राजनीति

महानगरप्रमुख बालेनको ढुंगेधाराहरु ब्यूँताउने घोषणा

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले काठमाडौंमा रहेका ढुंगेधाराहरु संरक्षण गरी निरन्तर पानी प्रवाह हुने बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

काठमाडौं उपत्यकाका रथाने नेवार समुदायले मनाउने सिथी नखःको अवरमा शुभकामना दिंदै महानगर प्रमुख साहले ढुंगेधारा ब्यूँताउन महानगरले आगामी बजेटमा रकम विनियाजन गर्ने बताउनुभएको हो ।

आइतबार विहान आफ्नो सामाजिक सञ्जालमार्फत प्रमुख बालेनल काठमाण्डौमा रहेका सम्पुर्ण ढुंगेधारा जुन निष्क्रिय अवस्थामा छन्, पानीको मुहान सुकेको अवस्था छन्, तिनलाई ब्युताउनको लागि सम्बन्धित शीर्षकमा बजेट बिनियोजन गरेर उपयुक्त प्रयासहरु गर्ने बताउनुभएको हो ।

सिथी नखः उपत्यकाको हजारौं वर्षअघिदेखि मनाइँदै आइएको पानी दिवस हो र यस दिन कुवा, इनार, पोखरी, धारा सफाई गरिन्छ । यसै अवसरमा महानगरप्रमुख साहले शुभकामना दिंदै यस्तो लेख्नुभएको छ-

काठमाडौँ जसरी मन्दिरहरुको सहरका रूपमा प्रचलित छ, त्यसरी नै काठमाडौँ पाटीपौवा अनि पोखरी, इनार, ढुंगेधारा र कुवाहरूको सहर पनि हो । यी सामाजिक सम्पदाहरुको सरसफाइ, मर्मत र जगेर्नाका लागि सिथि नखः पर्वको ठुलो महत्व छ ।

हरेक बर्षको ज्येष्ठ शुक्ल षष्ठीका दिन नेवा: सभ्यता र संस्कारअनुरूप सिथि नखः पर्व मनाइन्छ ।

सिथि नखः पर्वको दिन धार्मिकरुपमा भक्तपुरको चास खेलमा चण्डीदेवीको पूजा हुन्छ भने काठमाण्डौँको जैसी देवलमा कुमार कार्तिकेयको मूर्तिलाई स्नान गराएर विशेष पहिरन पहिराउँदै गहना र आभूषण लगाइदिएर खटमा राखी नगर परिक्रमा गराइन्छ । नेवा: समुदायले आफ्नो घरको प्रवेश द्वारमा राख्ने आठ वटा कमलको फूलको चित्र या धातुमा कुँदेको कलात्मक अभिव्यक्तिले यिनै कुमार कार्तिकेयलाई जनाउँछ ।

तर सिथि नखः को धार्मिक महत्वमात्रै छैन । सिथि नखः सँगै पानीको शुद्धता र मुहानको सरसफाइका कुरा पनि जोडिएर आउँछन् । पानीको श्रोतहरूको सरसफाइ र सुव्यवस्थालाई ध्यानमा राख्दै सामूहिकरुपमा सिथि नखः मनाइने संस्कृति छ ।

काठमाडौमा जहाँ खुला र खालि जमिन कम हुँदै गएको छ । सहर घरै–घरले भरिँदै गएका छन् । खुला ठाउँमा पनि सडक र सिमेन्टेड हुँदै छन् । वर्षा याममा जतिसुकै धेरै पानी परेता पनि वरपर सिमेन्टका भुईँ भएका कारणले यसरी परेका पानी मुहानले सोस्न नपाउने हुन्छ । यसले गर्दा नै धेरै जसो पानीका मुहानहरू सुक्दै गएका अनि हामीहरू पाइप, ट्याङ्कर अनि जारका पानीमा धेरै निर्भर रहनु परेको छ । यस्तो अव्यवस्थाका कारणले काठमाडौँ अनि काठमाडौंबासीहरूलाई सिथि नखःको महत्त्व अझै बढेर गएको छ ।

सिथि नखः मा इनार, पोखरी अनि कुवामा पसेर नै सफा गरिन्छ । यसो गर्नाले पानीका तलका सतह जस्तै हिलो, लेदो लगायत जमेका फोहोर पदार्थहरू माथि आउने हुन्छ । ती कुराहरू तल्लो तहमा थिग्रिन पनि केही दिन पानीको मुहान प्रयोग नगरीकन शान्त राखिन्छ ।

यसरी मुहान सफा गरिसकेपछि त्यहाँ दूध, घ्यू, मह, दही लगायतका कुराहरू हालिन्छ । सिथि नखःमा सरसफाइ गरिसकेपछि केही दिनका लागि पानीका मुहान प्रयोग गरिन्न । मुहान नचलाएपछि पानी स्थिर हुन्छ । यसरी पानीका मुहानको सामूहिक सरसफाइ गरिसकेपछि घरघरमा गएर परम्परागत नेवा: खानाहरू बारा, चटामरी, छोयला जस्ता परिकारहरू खाने चलन छ ।

वातावरण, पर्यावरण अनि जीवन–शैलीको अनुपम सम्मिश्रण यस चाडले सदियौँदेखि हामीलाई पानी अनि मुहानको सरसफाइको पाठ सिकाइरहेको छ । हाम्रा पुराना धेरै संस्कारहरू आफैँमा वैज्ञानिक र परिवर्तनकारी पनि छन् भन्ने सन्देश पनि दिन्छन् ।

हाम्रा सांस्कृतिक तथा सामाजिक व्यवहारहरु तथा आफ्ना रैथाने ज्ञानलाई (Indigenous knowledge) राज्यले नै अपनत्व लिनु पर्छ भन्ने हाम्रो मान्यता छ । यसैका लागि हामीले आगामी बजेटमा काठमाण्डौमा रहेका सम्पुर्ण ढुंगेधारा जुन निष्क्रिय अवस्थामा छन्, पानीको मुहान सुकेको अवस्था छन्, तिनलाई ब्युताउनको लागि सम्बन्धित शीर्षकमा बजेट बिनियोजन गरेर उपयुक्त प्रयासहरु गर्नेछौँ ।

सिथी नख: पर्व तथा आज नै परेको विश्व वातावरण दिवसको शुभकामना ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.