राजनीति

‘प्रचण्ड’ले आफ्ना कार्यकर्तालाई भनेको कुराको महत्व छैन : कांग्रेस प्रवक्ता डा. महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अहिलेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने र कांग्रेसले कहिल्यै अहंकार नराखेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले स्थानीय तहमा भएको गठबन्धन आउने निर्वाचनसम्म जाने बताउनुभएको हो ।

उहाँले माओवादी अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा कांग्रेसले अहंकार पाले एमालेकै जस्तो हालतमा पुर्याइदिने बताउनुभएपछि उहाँले सो कुरा बताउनुभएको हो ।

कांग्रेसले अहंकार कहिल्यै नराखेको भन्दै उहाँले गठबन्धन दलका नेताहरुले आफ्ना कार्यकर्तालाई प्रशिक्षणका क्रममा बोलेको कुराले खासै महत्व नराख्ने बताउनुभयो ।

डा. महतले भन्नुभयो “नेपाली कांग्रेस अहंकारको बाटोमा छँदै छैन, दाहालले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा भन्नुभयो होला, त्यसलाई धेरै महत्व दिनुपर्छ भन्ने लाग्दैन ।”

स्थानीय तहको निर्वाचन समग्रमा सकारात्मक परिणाम आएको भन्दै उहाँले गठबन्धनको बैठकमा भएको निर्णयलाई आधार मान्न नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।

आउने जिल्ला समन्वय समितिको निर्वाचनमा समेत गठबन्धनका दलबीच सहमति भएको भन्दै उहाँले सोही निर्णयानुसार प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

डा महतले भन्नुभयो, “गठबन्धनका नेताबीचमा भएका सहमति प्रतिबद्ध भएर पालना गरौँ ।” कहीँकतै अपवादका रुपमा गठबन्धन विरोधी गतिविधि भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button