राजनीति

काठमाडौंले प्रस्ताव गरे फ्रान्स सहयोग गर्न इच्छुक

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह र फ्रान्सेली राजदूत जील बुर्वाओबीच बुधबार शिष्टाचार भेट भएको छ। भेटमा फ्रान्सेली राजदूतले महानगरले गरेको दीगो प्रस्तावका आधारमा सहयोग गर्ने बताउनुभएको छ ।

महानगर प्रमुख साहको कार्यकक्षमा भएको भेटवार्तामा उहाँहरुबीच मुख्य गरी, नगर व्यवस्थापनका लागि सेवा, सुविधा वितरणका विषयमा छलफल भएको छ ।

भेटमा प्रमुख साहले बजेट नीति तथा कार्यक्रमको तयारीमा लागेको बताउनु हुँदै फोहोरमैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै शहरी यातायातको सुधारका कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सांस्कृतिक तथा प्राचीन सम्पत्तिको सम्मान, संरक्षण तथा प्रवद्र्धनलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेका छौं। अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाबाट भविष्यको कार्यक्रम तय गर्ने प्रणालीको विकास गर्दैछौं” ।

भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले फ्रान्समा सामाजिक विकासका कार्यक्रम बलिया भएको उल्लेख गर्नुहुँदै यस क्षेत्रमा महानगरसँग सहकार्य हुनसक्ने बताउनुभयो।

भेटका क्रममा राजदूत बुर्वाओले, शहरी विकास र व्यवस्थापनका लागि दिगो आर्थिक प्रस्तावका आधारमा काठमाडौंलाई सहयोग गर्न आफू इच्छुक रहेको बताउनुभयो।

उहाँले फोहोरमैला व्यवस्थापन, पानीको प्रशोधन तथा शुद्धिकरण, स्वास्थ्य र शिक्षामा सहयोग हुनसक्ने आश्वासनसमेत दिनुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button