जन सरोकार

सहायकरथी केसीको कोभिड–१९ सङ्क्रमणबाट निधन

रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट एकाघरका तीन जनाको मृत्यु

नेपाली सेनाका सहायकरथी दिनेश केसीको निमोनियासहित कोभिड–१९ संक्रमणबाट निधन भएको छ । छाउनीस्थित वीरेन्द्र अस्पताल उपचार गराइरहनुभएका केसीको बिहिबार बिहान निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले पुष्टि गरेको छ ।

सेनाको १३ नं बाहिनी अड्डाका बाहिनीपति केसी केही समयअघि मात्रै बङ्गलादेशबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) पूरा गरी फर्कनुभएको हो । करिब ३२ वर्ष सैनिक सेवामा योगदान पुर्याउनुभएका काठमाडौँ निवासी उहाँको पशुपति क्षेत्रमा अन्त्येष्टि गरिएको सेनाले जनाएको छ । उहाँका श्रीमती र दुई छोरी हुनुहुन्छ ।



यसैबीच सेनामा हाल कोरोना सङ्क्रमण भई उपचारमा रहेका सक्रिय बिरामीको सङ्ख्या ४२४ रहेको जानकारी दिइएको छ । कोभिड–१९ बाट हालसम्म छ सैनिकको निधन भइसकेको छ ।

उता रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट एकाघरका तीन जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका –१० कालिकानगरमा रहेका बुवा,आमा र छोराको मृत्यु भएको हो । एक हप्ताको अन्तरालमा ६९ वर्षिय पुरुष, उहाँका ५९ वर्षीया श्रीमती र ३९ वर्षका छोराको मृत्यु भएको वडाध्यक्ष पदमबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाबु छोराको उपचारका क्रममा भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा र आमाको होम आइसोलेशनमा बसिरहेका बेला मृत्यु भएको हो । सङ्क्रमणबाट यही जेठ ५ गते आमा, जेठ ७ गते छोरा र जेठ १२ गते बुवाको मृत्यु भएको हो । घरकी बुहारीलाई पनि सङ्क्रमणका कारण बुटवलको एन्फा टेक्निकल सेन्टरको आइसोलेशनमा राखिएको र परिवारमा भएको घटनाबारे अझै थाहा नदिइएको वडाध्यक्ष थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button