जल/वातावरण

सुन्दर हिमाली क्षेत्रमा पनि फोहरको समस्या

पर्यावरणीय तथा जनजीविकाका हिसाबले अति महत्वपूर्ण हिमाल तथा उच्च पाटनहरु अनियन्त्रित मानवीय गतिविधिका कारण जोखिममा पर्दै गएको देखिएको छ । वर्षेनी बढ्दै गएको मानवीय अनियन्त्रित क्रियाकलापका कारण देशका सुन्दर हिमाली क्षेत्रको विकासभन्दा विनाश बढ्ने गरेको पाइएको छ ।

जाजरकोट, डोल्पाका उच्च भागमा रहेका विभिन्न पाटन तथा हिमालको काखमा जडीवुटी सङ्कलनका साथै जथाभावी वस्ती बसाउने होडबाजीका कारण यहाँको सौन्दर्य नै गुम्ने खतरा बढेको हो ।



बढ्दो मानवीय गतिविधिले फोहरको डंगुर थुप्रिनुका साथै त्यहाँ रहेका जंगली जनावरमा समेत प्रभाव देखिएको छ । यी क्षेत्रहरुका विविधताको संरक्षणभन्दा सङ्कलन कार्य बढी हुँदा जडीबुटी उत्पादनमा कमी आएको स्वयं सङ्कलनकर्ताहरु नै बताउछन् । हाम्रा क्रियाकलापले थाहा पाएका अर्थात् हामीले चिनेका जडीबुटी दैनिक मासिँदै गएका छन्, तर हामीले नचिनेका औषधीय मूल्य बोकेका जडिवुटी समेत बिनास भइरहेका छन् भन्नुहुन्छ वातावरण विषयमा कलम चलाउँदै आएका सञ्चारकर्मी प्रभात चलाउने ।

उहाँ भन्नुहुन्छ, “हाम्रा उच्च तथा हिमाली भागमा जडीबुटीको भण्डार छ, हामीले थाहा पाएकोभन्दा पनि थाहा नपाएका जडीबुटीको सङ्ख्या बढी भए पनि अनुसन्धान नहुँदा मासिने क्रम बढिरहेको छ । हामीले सधै सङ्कलनलाई मात्र ध्यान दिएका छौँ तर संरक्षणका लागि ध्यान दिएको पाइँदैन ।”

पाँच वर्षअघिसम्म हिउँले सेताम्य देखिने हिमालहरुमा अहिले हिउँको गिरावट भारी मात्रामा आएको देखिने गरेको छ । भेरी नदीको मुख्य स्रोत रहेको उपल्लो डोल्पामा अहिले अघिल्लो वर्षभन्दा कम हिउँ परेको छ । स्थानीय कृषकहरुले खेतीपाती समेत लगाउन मुस्किल भएको प्रेमा डोल्पालीले बताउनुभयो । हिउँ कम पर्ने बत्तिकै यार्सागुम्बासमेत कम पाइने गरेको उहाँको भनाइ छ । उपल्लो डोल्पाको २०० भन्दाबढी पाटनमा यार्सागुम्बा सङ्कलन गरिदै आएको छ । त्यस्तै अधिकांश भागहरु शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्रको इलाकामा रहेको छ । हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् ।

यस निकुञ्जलाई डाँफे, मोनाल, चिरलगायत दुई सय प्रजाति पक्षीहरू, छ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ । यहाँ पाइने हिउँ चितुवाको आहार–बिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ । तर वर्षेनी चोरी निकासी हुने र यसको महत्व बुझ्न नसकस्दा यी महत्वपूर्ण सम्पदाहरु लोप हुने क्रम बढेको बताइन्छ ।

काञ्जिरोवा दक्षिण (६,८६६ मि), सिकाल्पो खाङ (६,५५६ मि), वेज चुचुरो (७,१३९ मि.) जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गदै आएकोमा भावी सन्ततिले यो नासोको रुपमा पाउँछन् कि पाउदैनन् चिन्ताको विषय बनेको छ । निकुञ्जको लगभग मध्यभागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । माल पाएर पनि चाल नपाउने गरेको समस्याले गर्दा संरक्षणमा ठूलो चुनौती हुँदै आएको छ ।

अघिल्लो वर्ष मात्र तीन सयभन्दा बढी घरेलु बन्दुक बरामत हुनुका साथै करिब १२ जना मानिस पक्राउ गरी अनुसन्धानका दायरामा ल्याइएको तत्कालीन निकुञ्ज प्रमुख सरोजमणी पौडेलले जानकारी दिनुभयो । संरक्षणभन्दा पनि कसरी नष्ट गरी व्यक्तिगत लाभ लिन सकिन्छ भन्ने सोचका कारण उपल्लो डोल्पामा रहेका प्रकृतिक सम्पदाको संरक्षणमा सङ्कट पैदा भएको पौडेले बताउनुभयो ।

यहाँ कति जडीबुटी पाइन्छ भन्ने अझै यकीन हुन नसकेकोसमेत पौडेलले बताउनुभयो । वर्षेनी रक्सीका बोटल, प्लास्टिक, चाउचाउका खोलदेखि अन्य फोहर बस्तुका कारण बन्यजन्तुका साथै जडीवुटी फैलावटमा समस्या पैदा भइहेको यहाँका स्थानीय तथा जानकारहरु बताउँछन् । स्रोत परिचालनका हिसावले दायरा निर्धारण नहुँदा प्रकृतिमाथिको दोहनले भावी दिनमा मानिसलाइ नै समस्य ल्याउनेतर्फ कसैको ध्यान जान सकेको छैन ।

फोहरले जडीबुटी, वन्यन्तु मात्र होइन, त्यहाँका आम मानिसलाई समस्य बनाउने गरेको वातावरण विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले जानकारी दिनुभयो । नेपाली सेनालाइ सरसफाइको जिम्मा दिइएकोसमेत उहाँले बताउनुभयो । अहिले देशका बिभिन्न उच्च हिमालको सरसफाइ अभियान चलिरहेको महानिर्देशक निरौलाले बताउनुभयो । निकुञ्ज तथा अन्य सुरक्षाका लागि डोल्पामा खटिएको राम वाण गुल्माका प्रमुख (सेनानी) अशोक क्षेत्रीले भन्नुभयो,“निकुञ्जको क्षेत्रमा पहिला एकपटक सरसफाइ भएको थियो भन्ने छ, अब हामीलाइ यो पटक छोइला हिमालको सरसफाइ गर्ने योजनामा छौँ । मौसममा सुधार हुने वित्तिकै त्यो काम हुनेछ । त्यस्तै सीमा क्षेत्रसम्म पुग्ने योजनासमेत बनाएका छौँ । ”

उहाँका अनुसार हिमाल तथा पाटनहरुमा काम गर्दा सबैभन्दा गाह्रो डोल्पामा रहेको छ । भूगोलका हिसाबले ठूलो क्षेत्र रहेको डोल्पामा रासन व्यवस्थापन, अक्सिजन समस्या, बाटो, टेलिफोनको समस्याले गर्दा काम गर्न निकै मुस्किल रहेको उहाँको भनाइ छ ।

नेपालका हिमालहरु भारतीय उप–महाद्वीपका झण्डै एक अर्ब ३० करोड मानिसका लागि आवश्यक पानीको स्रोतका रुपमा पनि लिइन्छ । हिमाललाई नेपालको पर्यटन अर्थतन्त्र र त्यससँग जोडिएको जीविकोपार्जनका लागि महत्वपूर्ण रहेको हिमाली क्षेत्रमा औषतमा ३६ हजार विदेशी तथा १५ हजार नेपाली पर्यटक ८० हजार भरियासहितका कामदार हरेक वर्ष परिचालन हुँदै आएको पाइन्छ ।

हिमालहरुमा मानवीय कारणले वर्षेनी फोहर थपिने क्रम छ । हिमाल तथा सो क्षेत्रको पर्यावरणीय अवस्थाबारे चासो राख्ने विज्ञहरुका अनुसार फोहोर तथा मानव मलमुत्रका कारण यस क्षेत्रमा गम्भीर स्वास्थ्य तथा वातावरणीय चुनौती उत्पन्न भएको छ ।

कुनै एक अवधि र वर्षमा मात्र सफाइ गरेर मात्र हिमाल सफा राख्न नसकिने विज्ञहरु बताउँछन्  । हिमाल सफा राख्नु भनेको त्यस क्षेत्र र हिमालको तल्लो तटीय क्षेत्रको पर्यावरण सुरक्षित राख्नु पनि हो । हिमालमा जाने आरोहीलाई पनि हिमाल सरसफाइमा जिम्मेवार बनाउनु जरुरी रहेको समय समयमा कुरा उठ्ने गरेको छ ।

सबैले आफूले प्रयोग गरेका सामग्री निश्चित स्थानसम्म ल्याएर विसर्जन गरेमा पनि फोहोर व्यवस्थाप गर्न सघाउ पुग्ने बताइन्छ । पंक्षी सम्बन्धी अध्ययनरत बद्री बराल आफू हिमालको काखमा जाँदा नकुहिने फोहोरका खातहरु देखेको बताउनुहुन्छ ।

हिमाल घुम्ना जानेहरुले अक्सिजनका सिलिण्डर, टेन्ट, टिनका बट्टा, मट्टीतेलका जर्किन, स्टोभलगायतका सामग्री हिमाली क्षेत्रमा नै छाडिदिने भएकाले अझ फोहर बढेको देखिएको बरालले बताउनुभयो ।

यार्सागुम्बा टिप्न जानेले पनि बढाए फोहर

यार्सागुम्बा सङ्कलनका लागि डोल्पाका पाटन तथा हिमालहरुमा ठूलो सङ्ख्यामा मानिस जाने गर्दछन् । जाजरकोट, जुम्ला, डोल्पा, सल्यान, रुकुम पश्चिम, कालीकोट र दैलेखबाट मानिसहरु डोल्पाका पाटनमा पुग्ने गर्दछन् । उनीहरुले साथैमा लाने खानेकुरा तथा अन्य सामग्रीको फोहर पनि त्यही फालिदिने गरेका छन् । सरसफाइ गर्नुपर्नेतर्फ कसैको ध्यान नजाने र सरोकार भएका निकायबाट जानकारी पनि नगराउदा फोहर थुप्रिनुमा मुख्य कारण रहेको छ ।

यार्सागुम्बाको अस्तित्व पौराणिक कालदेखि नै नेपालमा रहँदै आएको भएपनि सङ्कलन कार्य शुरु भएको धेरै समय भएको छैन । यसको उपयोग हिमाली भेगका शेर्पाहरूले गर्दै आएका बताइन्छ । विभिन्न जडिबुटीका रूपमा प्रयोग भइरहेको यार्सागुम्बा पहिलो पटक खोजी गरेर सार्वजनिक जानकारीमा ल्याइएको भने त्यति धेरै नभएको बताइन्छ । यार्सागुम्बाको पहिलो पटक सङ्कलन कार्य सन् १९५२ मा ब्रिटिस म्युजियम लण्डनको तर्फबाट बनस्पति सङ्कलन गर्न आएका पोलुनिन साइकल र विलियमले गरेका थिए । उनीहरूले चार हजार २०० मिटरको उचाइमा रहेको च्याखुर लेकबाट अत्यन्तै मूल्यवान यार्सागुम्बा भेटाएर लगेका थिए ।

के हो यार्सागुम्वा ?

यार्सागुम्बा भनेको हिमाली भेगमा पाइने ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर रहेको बस्तु हो । यसमा ढुसी र झुसिल्किरा परस्परमा आश्रति भएका हुन्छन् । यार्सागुम्बाको जीवनचक्रका सम्बन्धमा बनस्पतिविद्हरूका अनुसार यो छ महिना किरा र छ महिना बनस्पति भएर रहन्छ ।

त्यसरी हेर्दा बनस्पति जिवीत रहे प्राणी मर्ने र प्राणी जिवीत रहे बनस्पति मर्ने हुन्छ । जमिनमा रहेका पुराना यार्सागुम्बाबाट हावामा प्रशस्त बीऊहरू फैलिरहन्छन् । यी बीऊहरू एक प्रकारका पुतली, झुसिल्किराको शरीरमा टाँसिन्छन् र त्यहीँ उम्रन्छन् ।

यी बीऊहरू उम्रेपछि यिनका जराहरू झुसिल्किराको शरीरमा फैलन्छन् त्यस समयसम्म झुसिल्किरा हिँडडुल गरिरहेकै हुन्छ । यसरी यो बनस्पतिको जराहरूले झुसिल्किरालाई पुरै ढाक्दै गएपछि झुसिल्किरा जमिनभित्र गएर मर्छ । झुसिल्किरा जमिनमा मरिसकेपछि बनस्पतिले आफ्नो आहारा त्यही झुसिल्किराको शरीरबाट लिन्छ र बनस्पति विकसित हुन्छ अर्थात माटो माथि जिवीत रहन्छ माटो मुनी मर्छ ।

माटोमाथिको बनस्पति माटोमुनिको प्राणीको टाउकोबाट पलाएको हुन्छ र यसको रङ्ग कालो हुन्छ । जसको टुप्पोमा सानासाना प्वालहरू हुन्छन् ती प्वालभित्र लामा लामा थैला हुन्छन् र प्रत्येक थैलामा मसिना लामा लामा बीऊ हुन्छन् ।

यसमा दुई भाग हुन्छन् । जमीनमाथिको भाग यार्सा र जमिनमुनिको भाग गुम्बा । यो परस्पर जोडिएको हुन्छ । जबसम्म बनस्पति पूर्ण विकसित हुँदैन तबसम्म प्राणी डुलिरहने हुनाले यसलाई डुलन्ते झार भनिएको हो ।

विभिन्न वनस्पतिसम्बन्धी पुस्तकमा यार्सागुम्बाका १०० भन्दा बढी प्रजाति रहेको उल्लेख गरिएको छ । तीमध्ये जापानमा ३०, ब्रिटेनमा १२, भारतमा सात र चीनमा २१ वटा प्रजातिका यार्सागुम्बा पाइने गरेको बताइन्छ ।

नेपालमा पाइने यार्सागुम्बाहरूमा कोर्डिसेप्स साइनेन्सिस, कोर्डिसेप्स मिलिटरिस र कोर्डिसेप्स नुटन्स प्रमुख रहेका छन् । कोर्डिसेप्स साइनेन्सिस जातका यार्सागुम्बा नेपालका ताप्लेजुङ, संखुवासभा, दार्चुला, बझाङ, बाजुरा, जुम्ला, हुम्ला, मुगु, डोल्पा र मनाङ जिल्लामा पाइन्छ ।

कोरोना कहरमा हिमाली क्षेत्र पनि

नेपालमा पनि कोरोना भाइरसको असरका कारण करिब दुइ वर्षदेखि जारी बन्दाबन्दीले गर्दा मानवीय क्रियाकलाप कम भएको पाइएको छ । मानवीय क्रियाकलाप कम भएसँगै उपल्लो डोल्पामा बन्यजन्तु चोरी निकासी तथा जडीवुटी संरक्षणमा समेत टेवा पुगेको छ । निकुञ्ज क्षेत्रमा सेनाको नियमित गस्ती समेत बढाएको छ । उपल्लो डोल्पामा रहेका महत्वपूर्ण प्राकृतिक सम्पदाको संरक्षण गर्न जिल्ला तहमा समेत एक मतका साथ वातावरण संरक्षणका पक्षमा निर्णय गर्नुपर्ने पत्रकार बालकृष्ण डाँगीले बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button