राजनीति

एमालेले पुनर्गठनका विषयमा देशभरबाट सुझाव संकलन गर्ने

नेकपा (एमाले)ले पार्टी पुनर्गठनको प्रक्रिया केन्द्रीय नेतृत्वबाट नभई तल्लो तहबाट सुरु गर्ने भएको छ । यसका लागि देशभरबाट सुझाव संकलन गर्ने निर्णय गरेको छ। सुझाव संकलनको प्रक्रिया यही जेठ ३० गतेदेखि सुरु हुनेछ।

मंगलबार पहिलोपटक बसेको पुनर्गठन कार्यदलको बैठकले संगठनको वर्तमान अवस्था, कार्यशैली र भावी संरचनाबारे तल्लो तहसम्मका नेता–कार्यकर्ताको धारणा संकलन गर्ने निर्णय गरेको हो।

पार्टी उपाध्यक्ष विष्णु पौडेलले पुनर्गठनको तल्लो तहबाट सुरु हुने बताउनुभयो। उहाँका अनुसार प्रदेश, जिल्ला र जनसंगठनका नेता–कार्यकर्ताबाट राय–सुझाव संकलन गरी पार्टीलाई समयानुकूल र प्रभावकारी बनाउने तयारी गरिएको छ।

कार्यदलका सदस्य सचिव तथा महासचिव शंकर पोखरेलको संयोजनमा सञ्चालन हुने कार्यक्रमअनुसार जेठ ३० गते बागमती प्रदेशबाट सुझाव संकलन सुरु हुनेछ।

त्यसपछि असार २ गते कोशी, ४ गते लुम्बिनी, ६ गते सुदूरपश्चिम, ८ गते कर्णाली, ११ गते गण्डकी, १३ गते मधेस र १६ गते राजधानी विशेष प्रदेशमा छलफल आयोजना गरिनेछ।

पार्टी सचिव शेरधन राईका अनुसार असार १७ गते सम्पर्क विशेष कमिटी, १८ गते जनसंगठन समन्वय कमिटी र १९ गते विभाग प्रमुख तथा निकायका पदाधिकारीसँग सुझाव संकलन गरिनेछ। प्राप्त सुझावहरूलाई असार २२ गते बस्ने कार्यदलको बैठकले एकीकृत गरी निष्कर्षमा पुर्‍याउनेछ।

एमालेले पुनर्गठन अभियानलाई संगठनात्मक सुधारको नियमित प्रक्रियाका रूपमा प्रस्तुत गरे पनि यसलाई पार्टीको वर्तमान राजनीतिक अवस्थासँग जोडेर हेरिएको छ।

पछिल्ला वर्षहरूमा एमालेले राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव कायम राखे पनि संगठनभित्र पुस्तान्तरण, कार्यकर्ताको सक्रियता, स्थानीय तहसम्मको संगठनात्मक समन्वय तथा बदलिँदो राजनीतिक परिवेशअनुसार पार्टी संरचना परिमार्जन गर्नुपर्ने आवश्यकता महसुस गर्दै आएको छ।

विशेष गरी नयाँ राजनीतिक शक्तिहरूको उदय, युवा मतदाताको बदलिँदो झुकाव र परम्परागत दलहरूप्रति बढ्दो प्रश्नबीच एमालेले आफ्नो संगठनलाई थप चलायमान, उत्तरदायी र जनमुखी बनाउने चुनौती सामना गरिरहेको छ।

यही सन्दर्भमा तल्लो तहका नेता–कार्यकर्ताको रायलाई आधार बनाएर पुनर्गठन प्रक्रिया अघि बढाउनु नेतृत्वको रणनीतिक कदमका रूपमा हेरिएको छ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। एमाले नेतृत्वले पुनर्गठन अभियानलाई आगामी राजनीतिक प्रतिस्पर्धा र संगठनात्मक सुदृढीकरणको आधार तयार गर्ने अवसरका रूपमा लिएको देखिन्छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.