बालेनलाई चेतावनी दिंदै सडक डिभिजन कार्यालयले भन्यो– ‘अराजक गतिबिधि नगर्नू’
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई अराजक गतिबिधि नगर्न सडक डिभिजन कार्यालय काठमाडौँले चेतावनी दिएको छ । शनिबार राति एक विज्ञप्ति निकाल्दै सडक डिभिजन कार्यालयले मेयर बालेनलाई यस्ती चेतावनी दिएको हो ।

मेयर बालेनले शनिबार साँझ ‘एक ट्रक धुलो उपहार’ पठाएको भन्दै सडक डिभिजन कार्यालय काठमाडौँ अघि धुलो खन्याएका थिए । सडक डिभिजनले काठमाण्डौ महानगरको कदमलाई अराजक व्यवहार भन्दै विभागको अनुमतिबिना सडकको चौडाइ घटाउने काम गरेको र त्यसमा रोक लगाउँदा विषयान्तर गरेर रिङरोडको विषयलाई जोडेको डिभिजन कार्यालयले स्पष्टीकरण पनि दिएको छ ।
शनिबार साँझ मेयर बालेनले समाजकी सञ्जालमा असन्तुष्टि पोख्दै विगत १५ वर्षदेखि काठमाडौँका जनताले कलङ्कीदेखि महाराजगन्जसम्म रिङ रोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको उनको तर्क थियो । यसले गर्दा काठमाडौँ महानगरले अकारण गाली खानु परेको बताए ।
‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईँ काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईँलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्विकार्नुहोला,’ उनले लेखेका थिए ।
सडक डिभिजन कार्यालय काठमाडौँले शनिबार बिहान न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक खण्डमा खण्डमा सडक डिभिजनको अनुमति बिना सडकको विद्यमान क्यारिजवे घटाउने उद्देश्य अनुरूप सडकको दुवैतर्फ पिच कटर प्रयोग गरी कटिङ गरिरहेको भन्दै उक्त काम रोक्न लगाएको थियो । साथै डिभिजनले मेसिन नियन्त्रणमा लिएर राखेको थियो ।
सडक डिभिजनले विज्ञप्तिमा भनेको छ: ‘आज मिति २०८१।०२।१२ गते शनिवार करिब १२ बजे न्यूरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा बिना अनुमति सडक काटी सडकको चौडाइ घटाउने कार्यमा महानगरपालिका लागेको बखत बिना अनुमति सडक काटेर साँघुरो बनाउन नहुने भनी सडक डिभिजनबाट सो कार्यमा रोक लगाइएको विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाई गरिएको यस किसिमको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याई यस सडक डिभिजनको रहेको छ ।’
डिभिजन कार्यालयले काठमाडौँले मिनभवन स्थित कार्यालयको गेटमा महानगरपालिकाको मिनी टिप्परबाट कार्यालय परिसर छिर्न समेत अवरोध हुने गरी फोहोर फालिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने डिभिजनको भनाई छ ।
डिभिजनका अनुसार शुक्रवार मात्र काठमाडौँ महानगरपालिकाका मेयर तथा यस डिभिजनका डिभिजन प्रमुख बिच महानगर भित्रका सडक सुधारका विविध विषयमा छलफल भई नियम बमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाई महानगर भित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउने विषयमा छलफल भएको भन्दै कार्यालयले आफ्नो अधिकारक्षेत्रभित्र नपर्ने विषयलाई लिएर अराजक गतिविधि गरे प्रतिवादमा उत्रिने चेतावनीसमेत दिएको छ ।
विज्ञप्ति –
प्रतिक्रिया राख्नुहोस्