जन सरोकार

सोती हत्या काण्ड : गृहले बनायो छानबिन समिति, वडाध्यक्षसहित १२ जना पक्राउ

जाजरकोटबाट आफ्नी प्रेमिका लिन रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती पुगेका युवाहरुलाई गाउँलेले कुटपिट गरी हत्या गरेपछि यसको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको कुटाइबाट जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यू भएको छ भने गाउँलेको आक्रमणपछि जाजरकोट र रूकुम पश्चिमको सीमामा पर्ने ठूली भेरी नदीमा हाम फालेकामध्ये तीन गणेश बुढामगर र टिकाराम सुनारको शव फेला परेको छ  भने गोविन्द सुनार, सञ्जु विक र गोविन्द साही अझै बेपत्ता छन् ।

सो घटनाको देशभरका दलित समुदायले विरोध गरिहेका छन् । नवराज विक र चौरजहारीका टीकाराम सुनारको मृत्यु भएपछि देशभरका दलित समुदाय आक्रोसित बनेका छन् ।

घटनाले उग्ररुप लिने संकेत गरेपछि सत्यतथ्य छानबिन गरी प्रतिवेदन दिनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको गृहमन्त्री रामबहादुर थापाले मंगलबार राष्ट्रियसभा संसदमा घटनाबारे जानकारी गराउँदै बताउनुभएको हो ।

मन्त्री थापाले दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा भएको घटनाबारे छानबिन गर्नका लागि समिति गठन भएको संसदलाई जानकारी गराउनु भएको हो ।

उक्त छानबिन समितिमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, महान्यायाधीवक्ताको कार्यालयका प्रतिनिधि र गृहका उपसचिव रहने गरी समिति गठन गरेको बताउनुभयो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट नेपाल दलित मुक्ति संगठनले सो घटनामा दोशी रहेका सबैलाई कानुनी दायरामा ल्याउन माग गरेको छ भने विभिन्न राजनीतिक पार्टी र संघ संस्थाले सो घटनाको निन्दा गरिरहेका छन् ।

गृहमन्त्री थापाले राष्ट्रिय सभाको मंगलबारको बैठकमा कानुनी राज्य स्थापना गर्नेमा सरकार दृढ रहेको बताउँदै घटनामा संलग्न युवती, युवतीका आमाबुबा, वडा अध्यक्षसमेत १२ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिद जोसुकै भएपनि कानुनी कारबाही गरिने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.