सेन्ट लरेन्स कलेजका दुई शिक्षक हिरासतमा
छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेका काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका दुईजना शिक्षक हिरासत पुगेका छन् ।

जिल्ला अदालत, काठमाडौंले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा अनुसन्धानका लागि दुई शिक्षकलाई हिरासतमा राख्न अनुमति दिएको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीका अनुसार कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेलविरुद्ध अनुसन्धानका लागि अदालतले अनुमति दिएपछि अब विस्तृत छानविन सुरु हुनेछ ।
मंगलबार दुई शिक्षकविरुद्ध विद्यार्थीले कलेजमा नारावाजी र प्रदर्शन नै गरेका थिए । उनीहरुले ‘आफूहरुसँग नजिक भए कलेजको शूल्क’ तिर्नुनपर्ने भन्दै प्रलोभन देखाएको विद्यार्थीहरुको आरोप छ ।
प्रहरी वृत्त, गौशालाका एक अधिकृतका अनुसार कहिले लगाएको लुगाप्रति अभद्र कमेन्ट गर्ने त कहिले बेड पार्टनर बन्न नै म्यासेज गर्ने गरेको देखिएको छ । आफूले भनेअनुसार इच्छाहरु पूरा गरिदिए सबै थोक गरिदिन्छु भनेर प्रलोभन समेत देखाएको पाइएको छ ।
सामाजिक विषय समेत पढाउने कोअर्डिनेटर अधिकारीले त ‘आफ्नो एक साइनले रेस्टिकेट’ हुने भन्दै विद्यार्थीहरुलाई धम्की पनि दिने गरेको विद्यार्थीहरुको भनाइ छ ।
कलेजमा भएको प्रदर्शन नियन्त्रण बाहिर जाने परिस्थिति देखिएपछि कलेज प्रशासनले पनि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले गौशालामा अभिभावक, प्रशासन र शिक्षक बोलाएर घटनाबारे जानकारी लिएको थियो ।
प्रहरी वृत्त, गौशालाका डीएसपी केशव भट्टराईका अनुसार छलफल गराउँदा विद्यार्थीलाई दुर्व्यवहार गरेको देखिएको र तीन जना विद्यार्थीले किटानी जाहेरी पनि दिएपछि दुई शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका हौं ।
कलेजका एक विद्यार्थीका अनुसार अहिले चर्चामा आएको घटना तत्कालको होइन । एक महिना अघि नै यस विषयमा कलेज प्रशासनलाई जानकारी गराइएको थियो । तर कलेजले शिक्षकलाई कारबाही गरेको थिएन ।
प्रतिक्रिया राख्नुहोस्