क्रिकेटखेल

टी-२० विश्वकपमा बंगलादेश र अफगानिस्तान विजयी

अमेरिका र वेस्ट इण्डिजमा संयुक्तरुपमा आयोजित आईसीसी टी २० विश्वकप क्रिकेटको दुई समूहको खेलमा बंगलादेश र अफगानिस्तान विजयी भएका छन् ।

स्थानीय समय अनुसार शुक्रबार राति सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई र अफगानिस्तानल न्यूजिल्याण्डलाई पराजित गरेका हुन् ।

डालस स्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरका ९ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो ।

१२५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्द महत्वपर्ण जित हाँसिल गरेको हो । समूह डी मा श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो । श्रीलंकाले बुधबार नेपालसँग खेल्नेछ ।

यसै गरी अफगानिस्तानले न्युजिल्यान्डमाथि ८४ रनको सानदार जित हात पारेको छ । अफगानिस्तानले आफ्नो क्रिकेट इतिहासमा न्युजिल्यान्डलाई कुनै पनि खेलमा पहिलो पटक हराएको हो ।

१ सय ६० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५.२ ओभरमा ७५ रनमा अल आउट भयो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले १८ बलमा २ चौकासहित सर्वाधिक १८ रन बनाए ।

ओपनर फिन एलेन शून्य, डेभन कन्वे ८, केन विलियम्सन ९, डर्याल मिचेल ५, मार्क च्यापम्यान र मिचेल सान्टनार ४/४ रनमा आउट भए । म्याट हेनरीले १८ बलमा १२ रन बनाए । न्युजिल्यान्डका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अफगानिस्तानका कप्तान राशिद खानले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । मोहम्मद नाबीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । फजलहक फारुकीले ३.२ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए ।

त्यसअघि गायानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनाएको थियो ।

अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले ५६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८० रनको विजयी इनिङ खेले । ओपनर रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानले पहिलो विकेटका लागि १४.३ ओभरमा १०३ रनको शतकीय साझेदारी गरेका थिए । उक्त साझेदारी जितको आधार बन्यो ।

जद्रान ४१ बलमा ३ चौका र २ छक्कासहित ४४ तथा आजमतुल्लाह ओमरजाई १३ बलमा १ चौका र २ छक्कासहित २२ रनमा आउट भए ।

न्युजिल्यान्डका म्याट हेनरीले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा २२ रन खर्चेर २ र लोकी फर्गुसनले १ विकेट लिए ।

समूह सी मा अफगानिस्तान २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । अफगानिस्तानले पहिलो खेलमा युगान्डालाई हराएको थियो ।

वेष्टइण्डिज १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । युगान्डा २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । पपुवा न्युगिनी चौथो र न्युजिल्यान्ड पुछारमा छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.