स्वास्थ्य

नेपालमा कालो ढुसी : कैलालीमा एकजनाको मृत्यु, अहिलेसम्म १० जना बिरामी

कोरोना संक्रमितलाई भेन्टिलेसनमा राखी सिलिण्डरबाट चीसो अक्सिजन दिँदा कालो ढुसीको सङ्क्रमण हुनसक्ने

नेपालमा पनि कालो ढुसी (ब्ल्याक फङ्गस)का कारण एकजनाको मृत्यु भएको छ भने अहिलेसम्म १० जनामा कालो ढुसीका बिरामी पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहिबार मात्रै सेती प्रादेशिक अस्पतालमा कालो ढुसी संक्रमणबाट एकजनाको मृत्यु भएको छ । कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिनुभयो ।

मिर्गौलासम्बन्धी रोगबाट ग्रसित उनी जेठ १७ गते अस्पताल भर्ना भएकोमा बुधबार मात्रै उहाँमा कालो ढुसीको संक्रमण पुष्टि भएको उपचारमा संलग्न डा शेरबहादुर कमरले जानकारी दिनुभयो ।

मिर्गौला, मधुमेह र मुटुका रोगी उहाँ डायलायसिसका लागि अस्पताल आएका भए पनि आईसीयूमा राखेर उनको उपचार थालिएको थियो । तर उपचारकै क्रममा बिहीबार बिहान ७ बजे उहाँको मृत्यु भएको हो ।

उपचारमा संलग्न अर्का चिकित्सक डा. अशोक श्रीपाइलीका अनुसार ती पुरुषको जेठ १८ गते पीसीआर परीक्षण गरिएको थियो । तर उनको रिपोर्ट नेगेटिभ आए पनि उपचारको क्रममा उनको ओठ वरिपरि कालो दाग देखा पर्न थाल्यो । म्यूकर माइकोसिसको आशंकामा स्वाब र बायोप्सीमार्फत परीक्षण गर्दा बुधबार कालो ढुसीको संक्रमण पुष्टि भएको थियो ।

उता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले १० जनामा कालो ढुसी पुष्टि भएकामध्ये आठ जना मन्त्रालयको सम्पर्कमा र अन्य दुई सम्पर्कमा नआएको बताउनुभयो । उहाँका अनुसार कालो ढुसीका बिरामी नेपालगञ्ज, वीरगञ्ज र काठमाडौँका रहेका छन् । यसअघि कालो ढुसीका बिरामी भारतमा फेला परेका थिए ।

कालो ढुसीले कोभिड–१९ भएका बिरामीको आँखा, नाक र अनुहार बिगार्ने गर्दछ । यो सङ्क्रमण बिरलै देखिने तर सङ्क्रमण गम्भीर भए प्राणघातक हुनसक्ने उहाँले बताउनुभयो । अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने रातो हुने वा दुख्ने, आँखाका ढकनी सुनिने र ढकनी झुक्ने, ज्वरो आउने, आँखाले धमिलो देख्ने, नाकबाट रगत र बाक्लो सिङ्गान आउने, दाँत दुख्ने वा हल्लिनेजस्ता लक्षण देखापर्ने गर्दछन् ।

भारतमा देखिएको ब्ल्याक फङ्गस नेपालमा पनि देखियो, सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

कोभिड–१९ जस्तै यो रोग नसर्ने भए पनि ४५ देखि ६५ उमेर समूहका मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र धेरै खाले एन्टिवायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेलाई कालो ढुसी लाग्ने गर्दछ ।

बच्ने उपाय

कालो ढुसीबाट बच्नका लागि सफा र सुक्खा मास्क प्रयोग गर्ने, मास्क धोएर प्रयोग नगर्ने, नियमितरूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, घर बाहिर वा फोहरमा काम गर्नुपरे डिस्पोजेवल पञ्जाको प्रयोग गर्ने, धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने, नुनिलो पानीले नाक सफा गर्नुपर्दछ ।

यस्तै पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने, जथाभावी एन्टिवायोटिक औषधि सेवन नगर्ने, मधुमेह भएका बिरामीले मधुमेह नियन्त्रण गर्ने र स्वास्थ्यकर्मीको सल्लाहमा मात्र औषधि सेवन गर्नुपर्दछ ।

भारतमा कालो ढुसीको संक्रमण देखिएपछि अल इन्डिया मेडिकल इन्टिच्युट (एम्स)ले गरेको अनुसन्धानमा कोभिड उपचारको छ हप्ता भित्र बिरामीहरूलाई ‘ब्ल्याक फङ्गस’को उच्च जोखिम हुने बताएका थिए ।

एम्समा न्यूरोसर्जरीका प्राध्यापक डाक्टर पी शरत्चन्द्रले फङ्गल संक्रमण कुनै नयाँ समस्या भनएको र सङ्क्रमणका धेरै कारणहरू हुन सक्ने बताउँदै सबभन्दा महत्वपूर्ण कारणमध्ये मधुमेह नियन्त्रण हुन नसक्नु, रोगीलाई भेन्टिलेसनमा राखी पूरक अक्सिजन दिँदा यो सङ्क्रमण हुनसक्ने बताउनुभएको थियो ।

उहाँले कोभिड उपचार को छ हप्ता भित्रमा यदि मानिसहरूलाई यी कुनै पनि कारण कालो फङ्गसको उच्च जोखिम रहने गर्छ । उहाँले सिलिण्डरबाट चिसो चिसो अक्सिजन दिँदा यसले बिरामीहरूमा चिसोका कारण पैदा हुने ब्ल्याक फङ्गसजस्ता समस्या निम्त्याउने खतरा हुन सक्ने पनि बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.