जन सरोकार

पुतलीबजार र गल्याङमा वृद्ध भत्ता घर–घरमै

स्याङ्जाको गल्याङ नगरपालिकाले वृद्ध भत्ता अब घर–घरमै पुगेर वितरण गर्ने भएको छ । पालिकाका विभिन्न वडामा रहेका वृद्धवृद्धाहरूलाई गल्याङ बजारसम्म आउनुपर्दा समस्या हुने र लाइन बस्नुपर्दा सास्ती भएको भन्दै घर घरमै पुगेर वितरण गर्ने निर्णय गरेको हो ।

नगरस्थित बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त बैठकले नगरपालिकाका कर्मचारी र बैंकका कर्मचारीको संयुक्त पहलमा घर–घरमै पुगेर वितरण गर्ने तयारी गरिएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभयो ।

“वृद्ध भत्ता बुझ्न गाउँगाउँबाट बजारमा रहेका बैंकमा आउँदा वृद्धवृद्धालाई झनै सास्ती भएको गुनासो आउने थालेपछि बैँकका कर्मचारी र नगरपालिकाका कर्मचारीहरूनै घर–घरमा पुगेर वितरण गर्ने तयारी गरेका हौँ”, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसबाट विजयी हुनुभएका प्रमुख भट्टराईले आफ्नो चुनावी घोषणापत्रमा घर–घरमै वृद्धभत्ता दिने उल्लेख गर्नुभएको थियो । घोषणापत्रमा उल्लेख गरे बमोजिम नै बैंक तथा वित्तीय संस्थाहरूको समन्वय र सहकार्यमा कार्यान्वयनमा अगाडि बढेको उहाँले बताउनुभयो ।

त्यस्तै पुतलीबजार नगरपालिकाले पनि वृद्धवृद्धालाई बैंकसम्म आएर वृद्ध भत्ता बुझ्नुपर्दा समस्या भएको भन्दै घरमै पुगेर वितरण गर्ने तयारी थालेको छ ।

ग्रामीण भेगदेखि बजारमा रहेको बैंकसम्म आउँदा जाँदा सवारीसाधनको समस्या र बैंकमा आएर लामो समय लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्यका लागि घरमै पुगेर वितरण गर्ने तयारी गरेको नगरप्रमुख तुल्सीराम रेग्मीले बताउनुभयो ।

घरमै पुगेर वितरण गरेपछि समय र खर्चमा पनि वचत हुनाका साथै सहज हुने भएकाले घरबाटै वितरण गर्ने तयारी थालिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button