क्वारेन्टिनमा बसेर उपचारपछि अस्पतालबाट फर्कदै गर्दा खनालको बाटोमै मृत्यु
भारतबाट आएर क्वारेन्टिनमा बसी उपचारबाट फर्कदै गर्दा एकजनाको मृत्यु भएको छ । अर्घाखाँचीे मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कँदै गरेका ५७ वर्षीय यमप्रसाद खनालको मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिमा बसेका खनालको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिनुभयो ।
भारतबाट आएका खनाललाई स्वासप्रस्वासमा समस्या देखिएपछि शल्यक्रियासमेत गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि खनाल उपचारका लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कमा आउनुभएको थियो । सन्धिखर्कमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल सिफारिस गरिएको थियो ।
अस्पतालमा उपचारपछि घर फर्कँदै गर्नुभएका खनालको गोरुसिङ्गे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको स्थानीय गोकुल रिजालले बताउनुभयो । उहाँको स्वाब परीक्षणका लागि पठाइए पनि रिपोर्ट नआएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्