मूलधारे पत्रकारिताको विश्वसनीय जोगाउनु आवश्यक
समाजिक सञ्जालको बढ्दो प्रभाव र पत्रकारहरुको विभाजित मानसिकताले नेपालको मूूलधारे पत्रकारिताको विश्वनीयता घुम्दै गएको अवस्थामा यसलाई जोगाउन पत्रकारहरु एकताबद्ध हुनुपर्नेमा जोड दिइएको छ ।
शनिबार काठमाडौंमाा आयोजित नेपाल पत्रकार महासंघ काठमाडौँ जिल्लाको २५औँ साधारणसभाका अवसरमा वरिष्ठ पत्रकार तथा सञ्चार क्षेत्रका विज्ञहरूले सो कुरामा जोड दिनुभएको हो ।
कार्यक्रममा उहाँहरूले पत्रकारले निष्पक्षता, निर्भिकता र आचारसंहितालाई आत्मसात गर्नुपर्ने धारणा राख्दै पत्रकारिताको अस्तित्व, स्वतन्त्रता र मूलधारे सञ्चारमाध्यमको विश्वसनीयता जोगाउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको हो ।
साधारणसभाको उद्घाटन गर्दै वरिष्ठ पत्रकार किशोर नेपालले पछिल्लो समयमा सामाजिक सञ्जालको प्रभाव बढे पनि पत्रकारिताको भूमिका अझै बढ्दै गएको बताउँदै पत्रकारिता पेसा मात्रै नभएर लोकतन्त्रको आधार भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “पत्रकारिताको संस्थागत अस्तित्व कमजोर हुन दिनुहुँदैन, सरकारको विज्ञापन नीति र सञ्चार माध्यमप्रतिको व्यवहार विगतदेखि नै अस्थिर रहँदै आएको छ, त्यसको विरुद्धमा निरन्तर संघर्ष गर्नुपर्छ ।”

महासंघकी अध्यक्ष निर्मला शर्माले संविधान संशोधनमार्फत अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सूचनाको हकलाई थप बलियो बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । राज्यले मिडियामाथि नियन्त्रणभन्दा नियमन गर्नुपर्ने उहाँको भनाइ छ ।
महासंघका पूर्वकार्यवाहक अध्यक्ष बाला अधिकारीले आफ्नो हकअधिकारको लागि महासंघले शसक्त भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो । महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष उम्मिदप्रसाद बागचन्दले नेपाली पत्रकारिता क्षेत्रलाई थप मर्यादित बनाउनुपर्ने धारणा राख्नुभयो ।
काठमाडौँ शाखाकी अध्यक्ष शोभा अर्यालले काठमाडौँ शाखाले प्रेस स्वतन्त्रता, संस्थागत मजबुती, पत्रकारको क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रका समस्याको समाधानका लागि सक्रिय रूपमा काम गर्दै आएको बताउनुभयो ।
काठमाडौँ शाखाका निवर्तमान अध्यक्ष सूर्य सुवेदीले नेतृत्व तहमा पारदर्शिता र खुला बहसको आवश्यकता औँल्याउनुभयो । बन्दसत्रमा सचिव रमेशकुमार बोहराले वार्षिक संगठनात्मक र कोषाध्यक्ष रामचन्द्र कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभाले संस्थाको वार्षिक संठनात्मक तथा आर्थिक प्रतिवेदन पारित गर्दै संस्थागत सुदृढीकरण, प्रेस स्वतन्त्रता र पत्रकारको पेसागत मर्यादा संरक्षणका विषयलाई प्राथमिकता दिने लगायत विषय समावेश गरी घोषणापत्र जारी गरेको छ ।




प्रतिक्रिया राख्नुहोस्