काठमाडौँ उपत्यकामा ‘सम्पदा यात्रा बस सेवा’ सञ्चालन
काठमाडौँ उपत्यकामा ‘सम्पदा यात्रा बस सेवा’ सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकाका सम्पदाको दृश्यावलोकन गराउने उद्देश्यसहित आजदेखि सम्पदा यात्रा बस सेवा ‘हप अन, हप अफ’ सञ्चालनमा आएको हो ।
ललितपुरको पुलचोकमा मंगलबार आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सम्पदा यात्रा बस सेवाको शुभारम्भ गर्नुभयो । बस सेवाको शुभारम्भ गर्दै मन्त्री किराँतीले भाडा निर्धारण गर्ने काम सम्पन्न नभएका कारण एक हप्ताका लागि सेवा निःशुल्करुपमा सञ्चालन गरिने बताउनुभयो ।
मन्त्री किराँतीले लामो समयदेखि सम्पदा यात्रा बस सेवा सञ्चालन गर्ने भनिए पनि भाडा समायोजनको अझै नसकिएको बताउनुभयो । उहाँले सम्पदा यात्रा बस सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता र चेतना अगाडि गए पनि ऐन र कानुन धेरै पछि रहेको उल्लेख गर्नुभयो ।
बस भाडा समायोजन प्रदेश सरकारले गर्ने प्रावधान भए पनि सम्पदा यात्रा बस सेवा सञ्चालनको लागि भाडा निर्धारण गर्न प्रदेशसँग ऐन कानुन नभएका कारण अप्ठ्यारो परेको उहाँको भनाइ थियो । मन्त्री किराँतीले उपत्यकाको पर्यटन प्रवद्र्धनको लागि एउटा सानो प्रयास मात्रै भएको भन्दै यसको परीक्षणपश्चात् सेवा विस्तार गरिने उल्लेख गर्नुभयो । पर्यटनमन्त्री किराँतीले सम्पदा बस यात्रामा पुल्चोकदेखि नारायणहिटी दरबार सङ्ग्रहालयसम्म यात्रा समेत गर्नुभयो ।
कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले प्रदुषणमुक्त सहर बनाउने प्रयासअन्तर्गत ललितपुर महानगरले आगामी दिनमा कुनै पनि गाडी खरिद गर्दा विद्युतीय मात्रै हुने घोषणा गरेको जानकारी दिनुभयो । उहाँले गाडी खरिद गर्दा विद्युतीय मात्रै हुने महानगरको घोषणाबमोजिम आफूले चढ्ने गाडी पनि विद्युतीय नै भएको बताउनुभयो । नगरप्रमुख महर्जनले ललितपुर महानगरको भित्री सहरमा विद्युतीय सटल बस चलाउनका लागि साझा यातायातलाई महानगरले रु नौ करोड उपलब्ध गराएको बताउनुभयो ।
सम्पदा घुम्ती बसको यातायात रुटमा दैनिक दुई वटा विद्युतीय बस सञ्चालन हुने भएको छ । त्यस्तै, बस सेवा तत्कालका लागि बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म चल्नेछ । परीक्षणका रुपमा सञ्चालनमा ल्याइएको बस सेवामार्फत पाटन दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार सङ्ग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्