क्रिकेटखेल

आईसीसी विश्वकप लिग– २ अमेरिकासंग नेपालको सनसनीपूर्ण बराबरी

अमेरिकामाा जारी आईसीसी विश्वकप लिग– २ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपालले अमेरिकासंग बराबरी गरेको छ ।

आइतबार विहान सम्पन्न खेलमा हारको नजिक पुगेको नेपालका लागि आदिल अन्सारीले अन्तिम दुई बलमा दुई विकेट लिएपछि अमेरिकासँगको खेल नाटकीय रुपमा बराबरीमा सकिएको हो । दुवैले समान २७४ रन बनाएपछि खेल बराबरी भयो र १-१ अंक जोडे ।

एक दिवसीय अन्तर्राष्ट्रियको डेब्युमै ब्याट र बलबाट उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई हारबाट जोगाएका आदि अन्सारी खेलको म्यान अफ दि म्याच घोषित भए ।

ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २७४ रन बनाएको थियो । जवाफमा अमेरिकाले पनि ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन नै बनायो ।

अन्तिम ओभरमा अमेरिकालाई जितका लागि ६ रन चाहिएको थियो । नेपालमा आदिल अन्सारीले बलिङ गरेको उक्त ओभरमा सबैखाले नाटक देखियो । सुरुआती तीन बलमा अमेरिकाले एकरएक रन जोड्यो । चौथो बल नो बल भएपछि अमेरिकाले नो बलमा एक रन जोड्दै रन बराबरी गर्दै जित नजिक पुगेको थियो । तर, अन्तिम दुई बलमा नेपालले विकेट लियो ।

पाँचौ बलमा आदिलले आरोन जोन्सलाई रोहित पौडेलबाट क्याचआउट गराए । त्यस्तै अन्तिम बलमा आदिल र दीपेन्द्र सिंह ऐरीले राहुल जरिवालाई रनआउट गर्दै खेल बराबरी गरेका हुन् ।

अमेरिकाका लागि ओपनर टेलरले ११४ रन बनाए । १२३ बल खेलेका उनले ११ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान मोनाक पटेलले ८५ रन जोडे ।

अमेरिकालाई जितबाट रोक्न नेपालका लागि नेपालका लागि डेब्युमै सनसनीपूर्ण प्रदर्शन गरेका आदिलले ९ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले एकरएक विकेट लिए ।

नेपालका लागि तीन खेलाडीले अर्धशतक प्रहार गरे पनि फिनिसिङ चुस्त रहन सकेन । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६२ रन बनाउँदा आसिफले ६१ र देव खनालले ५४ रन योगदान गरे ।

पहिलो विकेटका लागि आसिफ र कुशल भुर्तेलले ५६ रनको साझेदारी गरेका थिए । दुवै खेलाडीले चोटका कारण अघिल्लो खेल गुमाएका थिए ।

त्यसकै कारण कुशलले अमेरिकासँग खेल्दा संघर्ष गर्नुपरेको देखियो । कुशलले ३६ बलमा कुनै बाउन्ड्री प्रहार नगरी १९ रन बनाएर आउट भए । आसिफले ७० बल खेल्दा ६ चौका प्रहार गरे । दोस्रो विकेटका लागि आसिफले देव खनालसँग ६२ रनको साझेदारी गरे ।

३७औं ओभरमा आउट हुनुअघि देवले रोहित पौडेलसँग तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरे । देवले ६९ बल खेल्दै ३ चौका प्रहार गरेका थिए ।

त्यसक्रमपछि डेब्युमा पाँचौ नम्बरमा ब्याटिङ गरेका आदि अन्सारीसँग रोहितले चौथो विकेटका लागि ६५ रनको साझेदारी गरे । यो नै नेपाली इनिङ्सको सर्वाधिक साझेदारी हो ।

नेपाली इनिङ्समा आदिल र रोहितले छक्कासमेत प्रहार गरेका थिए । रोहितले ७२ बल खेल्दै तीन चौका र एक छक्का मद्दतमा ६२ रन बनाए । उता डेब्युमै छाएका आदिलले २४ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा ३६ रन जोडे । ४४औं ओभरमा आदिल आउट भएपछि नेपालले लगातार विकेट गुमायो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button