, त्यस्ता अनुभव, विज्ञता, दूरदृष्टि (भिजन) भएका तर निः स्वार्थ र निःशुल्क प्रदान गर्न सक्नेहरुलाई खोजेर (अझ शिष्टाचार र सम्मानका लागि उनैका घर पायक पुगी) ज्ञान अनुभवको खुराक (फिडव्याक) लिनुपर्ने हुन्छ । त्यस्को स्थायी व्यवस्थापनको समस्या समाधान कसरी गर्ने ?

अझ निर्वाचनमा खटेर लागेकादेखि सबै सहयोगी, सार्वजनिक संचार माध्यमहरुसँगको घनिष्ठतालाई कसरी निरन्तरता दिने ? अनावश्यक ठाउँका, साना झीना स्वागत समारोह, बैठकहरुमा बढी समय दिइने गर्दा प्रमुखसँग समयको अभाव हुने गर्छ । सकभर त्यस्तैमा नगर प्रमुखलाई व्यस्त गराई नक्शा पास, शहरी विकास योजना जस्ता महत्वपूर्ण काम र विषयमा हतारहतारमा पास गराउने पुरानो प्रवृत्ति र संस्कृतिलाई कसरी अलविदा गर्ने ?

तर पनि उक्त तमाम समस्याहरुका पहाड छिचोल्दै, झण्डै लाखौं युवाको आशा, विश्वास जितेका र हजारौं सार्वजनिक संचार माध्यमहरुको साथ सहयोग लिए पाएका तपाई (बालेन साह)ले समाएको लठ्ठी टेकेर, स्वतन्त्रहरुकै साझा चिन्ह त्यही (लठ्ठी) बनाई निकट भविष्यमा हुने प्रतिनिधिसभाको निर्वाचनमा जाने अभियान चलाउनुभए पूर्ण विश्वास छ, तपाई नेपालको अरविन्द केजरीवालको रुपमा स्थापित हुन सफल हुनुहुनेछ । त्यो सबै सफलताका लागि पनि हार्दिक शुभकामना !

(२०७९ जेठ १० गतेको युगसम्वाद साप्ताहिकबाट)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.