हस्तकला महासङ्घद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग
नेपाल हस्तकला महासङ्घले कोरोना नियन्त्रणका लागि जनहितकारी कार्यमा संलग्न रहँदै आएको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । हस्तकला उद्यमी व्यवसायीको प्रतिनिधिमूलक छाता सङ्गठन महासङ्घले विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै केन्द्रलाई आज रु एक लाख आर्थिक सहयोग गरेको हो ।

महासङ्घका निमित्त महानिर्देशक ऋषिराज सुवेदीले आविस्कार केन्द्रबाट कोभिड–१९ बाट सङ्क्रमितको उपचारका लागि सञ्चालित कार्यक्रमको उच्च मूल्याङ्कन गर्दै आर्थिक सहयोग गरिएको जानकारी दिनुभयो ।
महासङ्घले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको उक्त रकम ग्लोबल आइएमई बैंक लिमिटेड नयाँ बानेश्वर शाखाको खातामा जम्मा गरिएको जनाएको छ । सो सहयोगले कोभिड–१९ न्यूनीकरणमा थप सहयोग पुग्ने विश्वाससमेत महासङ्घले लिएको छ ।
महासङ्घले आफ्नो संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि थापाथली प्रसूतिगृह, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताललगायतलाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्