यात्रा स्मरण : हरियालीको काख ‘चित्लाङ’मा एक बास
केही समयअघि हामी विद्यालयका सहकर्मीहरु एकदिने भ्रमणमा निस्कने निधो गर्यौं । साथीहरुबीच सल्लाह गर्दा चित्लाङ जाने टुंगो भयो । नेपालको आर्थिक, सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको पछिल्लो समय नेपालीहरुको विदा मनाउने प्रमुख थलो बनिरहेको चित्लाङ मेरो पहिलो भ्रमण थियो ।
हामी खुसींबुबाट बस चढेर त्यता लाग्यौं । बसको झ्यालबाट बाहिर हेर्दै जाँदा नेपालका पहाड, खोँच, बस्ती र हरियालीले भरिएका दृश्यहरूले मन लोभ्याइरहेका थिए । भौगोलिक, प्राकृतिक विविधता र सांस्कृतिक समृद्धिले भरिपूर्ण देश नेपालको समृद्धिको मुख्य स्रोत पर्यटनलाई मानिन्छ भन्ने कुरा यात्राकै क्रममा झन् स्पष्ट हुँदै गयो ।
तर, पर्यटनको जति सम्भावना छ त्यसको एक छेउ पनि उपयोग हुन सकेको छैन भन्ने यथार्थले मनमा चिसो छायाँ पनि पारिरह्यो । हरेक ४–५ किलोमिटरको अन्तरमा बदलिने हावापानी र त्यससँगै जोडिएका ऐतिहासिक, धार्मिक–सांस्कृतिक चिनारी बोकेका स्थलहरू यात्रुका लागि सधैं चाखलाग्दा हुन्छन् र छन् पनि ।
प्रकृतिले दिएका यिनै सम्पदाहरू नेपालको चिनारी र समृद्धिको आधार बन्नेमा कुनै द्विविधा छैन । आजभोलि पर्यटनको अपार सम्भावना बोकेको नेपालका हरेक क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएका छन् । त्यस्तै स्थानमध्ये एक हो ऐतिहासिक चित्लाङ ।
चित्लाङ नेपालको एक प्राचीन र ऐतिहासिक बस्ती हो, जसले सांस्कृतिक, व्यापारिक र राजनीतिक हिसाबले महत्वपूर्ण भूमिका खेलेको छ । चित्लाङ पुग्दै गर्दा देखिएको यसको भौगोलिक बनावट निकै रोचक र विविधतापूर्ण लाग्यो ।
पहाडी भू–भागमा फैलिएको यो क्षेत्र साना–ठूला डाँडाकाँडा, खोँच, नदी तथा खोल्साहरूले भरिएको छ । पहाडका भित्तामा टाँसिएका बस्तीहरू र तल फैलिएका उर्वर वेंसीका खेतहरूले यहाँको भूगोललाई अद्भुत बनाएका छन् ।

खेतबारीका हरियाली पाटा, टेरेस खेती र प्राकृतिक जलस्रोतहरूको सहज उपलब्धताले यहाँको जीवनशैलीलाई झन् आकर्षक बनाएको देखिन्थ्यो । किसानहरू खेतीपातीमा व्यस्त थिए—मानौँ प्रकृति र श्रमबीचको अद्भुत सहकार्य आँखै अगाडि देखिइरहेको थियो ।
चित्लाङ सांस्कृतिक दृष्टिले पनि उत्तिकै धनी रहेछ । यहाँ विभिन्न जातजाति र सम्प्रदायको बसोबासले विविधताको सुन्दर संगम प्रस्तुत गरेको छ । परम्परागत घरहरू, स्थानीय भोजन र जीवनशैलीले यसको मौलिकता झल्काइरहेका थिए ।
घरबास (मस्टे) र सुविधासम्पन्न रिसोर्टहरू दुवैले पर्यटकलाई आत्मीय आतिथ्य प्रदान गरिरहेका छन् । अझ रोचक कुरा त के भने, यहाँका रिसोर्टहरूमा आफ्नै खेतबारीका अन्न र तरकारी प्रयोग गरिन्छ, जसले स्वादसँगै आत्मीयता पनि थप्छ ।
स्वच्छ हावा, शीतल वातावरण र प्राकृतिक सुन्दरताले यहाँ आउने जो–कोहीलाई आनन्दित बनाउँछ । प्रकृतिप्रेमी र शान्त वातावरण खोज्ने व्यक्तिहरूका लागि चित्लाङ उत्कृष्ट स्थान हो भन्ने आफू पुगेपछि अवगत भयो । यसअघि नाम मात्र सुनिएको यो क्षेत्रमा पुग्दा मन जति प्रफुल्ल भयो त्यसको सविस्तार वर्णन गर्नै सकिन्न ।
यो स्थान प्राचीन समयदेखि नै मानव बसोबासको केन्द्र रहँदै आएको रहेछ । यहाँ भेटिएका पुरातात्विक अवशेषहरूले यसलाई प्राचीन सभ्यताको झल्को दिने स्थल बनाएका छन् । काठमाडौँ उपत्यका प्रवेश गर्ने पुरानो मार्गका रूपमा चिनिएको चित्लाङ कुनै समय काठमाडौँ र भारतबीचको महत्वपूर्ण व्यापारिक नाका पनि रहेको इतिहासकारहरु बताउँछन् ।
मल्लकालमा यसको रणनीतिक महत्व अझ बढेको थियो भने नेपाल एकीकरणपछि भीमसेन थापाले काठमाडौँ–तराई मार्ग सुधार गर्न पहल गरेको इतिहास पनि यससँग जोडिएको छ ।
प्राकृतिक सौन्दर्यतर्फ फर्किँदा, चित्लाङ साँच्चिकै मनमोहक छ । हरिया वनजंगल, डाँडाकाँडा, शान्त वातावरण र स्वच्छ हावाले यहाँको बसाइलाई सुखद बनाउँछ । विहानको सूर्योदय र बेलुकाको सूर्यास्त हेर्दा समय थामिएजस्तो लाग्छ । प्रकृतिप्रेमी र शान्त वातावरण खोज्नेहरूका लागि यो स्थान साँच्चै स्वर्गसरह छ ।
हामीले भ्रमणका क्रममा यहाँका केही महत्वपूर्ण स्थलहरू पनि अवलोकन गर्यौं । प्राचीन सभ्यताको प्रतीक अशोक चैत्यले इतिहाससँग साक्षात्कार गरायो भने स्वच्छन्द भैरव मन्दिरले धार्मिक आस्था र परम्परागत वास्तुकलाको झल्को दियो । जंगलबीच रहेका सातवटा ढुंगेधाराहरूले शान्ति र शुद्धताको अनुभूति गराए ।

त्यसै गरी, नेपालकै ठूला चौरहरूमध्ये एक भेँडा फारम पुगेपछि हरियो डाँडाहरू र खुला मैदानले मन फुरुङ्ग बनायो । धेरैले यसलाई नेपालको ‘स्विट्जरल्याण्ड’ भन्ने गरेका छन्, त्यो उपमा किन दिइएको हो भन्ने कुरा त्यहाँ पुगेपछि सजिलै बुझ्न सकिन्छ ।
चित्लाङको अर्को आकर्षण भनेको बाख्राको चिज उत्पादन गर्ने कारखाना हो- नेपालकै पहिलो ‘गोट चिज फ्याक्ट्री’ यहीँ रहेछ । चिज बनाउने प्रक्रिया हेर्ने र ताजा चिजको स्वाद लिने अनुभव अविस्मरणीय बन्यो ।
सिजन अनुसार नास्पातीका बगैँचाहरू पनि यहाँको अर्को पहिचान हुन् । नास्पाती र आरुबखडाबाट बनाइने वाइन पनि यहाँको विशेष आकर्षण हो, जसलाई धेरै पर्यटकले कोशेलीका रूपमा लैजाने गर्छन् ।
हामीले छोटो पदयात्रा गर्दै मोहनी झरनातर्फ पनि लाग्यौं । झरनाको शीतलता र प्राकृतिक सौन्दर्यले थकान बिर्साइदियो । त्यसपछि कुलेखानीसम्म पुग्दा विशाल मानव निर्मित ताल, बोटिङको रमाइलो र माछाका परिकारले यात्रालाई अझ रोचक बनायो ।
चित्लाङ–कुलेखानी–चन्द्रागिरि क्षेत्र जोड्ने पदयात्रा मार्गले त झन् यात्रामा साहस र आनन्द दुवै थपिदिन्छ । डाँडाबाट देखिने काठमाडौँ उपत्यका र हिमालका दृश्यहरूले यात्रालाई अविस्मरणीय बनाउँछन् । हाम्रो समय अभावका कारण पदयात्रा भने गरिएन । अर्को कुनै समयमा त्यसको पनि अनुभव गर्ने अठोट हामीले गरेका छौं ।
यात्राको क्रममा मैले महसुस गरेको कुरा के हो भने, चित्लाङमा पर्यटकीय सम्भावना अत्यन्त व्यापक छ । पूर्वाधार विकास अझै पर्याप्त छैन, तर यसको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र शान्त वातावरणले जो–कोहीलाई आकर्षित गर्न सक्छ ।
हरेक विकासको मानक भौतिक पूर्वाधार र आधुनिकता मात्र होइन भन्ने चित्लाङको लोकप्रियताले देखाउँछ । आधुनिक रिसोर्टमा परम्परागत र अग्र्यानिक परिकार अनि प्राकृतिसंगको साक्षात्कार अनौठो संयोग हो ।
शहरी कोलाहलबाट टाढा, गाउँको जीवनशैली अनुभव गर्न चाहनेहरूका लागि चित्लाङ आदर्श गन्तव्य हो । यहाँको होमस्टे, स्थानीय खाना, सांस्कृतिक कार्यक्रम र परम्परागत जीवनशैलीले पर्यटकलाई नयाँ अनुभूति दिनसक्छ ।
बजारका प्याकेटबन्द खानेकुराबाट दिक्क भएका जो–कोहीका लागि यहाँका ताजा अन्न, तरकारी र फलफूलको स्वाद लिन पाउनु साँच्चै भाग्यकै कुरा हो । परम्परागत उपकरणहरू- ढिकी, जाँतो, ठेकी, मदानी हेर्न मात्र होइन, प्रयोग गर्न पाउने अवसरले इतिहासलाई जीवित राखेको छ ।
यहाँका घरबासदेखि रिसोर्टसम्म सबैले पाहुनालाई आत्मीयतापूर्वक स्वागत गर्छन्, जसले स्थानीय समुदायको आर्थिक र सामाजिक विकासमा पनि टेवा पुर्याइरहेको छ । त्यसैले चित्लाङको मौलिकता जोगाउँदै यसको व्यवस्थित विकास गर्नु आवश्यक छ भन्ने अनुभूति झन् बलियो बन्यो ।
आज चित्लाङ आन्तरिक पर्यटकका लागि लोकप्रिय गन्तव्य बनिसकेको छ । तर, यसको सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन अझै धेरै काम गर्न बाँकी छ । प्राकृतिक सौन्दर्य, शान्त वातावरण र सांस्कृतिक विविधताका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई अरु बढी आकर्षित गर्न सकिन्छ ।
यहाँको बसाई अवधि अझै लम्ब्याउन सकिन्छ । पहाडका डाँडाबाट देखिने सुन्दर दृश्य, हरियाली वन र शान्त वातावरणले पर्यटकलाई विशेष अनुभव दिने चित्लाङलाई पदयात्रा ट्रेकिङ, ग्रामीण पर्यटन र सांस्कृतिक र कृषि पर्यटनका रुपमा विकास गर्न सकिन्छ ।

सरकारी तथा निजी क्षेत्रले पूर्वाधार विकासमा ध्यान दिने हो भने चित्लाङ नेपालको पर्यटन विकासका लागि राजधानीबाट निकटको नयाँ गन्तव्यका साथै अझ महत्वपूर्ण केन्द्र बन्न सक्छ ।
एकदिने बसाईकै क्रममा मेरो मनमा उब्जेका अर्को महत्वपूर्ण विषय भनेको कृषि पर्यटनका रुपमा स्थानीय स्तरमा होमस्टे कार्यक्रमलाई अभियानकै रुपमा विकसित गर्नुपर्ने आवश्यकता हो ।
शहरी कोलाहलबाट अलिक पर, शान्त, रमणीय यहाँ पर्यटकलाई गाउँको जीवनशैली अनुभव गर्ने अपूर्व अवसर यहाँ दिन सकिन्छ । यसका साथै चित्लाङको सांस्कृतिक कार्यक्रम, स्थानीय खाना र परम्परागत जीवनशैलीलाई पर्यटकका लागि आकर्षणको केन्द्र बनाउन सकिन्छ ।
मनमा अनेक खुल्दुली, भ्रमणको रोमाञ्चकता र अरु धेरै ठाउँ घुम्न र जान्न पाए हुन्थ्यो भन्ने कुतुहलताकाबीच एकदिने यात्रा सकिए पनि चित्लाङले दिएको अनुभूति भने मनमै बसिरह्यो- हरियाली, शान्त वातावरण, मौलिक संस्कृति र प्राकृतिक सौन्दर्यले भरिएको त्यो ठाउँ साँच्चै फेरि–फेरि पुग्न मनलाग्ने गन्तव्य बनेर रह्यो ।
(लेखक श्रेष्ठ, नीलगिरि विद्यालय पकनाजोलका संस्थापक सदस्य हुनुहुन्छ)



प्रतिक्रिया राख्नुहोस्