राजनीति

वर्षामा सडक नै खोला बन्ने अवस्था अन्त्यका लागि बालेनको योजना

काठमाडौं महानगरपालिकाको दोस्रो कार्यपालिका बैठक पहिलाका जस्तो चर्काचर्की भएन । वडाध्यक्षहरुले आआफ्ना वडाको समस्याबारे अवगत गराएपछि मेयर बालेन्द्र साहले सबै प्रश्नको उत्तर दिंदै केही योजनाहरु पनि सुनाउनुभयो ।

बैठकमा मेयर बालेन साहले सडकमै भल बग्ने समस्याको समाधानका लागि हरेक घरमा कम्तिमा पाँच फिटको सोक पिट र हरेक वडामा रिभर्स बोरिङ राख्ने प्रस्ताव गर्नुभएको छ ।

उहाँको तर्क थियो, हरेक घरमा कम्तिमा पाँच फिटको सोक पिट भएर ग्राउण्ड वाटर रिचार्ज गर्न सकियो भने र हरेक वडामा रिभर्स बोरिङ राख्न सकियो भने पानी सडकमा आउने समस्या नरहने र पानी रिचार्ज पनि हुन्छ ।

त्यस्तै उहाँले त्रिपुरेश्वर, टेकु लगायतका क्षेत्रमा ढल ठूला राखिने र ढल सफा गर्न जेट मेसिन प्रयोग गरिने र अबदेखि सडक विभाग, खानेपानी, विद्युत प्राधिकरण लगायतसँग सहकार्य गरेर काम गर्ने पनि सुनाउनुभयो ।

त्यस्तै बैठकमा वडाध्यक्षहरुले सिसडोलमा कसले बल प्रयोग गरेको हो भन्दै प्रश्न गरेका थिए । त्यसको उत्तरमा मेयर साहले यो कुरा गृह मन्त्रालयलाई सोध्नुपर्ने र त्यो अधिकार महानगरलाई नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘सिसडोलमा हाम्रो मात्रै फोहोर जाँदैन २२, २३ नगरपालिकाको फोहोर जान्छ । प्रहरी परिचालन गर्ने महानगरको अधिकार छैन । त्यो गृह मन्त्रालयको अधिकार हो ।’

त्यसै गरी बैठकमा मेयर साहले शौचालय सर्वसाधारण जनताका लागि प्रयोग गर्न दिने भनेका सरकारी, निजी संघसंस्थालाई कर छुट दिन नसकिने पनि बताउनुभएको छ ।

उहाँले भन्नुभयो ‘हामीले कर गरेर शौचालय प्रयोग गर्न दिनु भनेको होइन । उहाँहरूले हामी सेवा दिन चाहन्छौं भन्नुभएको हो । उहाँहरूलाई कर छुट दिन सकिन्न । पहिले रेष्टुरेन्टलाई कर छुट दिने भनिएको थियो । तर रेष्टुरेन्टलाई कर छुट दिँदा बैंकलाई दिन सकिन्छ कि सकिन्न भन्ने आउँछ।’

कसैलाई कर छुट दिने कसैलाई नदिने गरी महानगरले भेदभाव गर्न नमिल्ने बताउँदै उहाँले महानगरका तर्फबाट हरेक चार महिनामा ती सार्वजनिक प्रयोग गर्न दिइएका शौचालयमा सरसफाइ सामग्री भने दिने जानकारी दिनुभयो ।

बैठकमा उपमेयर सुनिता डंगोलले बैठक सकारात्मक भएको भन्दै सधैं पूर्व तयारी गरेर बैठक बस्नुपर्ने बताउनुभयो । त्यस्तै बैठकले उपमेयरको संयोजकत्वमा विभिन्न १२ वटा विषयगत समिति गठन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button