क्रिकेटखेल

लखनउलाई पराजित गरेसँगै पञ्जाबको आइपिएल प्लेअफको सम्भावना कायमै

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा पञ्जाबले लखनउलाई ७ विकेटले पराजित गरेको हो ।

जितसँगै पञ्जाबको लिगको शीर्ष ४ मा रहँदै प्लेअफका लागि छनोट हुने सम्भावना कायमै रहेको छ । लखनउको घरेलु मैदान ऐकना क्रिकेट रंगशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो ।

लखनउका लागि ओपनर जोस इङ्लिसले ४४ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७२ रनको अर्धशतकीय पारी खेले भने आयुष बदोनीले ४३ रन बनाए । त्यस्तै अब्दुल समाद ३७ रनमा अविजित रहँदा कप्तान रिषभ पन्तले २६ रन जोडे । पञ्जाबको लागि मार्को यानसन र युजभेन्द्र चहलले समान दुई-दुई विकेट लिए भने अजमतुल्लाह उमरजाइ र शंशाक सिंहको भागमा समान एक-एक विकेट रह्यो ।

लखनउले दिएको १ सय ९७ रनको लक्ष्य पञ्जाबले १८ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको लागि कप्तान श्रेयस अय्यरले ५१ रनमा ११ चौका र ५ छक्काको सहयोगमा अविजित रहँदै १ सय १ रनको शतकीय पारी खेले भने प्रभसिमन सिंहले ३९ बलमा ७ चौका र २ छक्काको मद्दतमा ६९ रनको अर्धशतकीय इनिङ खेले ।

यी दुईले तेस्रो विकेटका लागि १ सय ४० रनको शतकीय साझेदारी गरेका थिए । यस्तै कुपर कोनलीले १८ रन जोड्दा सुर्याशं शेडगे ९ रनमा अविजित रहे । लखनउका लागि मोहम्मद सामीले दुई विकेट लिए भने अर्जुन तेन्दुल्करको भागमा एक विकेट रह्यो । जितसँगै पञ्जाब १४ खेलमा १५ अंक जोड्दै चौथो स्थानमा छ भने समान खेलमा ८ अंक जोडेको लखनउले पुछारमा रहँदै आफ्नो यात्रा अन्त्य गरेको छ ।

पञ्जाबको प्लेअफमा पुग्न आइतबार हुने लिग चरणको अन्तिम खेलमा राजस्थान रोयल्स मुम्बई इन्डियन्ससँग र कोलकाता नाइट राइडर्स दिल्ली क्यापिटल्ससँग पराजित हुनु पर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.