इम्बोस्ड प्लेट जडानमा नागरिकले अवज्ञा गर्न सक्छन्
बंगलादेशले प्लेटमा देवनागरीमा नम्बर लेख्यो भने नेपालमा किन सम्भव भएन
सरकारले वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनमा साउन १ गतेभित्र इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गर्ने चेतावनी दिएपछि यसको संसदमा चर्को बिरोध भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इम्बोस्ड प्लेट जडानमा जबरजस्ती नगर्न माग गर्दै पूर्वाधार तयार नगरी नागरिकलाई धम्कीको भाषामा जारी गरिएको सूचना खारेज गर्न माग गर्नुभएको छ ।
संसदमा विशेष समयमा बोल्दै थापाले इम्बोस्ड नम्बर प्लेट बारेका व्यवस्थाहरु सच्याउनुपर्नेमा सरकारले सजिलो तर, गलत बाटो लिएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘साउन १ गतेभित्र जडान नगर्ने भए देखाइदिन्छु भनेर दिइएको धम्कीको यो भाषा खारेज गर्नुपर्छ । इम्बोस्स्ड प्लेटका व्यवस्थाहरु तत्काल पुनरावलोकन गरियोस्, पूर्वाधार र जनशक्ति थपियोस्, गुणस्तरीय बनाइयोस्, जबरजस्ती नगरियोस्, नागरिकले अवज्ञा गर्छन्, त्यतिबला सरकारको मुख रातो हुन्छ ।’
थापाले सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर मंसिरबाटै इम्बोस्ड नम्बर प्लेट जडानको लागि तालिका बनाए पनि अहिलेसम्म सबै यातायात कार्यालयमा काम नै सुरु नभएको समेत जानकारी दिनुभयो ।
ठेकदार कम्पनीसँगको सम्झौताअनुसार १६ महनाभित्रै यो जडानको काम टुंग्याइनुपर्ने अवस्था रहेको भन्दै उहाँले प्लेट जडानको काम नसकिए सरकारले आर्थिक दायित्व बेहोर्नुपर्ने अवस्था रहेको समेत स्मरण गराउनुभयो ।
सरकारले भनेको काम भनेको समयमा नगर्ने, अनि आफूले कमी कमजोरी गरेर नागरिकलाई दुःख सजाय दिने भन्दै थापाले अबको १५ महिनामा २५ लाख सवारीमा इम्बोस्ड जोड्ने भनिएको छ, दिनको ५ हजारमा इम्बोस्ड जोड्नुपर्छ, कसरी सम्भव छ, २(३ वटा कार्यालयबाट भन्दै प्रश्न गर्नुभयो ।
त्यस्तै उहाँले इम्बोस्ड नम्बर प्लेट महँगो भएको, गुणस्तर नभएको भनेर नागरिकले गुनासो गरिरहेको भन्दै थापाले नागरिकको प्रश्न ठेकदार कम्पनी र ऊसँग भएको सम्झौतामाथिमा पनि रहेको र प्लेटमा देवनागरीमा बंगलादेशले लेख्यो भने नेपालमा किन सम्भव भएन भन्दै प्रश्न गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्