मेलम्चीबासीमा बढ्यो त्रास, बाढीले अस्थायी पुलमा क्षति
अघिल्लो वर्षको भीषण बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भोगेको सिन्धुपाल्चोकको मेलम्चीबासीमा यस वर्षको मनसुन सुरु हुनासाथ तर्सन थालेका छन् ।
बुधबारदेखिको अविरल वर्षाका काण मेलम्ची खोलामा आएको बाढीले मेलम्ची नगरपालिका वडा नम्बर ७ र ११ लाई जोड्ने ह्युमपाइप राखेर बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रकाश सापकोटाका अनुसार फड्केश्वरी भन्ने स्थानमा ह्युमपाइप राखेर बनाइएको स्थानमा बाढीले क्षति पुर्याएको हो ।
अहिले त्यहाँ मेयर आइतमान तामाङसहितको टोली डोजर प्रयोग गरेर मर्मत गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । सिन्धुपाल्चोकमा अहिले पनि पानी परिरहेको छ र नदी तथा खोलाहरुमा पानीको सतह सामान्य बढेको छ । तर अन्य स्थानमा क्षति भएको विवरण भने आएको छैन ।
यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी पानी पर्ने मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्