राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने तीनजना पक्राउ
राउटे समुदायका युवतीलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटेल सञ्चालकसहित तीन जना पक्राउ परेका हुन् । स्थानीय युवाले राउटे युवतीलाई मादक पदार्थ सेवन गराई होटेलमा लिएर दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुर्भाकोटका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटेल सञ्चालक विनोद पुन रहेको प्रहरीले जनाएको छ । पछिल्लो समय राउटे समुदायमा जाने टिकटकमा भिडियो खिच्न थालेपछि राउटे युवती असुरक्षित भएका छन् ।
सामाजिक सञ्जाल युट्युब, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीमाथि दुव्र्यवहार हुन थालेको छ । भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाबाट राउटे युवती दुव्र्यवहारको सिकार भएका हुन् ।
राउटे युवतीहरुमाथि भएको दुव्र्यवहारको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीयवासीले तत्काल अनुसन्धान गरी कारबाहीको माग गरेका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि लेकबेँसी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदायका व्यक्ति केही दिनअघि मात्रै गुर्भाकोट–११ आँपसोतीको भेरी नदी किनारमा बसाइँ सरेका छन् ।
यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले दुई राउटे युवतीको गोपनीयताको संरक्षण गर्दै घटनाका दोषीलाई तत्काल कारबाही गर्न सरकासँग आग्रह गरेको छ । राउटे समुदायका युवतीलाई प्रलोभनमा पारी मदिरा सेवन गराई यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएपछि आयोगको कर्णाली प्रदेश शाखा कार्यालयले अनुगमन गरेको थियो ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा निजहरुको स्वास्थ्य परीक्षण गर्न र भौतिक सुरक्षा गरी जीवनको अधिकार संरक्षणमा तत्काल आवश्यक पहल गर्न र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह गरिएको हो ।
स्थानीय तीनजना युवाले राउटे समुदायका दुई युवतीलाई प्रलोभनमा पारी स्थानीय होटलमा लगेर यौनजन्य कार्य गर्न बाध्य बनाएको, उक्त घटनाका कारण निज युवतीलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान नै जोखिममा पर्न सक्ने अनुगमनबाट पाइएको जनाएको छ ।
प्रलोभनमा पारी यौनहिंसामा लगाइएका उल्लेखित दुई युवतीलाई यसअघि पनि राउटे मुखियाले ४ महिना नजरबन्द जस्तै गरी बन्दी बनाइएको जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्