बिशेषविश्व समाचार

भारतमा भाइरल ‘कक्रोज जनता पार्टी’- डिजिटल व्यंग्य कि भविष्यको राजनीति ?

भारतको राजनीतिमा “कक्रोज जनता पार्टी”(कक्रोज)ले सिंगो देशको ध्यान खिचेको छ । सामाजिक सञ्जालहरुमा यसको लोकप्रियता यति तीव्रगति रूपमा बढिरहेको छ कि कुनै पनि सत्तारुढ भारतीय जनता पार्टी र अन्य परम्परागत राजनीतिक दलभन्दा निकै बढी छ ।

यसलाई भारतीय विश्लेषक तथा संचार माध्यमहरुले सामाजिक सञ्जालमा आधारित व्यंग्यात्मक आन्दोलनका रूपमा हेरेका छन् । विशेषतः भारतीय युवापुस्ताको निराशा, वेरोजगारी, महँगी र राजनीतिक असन्तुष्टिलाई व्यंग्यमार्फत अभिव्यक्त गरेपछि यसको प्रभाव विस्फोटक रूपमा फैलिएको हो ।

बिबिसी हिन्दी सेवाले प्रकाशन गरेको समाचार अनुसार यस समूहको लोकप्रियताको मुख्य कारण यसको ‘जेनजी भाषा’Æ हो । परम्परागत राजनीतिक भाषणभन्दा फरक, यसले हाँस्य, ट्रोल, इन्स्टाग्राम रिल्स र इन्टरनेट संस्कृतिको प्रयोग गर्दै केही दिनमै यसको इन्स्टाग्राम फलोअर्स करोडौं पुगेको छ ।

केही रिपोर्टअनुसार यसले भारतका ठूला राजनीतिक दलहरूको सामाजिक सञ्जाल पहुँचसमेत उछिनेको दाबी गरिएको छ । यो आन्दोलनको उदय भारतीय न्यायपालिका र युवासम्बन्धी विवादास्पद टिप्पणीपछि भएको बताइन्छ ।

बेरोजगार युवालाई साङ्लो अर्थात ‘कक्रोज’सँग तुलना गरिएको भनाइ सामाजिक सञ्जालमा भाइरल भएपछि युवाहरूले त्यसैलाई व्यंग्यात्मक पहिचानका रूपमा ग्रहण गर्दै ‘कक्रोज जनता पार्टी’ नामकै डिजिटल अभियान सुरु गरेका हुन् ।

भारतका प्रधानन्यायाधीश सूर्यकान्तले एक सुनुवाइका क्रममा बेरोजगार युवाहरू, पत्रकारिता र एक्टिभिज्मतर्फ लाग्ने केही व्यक्तिलाई साङ्लो जस्ता परजीवीसँग तुलना गरेको भनाइ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको हो ।

पछि प्रधानन्यायाधीशले आफ्नो टिप्पणी सम्पूर्ण युवापुस्ताप्रति नभई “नक्कली र अर्थहीन डिग्री” भएका केही व्यक्तितर्फ लक्षित रहेको स्पष्ट पारे पनि त्यसबेलासम्म उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भइसकेको थियो । त्यसपछि व्यंग्यात्मक रूपमा कक्रोज जनता पार्टी नामक अनलाइन अभियान जन्मियो ।

यो कुनै औपचारिक राजनीतिक दल होइन, बरु डिजिटल राजनीतिक व्यंग्यमा आधारित अभियान हो । यसको सदस्यता शर्त नै बेरोजगार हुनु, धेरैजसो समय अनलाइन बस्नु, आफूभित्रको आक्रोश पोख्नसक्नु जस्ता व्यंग्यात्मक विशेषतासँग जोडिएको छ । एक हप्ताभित्रै यसको इन्स्टाग्राम फलोअर्स १ करोड ७० लाखभन्दा बढी पुगेको दाबी गरिएको छ ।

राजनीतिक सञ्चार रणनीतिकार तथा बोस्टन विश्वविद्यालयका विद्यार्थी अभिजीत दीपकेले सुरुवातमा केवल मजाकका रूपमा सुरु गरेको यो अभियान अहिले एउटा सत्य उजागर गर्ने माध्यम बनेको भारतका चर्चित राजनीतिक विश्लेषक योगेन्द्र यादवको कथन छ ।

उहाँले यसलाई सामान्य इन्टरनेट ट्रेन्ड मात्र मान्न नहुने बताउँदै कक्रोज जनता पार्टी केवल हाँस्य वा ट्रोल संस्कृतिको उत्पादन नभई देशभित्र गहिरिँदै गएको युवाको निराशा, असन्तोष र अवसरविहीनताको अभिव्यक्तिका रुपमा स्वीकार्नुपर्ने बताउनुहुन्छ ।

योगेन्द्र यादवको भनाइमा अहिले भारतमा स्थापित राजनीतिक संरचनाले नयाँ पुस्ताका लागि अवसरका ढोका बन्द गरिरहेको अनुभूति बढ्दै गएको छ । यही कारण युवाहरूले आफ्नो असन्तोष परम्परागत आन्दोलन वा राजनीतिक दलमार्फत होइन, मिम, व्यंग्य र सामाजिक सञ्जालमार्फत व्यक्त गर्न थालेका छन् ।

विश्लेषकहरूका अनुसार कक्रोज जनता पार्टीको लोकप्रियताले भारतमा जेनजी राजनीतिको उदयलाई पनि संकेत गरेको छ । अहिलेको युवापुस्ता लामो भाषण, वैचारिक नारा वा परम्परागत दलभन्दा बढी छोटो भिडियो, व्यंग्य र डिजिटल भाषामार्फत राजनीतिक धारणा निर्माण गरिरहेको छ ।

यही कारण कक्रोज जस्तो व्यंग्यात्मक प्रतीकले केही दिनमै करोडौं युवालाई जोड्न सफल भएको मानिन्छ । यस घटनाले भारतमा बेरोजगारी, राजनीतिक मोहभंग र संस्थाप्रतिको अविश्वास गहिरिँदै गएको संकेत पनि गरेको छ ।

विशेष गरी शिक्षित बेरोजगार युवाहरूमा डिग्री भए पनि अवसर छैन भन्ने भावना बढ्दै जाँदा यस्ता डिजिटल आन्दोलनले सहजै लोकप्रियता पाउने वातावरण बनेको विश्लेषण गरिएको छ ।

कतिपयले यसलाई क्षणिक सामाजिक सञ्जाल ट्रेन्ड मात्र माने पनि केही राजनीतिक विश्लेषकहरू यसलाई भविष्यको डिजिटल राजनीतिक विद्रोहको संकेतका रूपमा हेर्छन् ।

उदाहरण दिँदै यादव भन्नुहुन्छ जब सत्ता अत्यधिक शक्तिशाली बन्छ र संस्थागत मार्गहरू बन्द हुन थाल्छन्, तब जनताले नयाँ प्रकारको प्रतिरोध जन्माउँछन् ।

उहाँका अनुसार सन् १९७१ मा इन्दिरा गान्धीको ठूलो चुनावी विजयपछि १९७४ मा जयप्रकाश आन्दोलन सुरु भयो । त्यसै गरी १९८० मा राजीव गान्धीको शक्तिशाली बहुमतपछि १९८३ मा असम आन्दोलन उठ्यो । २००९ को चुनावी सफलतापछि २०११ मा अन्ना हजारे आन्दोलन भयो भने २०१९ को चुनावपछि केही वर्षमै किसान आन्दोलन चर्कियो ।

उहाँको तर्कमा, जब राज्य व्यवस्था र राजनीतिक संरचनाले असन्तुष्टि व्यक्त गर्ने परम्परागत बाटाहरू कमजोर बनाउँछन्, तब जनता नयाँ माध्यम खोज्न बाध्य हुन्छ । अहिले कक्रोज जनता पार्टीको उदय पनि त्यही प्रकारको डिजिटल प्रतिरोधको संकेत हुनसक्ने विश्लेषण गरिएको छ ।

विश्लेषक यादवले सिजेपीको एक्स अकाउन्टमाथि लगाइएको प्रतिबन्धलाई पनि अर्थपूर्ण घटनाका रूपमा लिनुभएको छ । उहाँका अनुसार अधिनायकवादी प्रवृत्तिका सरकारहरूलाई सबैभन्दा बढी डर व्यंग्य र चुट्किलाबाट हुन्छ ।

उहाँ भन्छन्, “जुन सरकारले चुट्किला सहन सक्दैन, अन्ततः त्यो आफैं चुट्किला बन्न पुग्छ ।” यदि यो अभियानलाई प्रतिबन्ध नलगाइएको भए सम्भवतः केही समयपछि सामाजिक सञ्जालको सामान्य ट्रेन्डझैं सेलाउन सक्थ्यो । तर प्रतिबन्धले उल्टै यसलाई थप चर्चित बनाएको र युवाहरूमा सत्ता असहिष्णु बन्दै गएको सन्देश पुगेको तर्क गरिएको छ ।

अर्को प्रश्न पनि उठिरहेको छ— के यो केवल सामाजिक सञ्जालमा सीमित क्षणिक आक्रोश मात्र हो ? किनकि धेरैजसो अवस्थामा इन्टरनेटमा व्यक्त भएको असन्तोष वास्तविक राजनीतिक परिवर्तनमा रूपान्तरण हुन सक्दैन । मानिसहरूले पोस्ट, मिम वा टिप्पणीमार्फत आफ्नो रिस पोख्छन्, तर सडक वा संस्थागत राजनीतिमा त्यसको प्रभाव न्यून रहन्छ ।

तर केही विश्लेषकहरू भने यसलाई सामान्य ‘भर्चुअल आक्रोश’ भन्दा गहिरो सामाजिक संकेतका रूपमा हेर्छन् । उनीहरूका अनुसार भारतमा बेरोजगारी, महँगी, राजनीतिक ध्रुवीकरण र अवसरको अभावले युवामा बढ्दो निराशा सिर्जना गरेको छ । यस्तो अवस्थामा कुनै पनि सानो प्रतीक, व्यंग्य वा डिजिटल अभियान ठूलो असन्तुष्टिको माध्यम बन्न सक्छ ।

यसैले कक्रोज राजनीति अहिले केवल इन्टरनेट मजाकको विषय मात्र नभई भारतमा बदलिँदो राजनीतिक संस्कृति, डिजिटल प्रतिरोध र युवापुस्ताको मनोविज्ञान बुझ्ने एउटा नयाँ संकेतका रूपमा हेरिन थालेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.