जल/वातावरण

मानवीय व्यवहार नै वातावरण विनाशका कारक

प्रकृतिलाई चुनौती दिन, नक्कल गर्न असम्भव छ, हामीले वातावरणलाई बचाइराख्नुपर्छ

गिट्टी–बालुवा उत्खननका कारण मुलुकका चुरे पहाड ढलेर बगरमा परिणत भइरहेका छन् । मलिला जमीन कङ्क्रिटमा परिणत छ । उर्वर भूमि सङ्कटमा परिरहेको छ । पानीका मुहार र स्रोत सुक्दैछ । अधिक र न्यून वर्षाका कारण कतै अनावृष्टि तर कतै अति वृष्टि छ ।

वाग्मती सरसफाइ अभियान

जथाभावी वन विनाश भइरहेको र विकास निर्माणका काम योजनाविहीन हुँदा बाढीपहिराका प्रकोपले बर्षेनि ठूलो जनधनको क्षति भइरहेको छ । काठमाडौँको वाग्मती नदीलाई नालाका रुपमा प्रयोग गरी घरबाट निस्किएको फोहर पानी सिधै हाल्ने क्रम अहिले पनि जारी छ । यहाँको पानी सफा गर्ने वर्षाैंदेखिको प्रयास सफल हुन सकिरहेको छैन । यी सब हुनुमा मानव नै प्रमुख कारण भएको वातावरणविद्को ठम्याइ छ ।



पानीको उपचार (प्रशोधन) नगरी फ्याँक्दा वाग्मती मरेको नदीका रुपमा परिणत भएको भन्नुहुन्छ जलस्रोत व्यवस्थावनका विज्ञ डा दिवसबहादुर बस्नेत । यहाँ भइरहेको सरसफाइ अभियानको सन्दर्भ जोड्दै उहाँले भन्नुभयो, “वाग्मती सफा गर्न त थालियो तर फोहोर फाल्नु हुँदैन भन्ने अभियान चल्न सकेन ।”

त्यसका कारण सफाइ गर्न थालिएको सयौँ हप्ता बितिसक्दा सामान्यबाहेक वाग्मतीको पानीमा सुधार आउन सकेको छैन । वास्तवमा भन्ने हो भने वातावरणमा असर परिरहेको छ भन्ने जानेर पनि मानिसमा व्यवहार परिवर्तन नआउँदा समस्या यथावत छ । वातावरण विरुद्धको यो त एउटा सानो तथ्य हो । मुलुकको पारिस्थितिकीय प्रणालीमा कति नकारात्मक प्रभाव परिरहेको छ भन्ने कुरा उक्त तथ्यले उजागर गर्छ ।

विश्व वातावरण दिवसको सन्दर्भ जोड्दै डा बस्नेत हिमाल, पहाड र तराईका पारिस्थितिकीय प्रणालीका आ–आफ्नै महत्व रहेको र त्यसलाई बचाइराख्नु आजका लागि चुनौतीको विषय भइरहेको बताउनुहुन्छ ।

प्राकृतिक स्रोत साधन मानव जीवनका लागि अमूल्य सम्पत्ति हो । त्यसैकारण पृथ्वीमा मानवीय अस्तित्व बाँकी छ । त्यसैले यसलाई जोगाइराख्नु मानवको पहिलो कर्तव्य हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा दिनेशराज भुजु प्राकृतिक पारिस्थितिकीय प्रणालीको विकल्प बनाउनै नसकिने बताउनुहुन्छ । “प्रकृतिलाई चुनौती दिन, नक्कल गर्न असम्भव छ, हामीले वातावरणलाई बचाइराख्नुपर्छ”, डा भुजुले भन्नुभयो ।

विज्ञका अनुसार गाँस, बास र कपासका लागि स्रोतको सदुपयोग गर्दा यसबाट हुने नकारात्मक असरलाई कसरी न्यूनीकरण गर्ने भन्ने सन्दर्भ भुल्न हुन्न । “त्यसका लागि योग्य व्यवस्थापन जरुरी छ, जल, जमीन र जैविक प्रणालीको उचित एकीकृत व्यवस्थापन अबको आवश्यकता हो”, डा बस्नेतले थप्नुभयो ।

खोलामा बाँध लगाएर मात्रै नहुने त्यसका लागि खोलाको पनि उचित निकासको व्यवस्थापन हुनुपर्छ । एकीकृत योजनाबाट नै त्यो सम्भव रहेको उहाँले बताउनुभयो । पछिल्लो समयमा विपद् आउनुमा पनि कतिपय मानवीय कारण जोडिएको छ । जथाभावी सडक निर्माण गर्ने, प्राकृतिक स्रोतको दोहोन गर्ने काम मानिसबाटै भएको छ । डा बस्नेत त्यस्ता विपद् रोक्न प्रकृतिमा आधारित उपाय अपनाउ जरुरी रहेको बताउनुहुन्छ ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंह विश्वकै वातावरण र पारिस्थितिकीय प्रणाली कमजोर भइरहेको र वातावरणमा असर बढ्दो रहेको भन्दै चिन्ता प्रकट गर्नुहुन्छ । मानव बाँचिरहने प्रणाली शुद्ध भएन भने मानव अस्तित्व नै खतरा पर्ने उहाँको भनाइ छ । “बढ्दो वातारवणीय असरलाई कम गर्दै प्राकृतिक स्रोत साधनलाई पुरानै अवस्थामा कसरी फर्काउने भन्ने कुरा महत्वपूर्ण विषय हो”, डा सिंहले भन्नुहुन्छ ।

उहाँका अनुसार पृथ्वीमाथि हामीले विजय प्राप्त गर्नुअघि त्यो सम्भव छ कि छैन भनेर सोच्नुपर्छ । पृथ्वीलाई बचाउने कसरी ? अनि हामी कसरी बाँच्ने भन्ने कुरामा एकीकृत योजना आवश्यक छ । कर्णालीको प्राकृतिक स्रोतलाई मुलुककै ‘भर्जिनल्यान्ड’का रुपमा परिभाषित गर्ने डा सिंह मनोविज्ञानलाई प्राकृतिकसँग जोडेर धेरै अनुसन्धान अघि बढाउन सके वातावरण संरक्षणमा सकारात्मक परिणाम आउने आशा गर्नुहुन्छ ।

उहाँ प्रकृति जोगाउन मानवीय व्यवहारमा समेत परिवर्तन आउनुपर्नेमा जोड दिनुहुन्छ । “पृथ्वी बचाउनतर्फ लागौँ, पारिस्थितिकीय प्रणालीलाई कमजोर बनाउनबाट रोकौँ, त्यसका लागि मानवीय व्यवहार परिवर्तन गर्दै जानुपर्छ”, उहाँले भन्नुभयो ।

मनोविज्ञानकी प्राध्यापक नेपाल मनोवैज्ञानिक सङ्घकी अध्यक्ष उषाकिरण सुब्बा बढ्दो जनसङ्ख्यासँगै पर्यावरणमाथि चाप परिरहेको सन्दर्भमा प्राकृतिक स्रोतको स्तर बढाउनतर्फ लाग्नुपर्ने बताउनुहुन्छ । नत्र त्यसले मानिसको जीवन संरचना नै प्रभावित पार्ने उहाँको बुझाइ छ । वातावरण जोगाउन मानिसले व्यवहार परिवर्तन गर्नैपर्नेमा उहाँको पनि जोड छ ।

“पर्यावरण परिवर्तन र प्राकृतिक प्रकोप लगायतले मानिसमा प्रतिकूल असर पार्दा भविष्यप्रति निरासा, मानसिक तथा शारीरिक समस्या उत्पन्न हुन्छ, त्यससँग जुध्न मनोवैज्ञानिक सहयोगको आवश्यकता हुन्छ”, सुब्बाले भन्नुभयो, “पर्यावरण पुनस्र्थापन गर्न मनोविज्ञान र वातावरण विज्ञानलाई जोडेर अघि बढ्नुपर्छ ।”

पूर्वमन्त्री एवं इन्जिनीयर डा गणेश शाहले विकासले विनाश गर्दा प्राकृतिक असन्तुलन बढिरहेकातर्फ सचेत गराउँदै वातावरण जोगाउन पनि मानसिक अवस्था र मानवीय व्यवहार परिवर्तन जरुरी रहेको औँलयाउनुभयो । कानून तर्जुमा गरिरहे पनि विकासभन्दा विनाश बढी हुँदा खतरा कायमै रहेको उहाँको तर्क छ ।

त्रिभुवन विश्वविद्यालयका प्राडा नन्दिता शर्मा वातावरण र व्यक्तिबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले हामी मात्र बाँचेर हुन्न आउने पुस्ता पनि बाँच्नुपर्छ भन्ने सोचको विकास गर्नु आजको आवश्यकता औँल्याउनुहुन्छ ।

विश्व विातावरण दिवसका सन्दर्भमा आज नेपाल मनोवैज्ञानिक सङ्घले वातावराण र मनोविज्ञानलाई जोड्ने प्रयत्नस्वरुप भर्चुअलका माध्यमबाट विज्ञबीच गराएको अन्तरक्रियामा विज्ञले सोचमा परिवर्तनको खाँचो औँल्याउनुभएको छ ।

सङ्घका उपाध्यक्ष मनोविद् डा नरेन्दसिंह ठगुन्ना मनोविज्ञानलाई वातावरणसँग कसरी जोड्न सकिन्छ एउटा प्रयास गरिएको जनाउँदै आगामी दिनमा वातावरण संरक्षण र विकाससँग मनोविज्ञानलाई जोड्नका लागि यो शुरुआत हुने बताउनुभयो । उहाँले मनोविज्ञान र वातारणलाई एकीकृत गरी मानवीय जीवनसँग जोड्ने विषयमा काम गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

सन् १९७२ मा शुरु भएको वातावरण संरक्षणको सोचको उपलब्धिस्वरुप सन् १९७४ देखि विश्व वातावरण दिवस मनाउन थालिएको हो । यसपालिको नारा ‘पारिस्थितिकीय प्रणालीको पुनःस्थापना’ भन्ने छ । विश्वभर नै सन् २०२१ देखि ३१ को एक दशकलाई वातावरण पुनःस्थापन दशककै रुपमा मनाइँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button