बिशेषराजनीति

विज्ञान–प्रविधिमा नयाँ आशा : नवप्रवर्तन मन्त्रालयमा महावीर पुन, गृहमा सुधन

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । विस्तार हुने मन्त्रिमण्डलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व स्वतन्त्र सांसद महावीर पुनलाई दिने र गृह मन्त्रालयमा सुधन गुरुङलाई पुनः ल्याउने तयारी भएको छ।

प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनको नाम सिफारिस गरिएको छ।

यता म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित महावीर पुनको मन्त्रिपरिषद् प्रवेशलाई भने विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रका लागि महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

लामो समयदेखि अनुसन्धान, आविष्कार, सूचना प्रविधि तथा नवप्रवर्तनको क्षेत्रमा सक्रिय पुनले नेपालमा वैज्ञानिक सोच र अनुसन्धान संस्कृतिको विकासका लागि निरन्तर आवाज उठाउँदै आउनुभएको छ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले विगत केही वर्षदेखि नेपालमा विज्ञान तथा प्रविधिलाई प्राथमिकतामा राखेर राज्यले लगानी बढाउनुपर्ने माग गर्दै आउनुभएको छ।

उहाँले देशको आर्थिक विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना र आयात प्रतिस्थापनका लागि अनुसन्धान तथा नवप्रवर्तनलाई राष्ट्रिय अभियानकै रूपमा अघि बढाउनुपर्ने धारणा राख्दै आउनुभएको छ।

पुनले विभिन्न सार्वजनिक मञ्चमा नेपालमा अनुसन्धान तथा विकास (आर एन्ड डी) का लागि पर्याप्त बजेट अभाव रहेको बताउँदै वैज्ञानिक, अनुसन्धानकर्ता, विद्यार्थी र नवप्रवर्तकहरूलाई प्रोत्साहन गर्न विशेष कोष स्थापना गर्नुपर्ने सुझाव दिँदै आउनुभएको छ।

उहाँले सरकारी बजेटको निश्चित हिस्सा विज्ञान, प्रविधि र अनुसन्धान क्षेत्रमा छुट्याउनुपर्ने तथा विश्वविद्यालय, निजी क्षेत्र र अनुसन्धान संस्थाबीच सहकार्य बढाउनुपर्ने आवश्यकता औँल्याउँदै आउनुभएको छ।

विशेष गरी ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तार, स्थानीय स्तरमा प्रविधिको प्रयोग, कृषि आधुनिकीकरण, स्वास्थ्य प्रविधि, स्वदेशी उत्पादन विकास तथा युवा प्रतिभाको उपयोगमा पुनको योगदान उल्लेखनीय मानिन्छ।

राष्ट्रिय आविष्कार केन्द्रमार्फत उहाँले विभिन्न अनुसन्धान परियोजना, स्वास्थ्य उपकरण निर्माण, कृषि प्रविधि विकास तथा युवाहरूलाई नवप्रवर्तनमा प्रोत्साहित गर्ने कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ।

महावीर पुनलाई मन्त्री बनाउने तयारीसँगै विज्ञान तथा प्रविधि क्षेत्रलाई सरकारको प्राथमिकतामा राख्ने संकेतका रूपमा पनि यसलाई हेरिएको छ। पुनले विगतमा विज्ञान तथा प्रविधिसम्बन्धी निकायहरूलाई प्रभावकारी बनाउन छुट्टै अधिकारसम्पन्न मन्त्रालय, पर्याप्त बजेट र स्पष्ट राष्ट्रिय नीति आवश्यक रहेको धारणा राख्दै आउनुभएको थियो।

उहाँले नेपाललाई उपभोक्तामात्र होइन, प्रविधि उत्पादन गर्ने राष्ट्रका रूपमा विकास गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताउने गर्नुभएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार महावीर पुन मन्त्रिपरिषद्मा प्रवेश गरेमा अनुसन्धान, नवप्रवर्तन, स्टार्टअप उद्यम, कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि तथा स्वदेशी आविष्कारलाई संस्थागत रूपमा अघि बढाउने अवसर सिर्जना हुन सक्छ।

साथै विज्ञान तथा प्रविधिलाई शिक्षा, उद्योग र उत्पादन क्षेत्रसँग जोडेर आर्थिक रूपान्तरणको आधार बनाउने बहसले पनि थप गति लिन सक्ने अपेक्षा गरिएको छ।

मन्त्रिपरिषद् विस्तारसँगै विज्ञान तथा नवप्रवर्तन क्षेत्रले पहिलो पटक आफ्नो मुद्दा उठाउँदै आएका अभियन्ताको नेतृत्व पाउने सम्भावनाले राजनीतिक वृत्तसँगै विज्ञान–प्रविधि समुदायको ध्यान तानेको छ।

त्यस्तै यसअघि २७ दिन गृहमन्त्री रहनुभएका गुरुङ विचौलियाको कम्पनीसं कारोबार गरेको आरोप लागेसंगै पदबाट राजीनामा दिनुभएको थियो । यस विषयमा सरकारले छानबिन समिति नै बनाएको छ ।

समितिले तयार गरिएको छानबिन प्रतिवेदन मन्त्रिपरिषद्ले मंगलबार ग्रहण गरेको छ । गुरुङ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा–१ बाट निर्वाचित हुनुभएको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.