"राष्ट्रघाती र राष्ट्रवादी छुट्याउने बेला आयो- पार्टी फुटाएरै महाकाली सन्धि किन गरियो"
जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले अब राष्ट्रघाती र राष्ट्रवादी छुट्याउने बेला आयो भन्दै यस विषयमा श्वेतपत्र नै जारी गर्नुपर्ने र नेपाली भूमि बेच्नेहरुको पर्दाफास गरी राष्ट्रघातीलाई टुँडिखेलमा झुण्ड्याउनुपर्ने माग गर्नुभएको छ ।
संविधान संशोधन विधेकयमाथिको छलफलमा माग लिदै महतोले राष्ट्रियताको सवालमा सबै नेपाली एक भएकाले संविधानका कतिपय विषयमा असहमति भए पनि राष्ट्रियताका सवालमा विमति नरहेको र जसपा संविधान संशोधनको पक्षमा रहेको भन्दै सो कुरा बताउनुभएको हो ।
निकै आक्रामक रुपमा प्रस्तुत हुनुभएका सांसद महतोले २५ वर्षअघि महाकाली सन्धि गर्दा महाकाली नदीको मुहान किन नखोजिएको भन्दै त्यतिबेला सन्धि पारित गर्न पार्टी नै विभाजन गरेकाहरुले जवाफ दिनु पर्ने कि नपर्ने भन्दै सो सम्झौतामा हस्ताक्षर गर्नेहरुपति कटाक्ष गर्नुभयो ।
नेपालको राष्ट्रियताको कुरा गर्दा मधेशीहरुलाई सधैं शंका गरिने गरेको बताउँदै महतोले नेपाली सीमाको रक्षा मधेशी जनताले गरिरहेको र त्यहाँ कुनै सेना नचाहिने बताउँदै सीमा रक्षाकै लागि कैयौं नेपालीले ज्यान गुमाएको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रघात गर्ने को को हुन् श्वेतपत्र जारी गर्न माग गर्दै कसैको देशभक्तिमाथि प्रश्न उठाउने काम बन्द गर्न आग्रह गर्नुभयो ।
आज नेपालको राजनीतिमा ऐतिहासिक दिन भएको बताउँदै महतोले मधेशी देख्नासाथ भारतीय ठान्ने, देशघाती ठान्ने प्रवृत्ति त्याग्नुपर्ने बताउँदै मधेशमा बस्ने नेपालीहरुमा अरु कोहीभन्दा कम देशभक्त नभएको प्रमाण सविधानमाथि हाम्रा तमाम असहमति हुँदाहुँदै सीमाका सम्बन्धमा मतदान गर्ने निर्णयबाट पुष्टि भएको बताउनुभयो ।
यसैबीच संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव अस्वीकृत भएको छ । शनिबार संसदको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी बोल्न उठेपछि सभामुख अग्नि प्रसाद सापकोटाले उहाँको संशोधनलाई आफूले अस्वीकृत गरेको जानकारी दिनुभयो ।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्सा जारी अनुसार नक्सा निशान छापमा राख्न संविधान संशोधन विधेयक ल्याएपछि यसमा समाजवादीकी सांसद गिरीले मात्र संशोधन दर्ता गर्नुभएको थियो ।
समाजवादी पार्टीले उनलाई संशोधन फिर्ता लिन निर्देशन दिएको थियो भने नयाँ नक्साअनुसार नेपालको निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकको पक्षमा मत दिन पार्टीका सांसदहरूलाई ह्वीप समेत जारी गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्