राजनीति

मटिहानीमा ११ कक्षाका सबै छात्रालाई साइकल

महोत्तरीको मटिहानी नगरपालिका प्रमुखमा पुनः निर्वाचित हरिप्रसाद मण्डलले आफ्नो दोस्रो कार्यकालको पदबहाली गर्दै भावी योजना सार्वजनिक गर्नुभएको छ ।

उहाँले आगलागी नियन्त्रण प्रयोजनका लागि दमकल किन्ने र छोरी शिक्षालाई थप प्रभावकारी बनाउन नगर क्षेत्रका विद्यालयमा अध्ययनरत ११ कक्षाका सबै छात्रालाई साइकल उपलब्ध गराउने घोषणा गर्नुभयो ।

“मधेसमा गर्मीयाममा आगलागीका घटना बाक्लै हुँदै आएका छन्, जिल्लामा जलेश्वर नगरपालिकासँग मात्र दमकल छ, तसर्थ जिल्लाभरि नै सेवा दिन सकिने गरी दमकल किन्ने निर्णय गरेका छौँ”, नगरप्रमुख मण्डलको भनाइ छ ।

यसैगरी उच्च शिक्षामा छोरीको पहुँच बढाउन ११ कक्षाका छात्रालाई साइकल दिइने उहाँले बताउनुभयो । यसअघि मटिहानीका कक्षा ८ देखि १० सम्मका छात्राले मधेस प्रदेश सरकारको ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रमअन्तर्गत साइकल प्राप्त गरिसकेका छन् ।

जिल्लाभरि नै नवनिर्वाचित जनप्रतिनिधिले जनताका लागि जनाउँदै सुविधा घोषणा गरिनु सकारात्मक पक्ष भए पनि यस्तो घोषणापूर्व जनअपेक्षा, स्थानीय तहको आर्थिक सामथ्र्य र घोषणा गरिने विषयको प्रभावकारिताबारे गहन अध्ययन गरिन आवश्यक रहेको बुद्धिजीवीले औँल्याएका छन् ।

“जनताका लागि सुविधा बढाउन भएका घोषणा सकारात्मक नै होलान्, तर जनताले तत्काल चाहेका चाहिँ के हो ? अपेक्षा सङ्कलन गरेको भए बेस हुन्थ्यो”, भङ्गाहा–३ का बासिन्दा समाजशास्त्री शिवराज दाहाल भन्नुहुन्छ, “स्थानीय तहले यस्ता घोषणा गर्नुअघि आर्थिक स्रोत बढाउन योजना बनाउनतिर ध्यान दिन भने जरुरी छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.