नागढुङ्गा सुरुङमार्ग : आउँदो डेढ वर्षभित्रमा गाडी चल्ने
राष्ट्रय गौरबको आयोजना नागढुङ्गा सुरुङमार्गमा आउँदो डेढ वर्षभित्रमा गाडी चलाउन मिल्ने गरी निर्माणकार्य भैरहेको आयोजनाले जनाएको छ ।

शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले गरेको सुरुङमार्गको अनुगमनका क्रममा सो जानकारी दिइएको हो ।
सो क्रममा मन्त्री ज्यावाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिनुभएको थियो । सुरुङमार्गको मुख्य टनेल छ सय मिटर र रेस्क्यु टनेल दुई सय मिटर खन्न बाँकी छ ।
आउँदो दशैँसम्म मुख्य टनेल जोडिसक्ने र रेस्क्यु टनेल छिट्टै जोड्ने तयारी छ । आउँदो डेढ वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको सुरुङमार्गको कन्सल्ट्यान्टतर्फका इञ्जीनियर रमेश कोइरालाले जानकारी दिनुभयो ।
सुरुङमार्गको २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो । यसको लम्बाइ दुई दशमलव ६८ किलोमिटर छ । यहाँ नौ मिटर र चार मिटरका दुई सुरुङ निर्माण भइरहेका छन् ।
कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि एक वर्ष थपिएको हो । उक्त टोलीले आजै नागढुङ्गा–मुग्लिन सडक विस्तार आयोजनाको कामका बारेमा समेत स्थलगत अनुगमन गरिरहेको छ ।
टोलीले मुग्लिनसम्म पुगेर सडकको अवस्थाबारे जानकारी लिने बताइएको छ । अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको समेत सहभागिता रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्