नयाँ चुनौति- मानिसबाट जनावर हुँदै अब हावाबाट संक्रमण
नेपाल जस्ता वैदिक संस्कृतिको अभ्यास भैरहेको मुलुकले पो कोरोनाको औषधि विकास गर्न सक्छ कि !
अघिल्लो वर्षको सुरुवातमै चीनको वुहानमा चमेरोबाट मानिसमा संक्रमण भएको अनुमान गरिएको कोरोना भाइरस संक्रमणको विश्वव्यापी त्रास घटेको छैन । कहिले सुस्त र कहिले अति आक्रामक भएर फैलने कोरोनाको नयाँ प्रजातिको संक्रमणपछि यो हावाबाट पनि पर्ने गरेको तथ्य पत्ता लाग्यो ।

विश्वका वैज्ञानिकहरुले कोरोना मानिसबाट मानिसमा मात्र सर्ने दावी गर्दै आइरहेका बेला अघिल्लो वर्ष अमेरिकामा मानिसबाट जनावरमा सरेको पाइयो । अमेरिकाको एउटा चिडियाखानाको बाघमा कोरोना संक्रमण भएको थियो । त्यसको केही समयपछि सयभन्दा बढी वैज्ञानिकहरुले कोरोना हावाबाट पनि सर्ने तथ्यसहितको रिपोर्ट विश्व स्वास्थ्य संगठनलाई बुझाए । तर यो तथ्यलाई हावादारी मानियो । तर नयाँ भेरियन्टको कोरोना हावाबाट पनि फैलिएको भियतनाममा पत्ता लाग्यो ।
कोरोना संक्रमणबाट अति प्रभावित अमेरिकी सहर न्युयोर्कस्थित ब्रोन्स चिडियाखानामा रहेको एक चार वर्षको मलायन पोथी बाघमा कोरोना भाइरस ‘पोजिटिभ’ पाइएको थियो । आयोवास्थित राष्ट्रिय भेटेरिनरी सेवाको प्रयोगशालाले बाघमा कोरोना भाइरसको संक्रमण पुष्टि गरेको थियो । सो बाघमा चिडियाखानामा काम गर्ने व्यक्तिबाट बाघमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको थियो ।
कोरोना संक्रमणको तीन चरण हुन्छन्, पहिलो चरणमा एक व्यक्तिमा सर्ने, त्यसपछि उबाट अर्को स्थानको व्यक्तिमा र त्यसपछि स्थानीयमा संक्रमण फैलिन सुरु गरेपछि यसले महामारीको रुप लिएको छ । यसको रोकथाम भनेको मानिस-मानिसबीचको सम्पर्क टुटाउनु नै हो । एक अध्ययनले के देखाएको छ भने मानिसहरुको सम्पर्क बिच्छेद गर्ने हो भने ८० प्रतिशत संक्रमण दर कम गर्न सकिन्छ ।
एक वर्ष अघि नै कोरोना संक्रमणको नयाँ लहर सुरु हुनसक्ने र त्यो भयावह हुने चेतावनी दिइएको थियो । वैज्ञानिकहरुले कोरोना तेस्रो चरणको संक्रमणमा पुगे यसलाई रोक्न निकै कठिन हुने बताइरहँदा नयाँ भेरियन्ट नै सुरु भयो । बेलायतबाट सुरु भएको कोरोनाको नयाँ प्रजातिको संक्रमण अहिले विश्वका धेरै मुलुकमा पुगिसकेको छ । जब विश्वमा कोरोना बिरुद्धको खोप प्रयोगमा आउन थाल्यो तब कोरोनाको नयाँ प्रजाति देखापर्नु र खोप लगाएका व्यक्ति संक्रमित भएको तथा मृत्यु समेत भएको खबर आउनु दुःखद पक्ष हो ।
अहिले कोरोनाको नयाँ प्रजाति र हावाबाट समेत सरेको तथ्य पत्ता लाग्दा नेपाल यसको सर्वाधिक ठूलो मारमा छ । संक्रमण रोक्न र संक्रमितहरुको उपचारमा नेपालमा जेजस्तो गरियो त्यो पर्याप्त थियो वा थिएन यसको बहस अहिले आवश्यक छैन । तर विगमा गरिएको जस्तै उपाय र योजनाले पुग्छ ? नेपालमा जे भैरहेको छ क्षमता अनुसार ठीकै हो भन्न सकिन्छ तर हामीले कोरोना महामारीलाई झाडापखाला जस्तो ठान्ने गल्ती गरेकै हो । यसैको परिणाम अहिले समुदायमा फैलिन पुगेको छ ।
बुझ्नुपर्ने कुरा के हो भने कोरोना बिरुद्धको खोप प्रयोगमा आएसंगै नयाँ प्रजातिको कोरोना देखापर्नु र यसअघिको भन्दा शक्तिशाली भएको पाइनु मानव समाजका लागि नयाँ चुनौति हो । यो चुनौति पार गर्न सानोतिनो तयारीले पुग्दैन । अरुको भर परेर मात्रै केही हुँदैन । हाम्रा अनुसन्धाताहरुलाई यसमा अनुसन्धान गर्न लगाउन ढिलाई नगरौं ।
हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानका प्रा.डा. ललितकुमार दासले कोरोना बिरुद्धको खोपको नमूना तयार पारेर विश्व स्वास्थ्य संगठनबाट समेत थप अनुसन्धान गर्ने अनुमति पाए । तर सरकारले कुनै चासो दिएन । के त्यस्ता अध्ययनहरुलाई अघि बढाउने समय अझै नआएको हो र ?
कोरोना महामारी फैलिएपछि आधुनिक विज्ञानले यसको निरुपण गर्न नसकेका बेला हाम्रा गाउँघरका झारपाट र वनस्पति, जडिबुटीको सेवनलाई उच्च प्राथमिकता दिइयो, अहिले पनि यो क्रम जारी छ भने अब त्यस्तो आविष्कारहरुलाई थप अनुसन्धानका लागि किन प्राथमिकता नदिने ? सायद नेपाल जस्ता वैदिक संस्कृति, अभ्यास र परम्परागत ज्ञान दर्शनको अभ्यास भैरहेको मुलुकले पो कोरोना निमिट्यान्न पार्ने औषधिको विकास गर्न सक्छ कि ? खोपको प्रयोगसंगै कोरोनाको नयाँ प्रजातिको जन्मले हामी जस्ता मुलुकलाई पो लाभ दिन्छ कि ?
प्रतिक्रिया राख्नुहोस्