हिमालयशमशेरलाई जापानको उच्च श्रेणीको अवार्ड
जापान सरकारले नेपाल राष्ट्र बैङ्कका पहिलो गभर्नर हिमालयशमशेर जबरालाई उच्च श्रेणीको अवार्ड प्रदान गरेको छ । यो अवार्ड जापान सरकारले प्रदान गर्ने उच्च श्रेणीको सम्मानअन्तर्गत दोस्रो श्रेणीको सम्मान हो ।
जबरालाई ‘द अर्डर अफ जापान’अन्तर्गत ‘द अडर अफ द राइजिङ सन’को ‘गोल्ड एन्ड सिल्भर’ अवार्ड प्रदान गरिएको हो । जापान सरकारले यो अवार्ड अन्तर्राष्ट्रिय सम्बन्धमा विशिष्ट उपलब्धि हासिल गरेका व्यक्तिका साथै आफ्नो मुलुकमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिन्छ ।
काठमाडौंँमा मङ्गलबार आयोजित कार्यक्रममा जबरालाई नेपालका लागि जापानी राजदूत युताका किकुताले अवार्ड प्रदान गर्नुभएको हो ।
अवार्ड ग्रहण गर्दै जबराले नेपाल राष्ट्र बैङ्कको पहिलो गभर्नरको हैसियतमा आफूले गरेको कामबापत जापान सरकारले ‘द अर्डर अफ जापान’ प्रदान गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
यो अवार्ड नेपाल राष्ट्र बैङ्कलाई समर्पित गर्ने उहाँले जानकारी दिनुभयो । जबराले गभर्नर हुँदा जापानमा नेपालको येन अकाउन्ट खोल्नुभएको थियो ।
त्यसैका कारण नेपाल–जापानको विनिमयमा सहजता पैदा हुँदा दुई देशको आर्थिक सम्बन्ध विकास भएको थियो । जबराको पालमा खोलिएको येन अकाउन्ट अहिलेसम्म पनि जापानको राष्ट्रिय बैङ्कमा छ ।
प्रतिक्रिया राख्नुहोस्