भारतीयद्वारा सशस्त्र प्रहरी बलमाथि आक्रमण- आक्रमण गर्ने एक भारतीयको मृत्यु
सर्लाही जिल्लास्थित सीमा क्षेत्रमा भारतीय समूहले सशस्त्र प्रहरी बलमाथि आक्रमण गरेपछि उत्पन्न झडपका क्रममा गोली चल्दा एक भारतीय नागरिकको मृत्यु भएको छ । घटनामा दुई भारतीय नागरिक र तीन प्रहरी घाइते भएका छन् ।
प्रहरीको हतियार खोसेको भनिएको भारतको बिहारको सितामढी जिल्लाको सोनवर्सा थाना अन्तर्गत लालबन्दी घर भएका एक ४५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीतर्फ एक हवल्दार र दुई जना प्रहरी जवान घाइते भएका छन् ।
शुक्रबार बिहान भारतीयहरू नारायणपुर नाका हुँदै जबरजस्ती नेपालतर्फ प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोक्न खोज्यो । त्यसक्रममा भारतीयहरू सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको हतियार नै खोसेर नेपालतर्फ आउन खोजेपछि झडप भएको हो ।
झडपमा सशस्त्र प्रहरीले चलाएको गोली लागी भारतको प्रिपा प्रसाइन जानकीनगरका २७ वर्षीय विकेश कुमारको मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले जानकारी दिनुभयो । ष्ठका अनुसार झडपमा सशस्त्र प्रहरीतर्फ तीन जना र भारतीय नागरिक दुई जना घाइते भएका छन् ।
घाइते सशस्त्र प्रहरीको जिल्ला अस्पताल मलङ्गवा र भारतीयहरूको सीमापारीकै अस्पतालमा उपचार भइरहेको छ । झडपमा भारतीयहरूले खोसेर लगेका हतियार फिर्ता ल्याइसकिएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभएको छ । झडप भएको स्थानमा अहिले व्यापक सुरक्षाकर्मी तैनाथ छन् । थप विवाद हुन नदिन सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठ र प्रहरी उपरीक्षक विश्वमणि पोखरेल आफैँ नारायणपुर नाका पुग्नुभएको छ ।
घटनाका बारेमा थप जानकारी दिँदै सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले भारतबाट तस्करी गर्न आएका मानिससँग सीमा क्षेत्रमा सशस्त्र प्रहरीको झडप भएको र सीमा नाकाहरुमा तैनाथ सुरक्षाकर्मीहरुले तस्करी रोकेकै कारण उनीहरुमाथि आक्रमण भएको देखिएको बताउनुभयो ।
घटनाका सम्बन्धमा भारत सीतामढीका एसपी अनिल कुमारले सितामढी जिल्लाको सोनवर्सा थाना अन्तर्गतको पिपरा परसाइ बस्ने एक २५ वर्षिय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । उनकी छातीमा गोली लागेको बताइएको छ । घटनामा घाइते भएका अन्य दुईजनाको उपचार सितामढी अस्पतालमा भइरहेको उनले जनाएका छन् । उनीहरूको खुट्टामा गोलीको चोट लागेको अधिकारीहरूले बताएका छन् ।
प्रतिक्रिया राख्नुहोस्