बर्दिबास नगरप्रमुख चढ्ने गाडी अब ‘एम्बुलेन्स’
महोत्तरीको बर्दिबास नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले नगरपालिकाको सरकारी गाडी आफ्नो सवारीमा प्रयोग नगर्गे र नगरप्रमुखले प्रयोग गर्दै आएका सरकारी गाडी बिरामी बोक्ने ‘एबुलेन्स’ बनाउने घाेषणा गर्नुभएको छ ।
बिहीबार पदभार ग्रहण गर्दै उहाँले आफूले निजी सवारी नै प्रयोग गर्ने बताउँदै भन्नुभयो “यसअघि नगरप्रमुखले प्रयोग गर्दै आएको सरकारी गाडी अब विपन्न वर्गका असाहय, बिरामीलाई अस्पताल पुर्याउन प्रयोग गरिने छ” ।
यस्तो सेवा पाउने बिरामी वडा समितिबाट विपन्न वा असहाय भएको सिफारिस भने भएको हुनपर्ने नगरपालिकाले जनाएको छ । सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र समूह नै बनाएर प्रतिस्पर्धामा ओर्लनुभएका क्षेत्रीकै समूहबाट उपप्रमुख तारादेवी महतो र वडा नं १, ७, १३ र १४ मा वडाध्यक्षसमेत निर्वाचित भएका छन् । वडा नं १ बाट त अध्यक्ष तथा सदस्यसहित पाँचै स्वतन्त्र समूहका निर्वाचित भएका छन् ।
नवनिर्वाचित प्रमुख क्षेत्रीले बर्दिबास अस्पतालको सेवालाई बढाउँदै प्रसूति सेवा प्रभावकारी बनाउने, गर्भवतीको नियमित स्वास्थ्य जाँच गराउने र अस्पतालमा सुत्केरी गराइँदा सरकारले दिँदै आएको यातायात खर्चमा थप रु एक हजार बढाएर उपलब्ध गराउने घोषणा पनि गर्नुभएको छ ।
सरकारले हिमाली, पहाडी र तराई जिल्लामा बसोबास गर्ने महिलाका लागि अस्पतालमा सुत्केरी गराइँदा क्रमशः रु तीन हजार, दुई हजार र एक हजार यातायात खर्च उपलब्ध गराउँदै आएको छ ।
जिल्लामा नवनिर्वाचित नगरप्रमुख र गाउँपालिका अध्यक्षहरूले पदबहालीका क्रममा जनताका लागि सुविधा बढाउने घोषणाको लहर नै चलेको छ ।
प्रतिक्रिया राख्नुहोस्