जन सरोकार

प्रहरीले पसल बन्द गराउन खोजेपछि न्यूरोडमा तनाव

लामो समयदेखिको लकडाउनका कारण व्यापार व्यवसाय चौपट भएको भन्दै केही दिनयता काठमाडौंका मुख्य बजारहरुमा पसल खुल्न थालेको छ । यस क्रममा मंगलबार बिहान पसल बन्द गराउँदै हिँडेको प्रहरी टोली र व्यापारीहरुबीच न्यूरोड क्षेत्रमा तनाव बढेको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका महासचिव टेकबहादुर शाक्यले प्रहरीले पसल बन्द गर्न दवाव दिएपछि तनाव भएको बताउनुभएको छ । प्रहरी र व्यवसायीहरुबीच झडपको स्थिति उत्पन्न भएपछि अहिले ठूलो संख्यामा प्रहरीहरु तैनाथ गरिएको छ ।

स्थानीयका अनुसार प्रहरीले पसल बन्द गर्न दिएको निर्देशन व्यापारीहरुले नमानेपछि झडपको स्थिति आएको थियो । तनावपछि न्युरोड गेट, रन्जना गल्ली आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

लकडाउनको मिति थपिँदै गर्दा सरकारले कुनै विकल्प नदिएको बताउँदै व्यापारीहरूले २२ जेठको बिहानदेखि पसल खोल्न सुरू गरेका थिए । सो दिनपछि सबै पसलहरु ११ बजेसम्म खुला थिए ।

व्यापारीहरुले पसल खोल्न थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भएको बैठकले पनि व्यापारीलाई पसल खोल्न अवरोध नगर्ने निर्णय गरेको थियो र, सोही अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्च स्तरीय समितिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

यो निर्णयपछि महाबौद्ध लगायतका क्षेत्रमा अहिले पसल निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । तर, न्यूरोडका प्रहरी अधिकृतहरुले माथिबाट कुनै नयाँ आदेश नआएको बताउँदै पसल बन्द गराउने गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.