कोरोना परीक्षण बढाउन र लकडाउन खुकुलो बनाउन माग गर्नेलाई पानीको फोहरा
कोरोना भाइरस परीक्षणको दायरा बढाउन र लकडाउन खुकुलो पार्न माग गर्दै मंगलबार प्रधानमन्त्री निवास बालुवाटार परिसरमा प्रदर्शन भयो । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले पानीको फोहरा हान्यो भने १० जनालाई नियन्त्रणमा लिएको छ ।
सरकारले लकडाउनका बेला कर असुलेको, पीसीआर परीक्षणको दायरा नबढाएको र महामारीका बेला राष्ट्रपति कार्यालयको कार्पेट फेर्नेलगायतका काममा व्यस्त भएको भन्दै सामाजिक अभियन्ता र सर्वसाधारणहरु विरोध प्रदर्शमा उत्रिएका थिए ।
महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले बालुवाटार क्षेत्रमा लकडाउनको विरोध गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीलाई पानीको फोहरा हानेर हटाइएको र नियम उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदर्शनकारीले सरकारले बन्दाबन्दीको आदेश जारी गरेकामा त्यसको उल्लङ्घन गरी सडकमा समेत अवरोध गरेका थिए । सोही क्रममा पानीको फोहरा हानेर हटाइएको थियो । उनीहरुले सङ्क्रमक रोग नियन्त्रण ऐन २०२० अनुसार कानून उल्लङ्घन गरेको प्रहरीले जनाएको छ ।
सरकारले यही जेठ ३२ सम्म लकडाउनको आदेश जारी गरे पनि त्यसको उल्लङ्घन गर्दै विभिन्न क्षेत्रमा पसल खोल्ने, सवारी सञ्चालन गर्ने र हिँडडुल गर्ने क्रम बढेको छ । आज प्रहरीले विभिन्न क्षेत्रमा पसल बन्द गर्न खोज्दासमेत अवरोध भएको जनाइएको छ । सरकारले बन्दाबन्दीलाई खुकुलो बनाउने विषयमा छलफल जारी रहेको जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्