स्वास्थ्य

नेपालका लागि स्वास्थ्य सामग्री बोकेर बेलायतबाट उड्यो विमान

संयुक्त अधिराज्य (बेलायत) सरकारले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोध बमोजिम २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको छ ।

लण्डनस्थित नेपाली दूतावसले दिएको जानकारी अनुसार बिहीबार अपराह्न सामानसहित बेलायतबाट विमान पठाइ सकिएको बताईएको छ। गैरआवासीय नेपाली सङ्घ यूके तथा नेपाली राजदूतावासको समन्वयमा १० वटा अक्सिजन कन्सन्ट्रेटर पनि सोही विमानबाट नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राप्त गर्ने गरी पठाईएको दूतावासले जनाएको छ ।



अत्यावश्यक मेडिकल सामग्रीहरु तथा खोपमा संयुक्त अधिराज्य सरकारको सहयोगका लागि लण्डनस्थित राजदूतावासले पहल गरिरहेको र त्यसका लागि विशेष गरी द्विपक्षीय सहयोग अथवा कोभ्याक्सअन्तर्गत यथाशीघ्र खोप उपलब्ध गराउने विषयमा राजदूत लोकदर्शन रेग्मीले बेलायतका परराष्ट्र राज्यमन्त्री तथा रक्षामन्त्रीसँग शिष्टाचार भेट गरी अनुरोध गरेको दूतावासले उल्लेख गरेको छ ।

अत्यावश्यक सहयोग सामग्री खोप जुटाउनका लागि बेलायती सरकार, बेलायती संसद्का सदस्यहरु, गैरआवासीय नेपाली सङ्घ, विभिन्न नेपाली सङ्घसंस्थाहरु तथा बेलायती गैर सरकारी च्यारिटी संस्थासँग भेटघाट, छलफल तथा समन्वय भैरहेको र केही समयमा परिणाम आउने राजदूत रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button