२० लाख नेपालीको रोजगारी गुम्दै- स्रोत परिचालन र उत्पादन वृद्धिमा गम्भीर हुनुपर्ने
कोभिड–१९ का कारण ठूलो श्रम शक्ति बेरोजगार बनेको छ । नयाँ रोजगारी सिर्जना हुन असम्भव जस्तै भएका बेला मुलुकभित्र विदेशबाट फर्केका श्रमिक र रोजगारीको खोजीमा रहेका मुलुकभित्रकै श्रमिकको व्यवस्थापन थप चुनौतिपूर्ण मात्र हैन स्थिति भयावह हुने देखिएको छ ।
पूर्व श्रममन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोकर्णराज विष्टका अनुसार अन्तरराष्ट्रिय श्रम सङ्गठनले चौथो संस्करणका रूपमा सार्वजनिक गरेको एक विश्लेषणमा ३० करोड ५० लाख जनशक्ति कामबाट बाहिरिएको र आगामी असारसम्म यो अवस्था अझै गम्भीर र भयावह बन्ने देखिएको छ । नेपालका सन्दर्भमा १६ देखि २० लाख मजदूर रोजगारीबाट बाहिरिने अनुमान गरिएको बताउनुभयो ।
कोरोनाको सङ्क्रमणसँगै नयाँ श्रमशक्ति र रोजगारीबाट बाहिरिएका श्रमिकको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउँदै बिष्ट भन्नुहुन्छ– “नयाँ आउने श्रमशक्तिको व्यवस्थापनमा एकातिर समस्या बढ्दै गएको छ, अर्कातर्फ रोजगारीबाट बाहिरिने अवस्था ज्यादै चुनौतीपूर्ण बन्दैछ, अब अझै माथि उठेर देशमा रोजगारी सिर्जना गर्नेतर्फ गम्भीरतापूर्वक लाग्नु जरुरी छ” ।
कोभिड–१९ का कारण मुलुक ७० दिनभन्दा बढी समयदेखि बन्दाबन्दी अवस्थामा रहेको, आर्थिक क्रियाकलाप चलायमान नहुँदा लाखौँ मजदूरले रोजगारी गुमाइसकेको, वैदेशिक रोजगारीमा गएका मजदू स्वदेश फर्कने क्रम शुरु भएको, भइरहेको श्रमशक्ति रोजगारीबाट बाहिरिँदै गएका बेला बाहिरबाट फर्किएर आएका युवालाई रोजगारी दिनुपर्ने मुलुकसामु ठूलो चुनौती भएका अवस्थामा तुलनात्मक हिसाबले उत्पादन वृृद्धिमा जोड दिनुपर्ने उहाँको सुझाव छ ।
मुलुकको उत्पादनलाई संरक्षण र प्रोत्साहन गर्न सकिएन भने रोजगारीको अवसर सिर्जनाको कुनै सम्भावना नहुने र अर्थतन्त्रलाई समूल विकास गर्न नसकिने विष्टको धारणा छ । दुई वर्षदेखि सञ्चालित प्रधानमन्त्री रोजगारी कार्यक्रमअन्तर्गत दुई लाखलाई रोजगारी दिने गरी आगामी आवको बजेट विनियोजन भएको, अन्य विभिन्न शीर्षकमा समेत आगामी आवमा रोजगारीलाई प्राथमिकता दिइएकाले बजेटको प्रशंसा गर्दै उहाँले केन्द्र र प्रदेश तथा स्थानीय तहबीच समन्वय भएन भने अपेक्षानुसार प्रगति हासिल गर्न नसकिने दावी छ ।
उहाँले श्रम बजारको माग र आपूर्तिका लागि काम र जनशक्तिका बीचमा सन्तुलन कायम गर्न नसक्दा हुने बेरोजगारीको अवस्था गम्भीर र चुनौतीपूर्ण रहेका अवस्थामा सरकारले सीपयुक्त जनशक्ति विकासका लागि बजेट व्यवस्थापन गर्नु सुखद् हो । देशभित्र र बाहिर प्रतिस्पर्धा हुन सक्ने गरी जनशक्ति उत्पादन गर्नेतर्फ सरकारको ध्यानाकर्षण हुनुपर्ने बताउनुहुन्छ ।
विष्टका अनुसार विकसित देशले जुन प्रकारले आर्थिक समृद्धि हासिल गरेका छन् र जनसाङ्ख्यिक लाभको पर्याप्त सदुपयोग गरेका छन्, सोहीअनुसार हाम्रो मुलुकले १९९२ देखि जनसाङ्खिक लाभ प्राप्त गर्ने चरणमा प्रवेश गरे पनि त्यसलाई सदुपयोग गर्न सकेको छैन । जनसाङ्ख्यिक लाभलाई ठीक ढङ्गले प्रयोग गर्न नसकिए आर्थिक समृद्धिमा नकारात्मक असर पर्ने उहाँको भनाइ थियो । एक उत्पादनशील जनशक्ति बराबर एक आश्रित जनशक्तिको अवस्था रह्यो भने मुलुकको आर्थिक अवस्था कता जाला भन्ने बिष्टको प्रश्न छ ।
उहाँले अहिले मुलुकमा सबैभन्दा बढी घण्टा काम गर्ने ३८ प्रतिशत श्रमिक सबैभन्दा बढी गरीब भएको सन्दर्भ जोड्दै उक्त विडम्बनापूर्ण अवस्थालाई सुल्टो बनाउन सामाजिक न्यायमूलक कार्यक्रम ल्याउनु जरुरी रहेको बिष्टले औँल्याउनुभयो ।
अहिलेको आवश्यकता आन्तरिक उत्पादनमा जोड दिनु रहेको छ । यसका लागि कृषि र भौतिक पूर्वाधार निर्माणमा स्वदेशी श्रमिकको परिचालन हो । अहिले नेपाली युवाहरु कृषि छोडेर वैदेशिक रोजगारीमा जाने अनि यहाँका विकास निर्माणका काममा विदेशी श्रमिकमा निर्भर रहनुपर्ने स्थितिको अन्त्यका लागि सोही अनुसारको नीति आवश्यक छ ।
प्रतिक्रिया राख्नुहोस्