विद्यालयको मूल्यांकनका आधारमा परीक्षा बोर्डले एसइईको प्रमाणपत्र दिने
यस वर्षको उच्च शिक्षाको फलामे ढोका मानिने एसइई परीक्षा स्थगित गरी विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्नलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा बुुधबार राति सम्पन्न मन्त्रिपरिषद बैठकले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा खारेज गरी उपरोक्त व्यवस्था गर्ने निर्णय गरेको हो ।
त्यसो त अबदेखि एसइई सदाका लागि खारेज गरी १२ मा मात्र त्यस्तो परीक्षा लिइने गरी कानुन संशोधनको प्रस्ताव समेत भएको छ । मन्त्रिपरिषदको निर्णयपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसद्मा पेश हुने सङ्घीयताअनुरुपको शिक्षा ऐन पारित भएपछि माध्यमिक शिक्षाको कक्षा १० अन्तिम परीक्षाका सम्बन्धमा यो यसरुपमै दीर्घकालीन रुपमा व्यवस्थापन हुने जानकारी दिनुभयो ।
शैक्षिक सत्र २०७६ को परीक्षा साविकबमोजिम २०७६ चैत्र ६ गतेदेखि सञ्चालन हुने गरी कार्यतालिका प्रकाशन गरी सबै तयारी पूरा भइसकेको भएता पनि कोरोना संक्रमणको अवस्थालाई दृष्टिगत गरी कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत चैत ५ गतेको निर्णयानुसार स्थागित भएको थियो ।
मन्त्री पोखरेलले हाल देशभरका शिक्षण संस्थाहरू बन्द रहेका, कतिपय विद्यालयमा क्वारेन्टिन सञ्चालन गरिएको र रोगको संक्रमणको जोखिमका बीच विद्यालयमा परीक्षा केन्द्र कायम गरी विगतमा झैँ परीक्षा सञ्चालन गर्न सकिने अवस्था निकट भविष्यमा नरहेको सन्दर्भमा विद्यार्थीको अध्ययन निरन्तरता तथा माथिल्लो तहमा अध्ययनको अवसर सुनिश्चितताको दायित्वबोध गरेर मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्